मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
किरण दहाल काठमाडाैं
२०७७ असार १७ बुधबार १३:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रस्तावित नयाँ दल नेकपा एमालेमा २१ पदाधिकारी, चुनाव चिह्न– उदाउँदै गरेको सूर्य (नामावलीसहित)

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडाैं
२०७७ असार १७ बुधबार १३:४०:००

नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा परेकाे निवेदनमा २१ जना पदाधिकारी रहेका छन् । निवेदनमा पार्टीको चुनाव चिह्न भने हिमालमा उदाउँदै गरेको घाम राखिएको छ । 

आयोगले १४ असारमा दल दर्ताको निवेदन परेको जनाएको छ । दलको पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी’ राखिएको छ । नाममा कतै पनि कमा, फुलस्टप नरहेको आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताको निवेदनमाथि अध्ययन भइरहेको बताए । आवेदनमा दलको नाम, कार्यसमितिकोे पदाधिकारीहरूको नाम, विधान, घोषणापत्र, विनियमावलीलगायतका कागजातहरू, झण्डा, चिह्न पनि पेस भइसकेको आयोगले जनाएको छ । साथै दलमा आबद्ध हुन आवश्यक पर्ने पाँच सयजना व्यक्तिको हस्ताक्षरसहितको प्रतिबद्धता पनि पेस भइसकेको श्रेष्ठले बताए । 

अध्ययनको क्रममा केही आवश्यक कागजपत्र छुटेको भए सम्बन्धित व्यक्तिहरूसँग माग गरिने श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘यहाँ आएका कागजात अध्ययन गर्दै छौँ । कार्यसमितिमा रहेका पदाधिकारीहरूको विवरण भेरिफिकेसन गर्ने काम हुन्छ,’ उनले भने, ‘दलको विधानमा उल्लेख भएका प्रावधानहरू नेपालको संविधान, कानुनबमोजिम भए–नभएको अध्ययन गरिन्छ । कुनै संशोधन गर्नुपर्ने वा ऐन–कानुनसँग बाझिएको कुरा छन् भने त्यसलाई मिलाउन लगाउने र ती सबै प्रक्रिया पूरा गरेपछि दल दर्ताको प्रक्रिया अघि बढ्छ । यो सबै प्रक्रिया पूरा गर्न ४५ दिनको समय उपलब्ध हुन्छ । ४५ दिनभित्र कागजातको भेरिफिकेसन गर्नेलगायत उहाँहरूले कागजातसमेत बुझाउनुपर्छ ।’

नेकपा एमाले र माओवादीको पार्टी एकता भएको वर्ष दिन नाघिसकेकाले नेकपा एमाले नामक दल दर्ता गराउन बाटो खुलेको हो । एकता भएको एक वर्ष नपुगेको भए नेकपा एमाले नामक नयाँ दल दर्ताका लागि प्रक्रिया अघि बढाउन नमिल्ने श्रेष्ठ बताउँछन् ।

‘पार्टीको नाम नदोहोरियोस् र कुनै पार्टीको एउटा नाम लिइसकेपछि त्यो नाम अरूले प्रयोग नगरोस् भन्नका लागि एक वर्षको म्याद छ । नेकपा एमाले र माओवादीको एकीकरण भइसकेपछि एकीकरणपूर्वको नाममा एक वर्षसम्म कसैले पनि नयाँ पार्टीका लागि आवेदन गर्ने र दल दर्ता गर्न पाइँदैन । तर, दुवै पार्टी एकीकरण भइसकेको एक वर्षपछि प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘नेकपा एमाले र माओवादी एकीकरण भएको वर्ष दिन नाघिसकेकाले नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी पार्टीको नाम अरू कसैले दर्ता गर्न सक्छन् ।’

नेकपा एमाले नामक दल दर्ताका लागि आवेदन परेको विषयले नेकपाको मंगलबार बसेको स्थायी समिति बैठकमा चर्चा पाएको थियो ।

सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्ने आवेदन दिएको भन्नेसूचना पाएपछि त्यसबारेमा पनि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । 

उक्त पार्टी दर्ताका लागि निवेदन पर्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै हात रहेको आरोप पनि लागेको थियो । समिति बैठकमा नेकपा नेता वामदेव गौतमले केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले दर्ताका लागि निवेदन आएको ठोकुवा गरेको एक स्थायी समिति सदस्यले नयाँ पत्रिकासँग बताएका थिए । ‘मसँग प्रमाण छ, सूचना छ, यदि छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु,’ गौतमलाई उद्धृत गर्दै ती स्थायी समिति सदस्यले भनेका थिए ।