१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १७ बुधबार १५:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुनसरीमा आत्महत्याको ग्राफ बढ्यो, लकडाउन अवधिमा ६५ जनाले ज्यान गुमाए

Read Time : > 1 मिनेट
२०७७ असार १७ बुधबार १५:१४:००

धरान–२ छाताचौकस्थित जिल्ला हुलाकनजिकैको घरको  सिलिङफ्यानमा  झुन्डिएर गत असार १४ गते  २० वर्षीया रुपल चौधरीले आत्महत्या गरिन् । उनी स्थानीय स्कुलको कक्षा १२ मा अध्ययनरत थिइन् । भोलिपल्ट बिहान धरान–१४ का २८ वर्षीय प्रताप भट्टराईले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरे । प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिवसमेत रहेका भट्टराईले श्रीमती माइत गएको वेला कोठामा आत्महत्या गरे । 

असार १६ गते साँझ इटहरी निवासी युवा व्यवसायी जीवन खनाल धरानस्थित यति होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परे । ३४ वर्षीय खनाल इटहरीका युवा व्यवसायी हुन् । 

धरानमा पछिल्लो समयमा भएका यी आत्महत्याका घटना प्रतिनिधि  घटना मात्रै हुन् । पछिल्लो समय  आत्महत्या गर्नेमा धेरै युवा वर्ग रहेको पाइएको छ । आत्महत्या गर्नुपर्नेे ठूलो कारण पनि खुलेको छैन । तर, धरानमा दिनदिनै आतमहत्याका घटना बढिरहेको छ ।  

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत लकडाउनयता आत्महत्याको ग्राफ ह्वात्तै बढेको बताउँछन् । सामान्य पारिवारिक मनमुटाब हुँदैमा आत्महत्या गरेको पाइएको उनको भनाइ छ । गत चैतयता धरानमा मात्र २२ जनाले आत्महत्या गरेको डिएसपी बस्नेतले बताए । 

सुनसरीमा चैत्त ११ गते सुरु भएको लकडाउनयता मात्र ६५ जनाले ज्यान गुमाइसकेका छन्  । जसमध्ये ६ जनाले विष सेवन गरेर, एकजना प्रहरी हवल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।  अन्य सबैले झुन्डिएर आत्महत्या गरेको पाइएको छ । 

पछिल्लो समय आत्महत्याका घटना एक्कासि बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्मा बताउँछन् । ‘यो राम्रो संकेत होइन । यो लकडाउनको वेला अब नागरिकलाई राहत सामग्री भन्दा पनि मनोपरामर्श आवश्यक देखियो,’ डिएसपी शर्माले भने । प्रहरीको तथ्यांकमा १२ वर्षदेखि ३० वर्ष उमेर समूहकाले बढी आत्महत्या गरेको देखाउँछ ।

 प्रेममा असफल, आर्थिक तनाव, घरायसी तनाव, परीक्षामा असफल, घरेलु हिंसालगायत कारणहरू देखिएको प्रहरीको भनाइ छ ।