मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १७ बुधबार ०९:१९:००
Read Time : > 1 मिनेट
सम्पादकीय

व्यवसायीसँग संवाद गर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १७ बुधबार ०९:१९:००

मंगलबार काठमाडौंमा ट्याक्सीचालकहरूले सरकारसँग ट्याक्सी चलाउन अनुमति दिन माग गर्दै आ-आफ्ना सवारीसाधनसहित प्रदर्शन गरे । आफ्ना समस्या उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका केही चालकलाई प्रहरीले पक्राउ पनि गर्‍यो । उनीहरूले बोकेका प्लेकार्डमा- ‘रोगले भन्दा भोकले मर्ने भइयो, सरकार ! काम गरी खान देऊ’ भन्ने नारा लेखिएका थिए । उनीहरूको मुख्य माग भने ‘कि काम देऊ कि माम देऊ’ भन्ने थियो । लकडाउनका कारण तीन महिनादेखि आफ्ना ट्याक्सी थन्क्याएर बसेका र त्यही सवारी चलाएर आउने आयस्ताका आधारमा बैंकको किस्ता, घरभाडा, केटाकेटीको पढाइ शुल्क, सबैको लालनपालन खर्च व्यहोरिरहेका ट्याक्सीचालकहरू आफ्नो मर्का सरकारसँग पोख्न भनेरै आन्दोलनमा आएका थिए। 

ट्याक्सीचालकका समस्या पनि समाधान हुने र कोरोना फैलनबाट पनि रोक्ने गरी आवश्यक सतर्कता अपनाउने बीचको बाटो पहिल्याउन जरुरी छ ।

कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनपछि तीनथरी मानिस सडकमा निस्केका देखिए । पहिलो खेपमा काठमाडौंमा घरवास र स्थायी आम्दानी नभएकाहरू आफ्ना गाउँ फर्कन सडकमा निस्केका थिए । दोस्रो खेपमा विभिन्न पसल तथा सेवा व्यवसाय सञ्चालन गर्नेहरूले लकडाउनको उल्लंघन गर्दै पसल खोलेरै विरोध गरे । तेस्रो चरणमा ट्याक्सी सेवा प्रदायक सडकमा आएका छन् । उनीहरू रहरले आएका होइनन् भन्ने प्रस्टै छ । तर, आन्दोलन गर्न दिइरहनु या आन्दोलन गर्नु समस्याको समाधान अवश्य पनि होइन । यसका विकल्पका सम्बन्धमा सरकार र व्यवसायीबीच तत्काल संवाद हुन जरुरी छ । ट्याक्सीचालकको माग र आन्दोलन नेपालमा लकडाउनले घरघरको अर्थतन्त्रमा पार्न थालेको प्रभावको एउटा गतिलो उदाहरण हो । पुगिसरी आउनेबाहेक अरूको जीवन नियमित कमाइमा नै धानिने हो । 

श्रमजीवीहरूको ठूलो तप्का त आज कमायो आजै खाने या यो महिना कमायो यही महिना सक्ने अवस्थामा हुन्छन् । तिनको बचत र बैंक ब्यालेन्स पनि हुन्न । त्यसमाथि घरबेटीले भाडा उठाउन छाड्दैनन् । दैनिक गुजारका लागि पनि किनेर खाने पैसा रहँदैन । लकडाउन लम्बिनु भनेको उनीहरूको साँझ-बिहानको गुजारामा संकट आउनु हो । सुरु-सुरुमा अलिकति राहत वितरण गरेका स्थानीय तह अब टकटकिएका छन् । सरकार यति धेरै मानिसलाई लामो समय पाल्न सकिँदैन भनिरहेको छ । यस्तो अवस्थामा उनीहरूले काम गर्नु र कमाउनुको विकल्प रहन्न । यता अब सार्वजनिक सवारी, विद्यालय तथा शैक्षिक संस्थाहरू पूरा बन्द छन् । केही खुलेका पनि कारोबार नभएर बन्द हुने डिलमा आइपुगेका छन् । 

काठमाडाैंमा अहिलेसम्म कोरोनाको प्रभाव धेरै नदेखिए पनि त्यो समुदायमा फैलने तरखरमा रहेको आशंका सम्बन्धित क्षेत्रका विज्ञ र स्वास्थ्य मन्त्रालयका अधिकारीले गरिराखेका छन् । यसैले लकडाउन पूरै खोल्नु सम्भव पनि देखिन्न । यस्तो वेलामा ट्याक्सीचालकका समस्या पनि समाधान हुने र कोरोना फैलनबाट पनि रोक्ने गरी आवश्यक सतर्कता अपनाउने बीचको बाटो पहिल्याउन जरुरी हुन्छ । यस्तो बाटोका बारेमा ट्याक्सीचालक र सरकारबीच तत्काल संवाद हुनु र एउटा सहमतिमा पुग्नु आवश्यक छ । सिएमसीको ध्यान तत्काल यता जाओस् ।