‘बागमतीलाई सफा राखौँ’ भन्दै टोलैपिच्छे अभियान चलेका छन् । बागमती करिडोर नाम दिएर नदीको दुवैतर्फ सडक, सडकछेउमा पैदल, साइकल मार्गसँगै हरियाली पार्क पनि निर्माण गरिएको छ । तर, बागमतीको सुन्दरता बढाउन किनारमा बन्दै गरेको त्यही पार्कभित्र निजी कम्पनीले अढाई वर्षदेखि फोहोर संकलन केन्द्र राखेर प्रशोधन गर्दै आएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती र कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा बागमतीको वारिपारि दुवैतर्फ दिनहुँजसो सहरभरिको फोहोरको थुप्रो लाग्छ । मिलिजुली र निराकार सरसफाइ सेवा प्रालिले घर–घरबाट संकलन भएको फोहोर ल्याएर थुपार्ने, फोहोरलाई छुट्याउने र सड्ने फोहोरले गाडी भरिएपछि मात्रै डम्पिङ साइटतर्फ लैजाने गर्दै आएका छन् । दुर्गन्धित फोहोरले भरिएका केही ट्रक त्यहीँ हुन्छन् । फोहोरको थुप्रो दिनदिनै बढ्दै छ ।
सडक र बस्तीकै छेउमा सार्वजनिकस्थलमा प्रहरी, जनप्रतिनिधि र सरोकारवाला निकायकै मिलेमतोमा फोहोर प्रशोधनको काम भइरहेको स्थानीयको आरोप छ । यहाँका चार सय ६१ संस्थाले बागमती सुन्दरता सरोकार मञ्चमार्फत थालेको सफाइ अभियानले पनि तीन सय ३२ साता पूरा गरेको छ । तर, नदीकै किनारमा थुप्रिएको फोहोरले सफाइ अभियन्ता र सरकारलाई गिज्याइरहेको छ । बस्ती र सडकको छेउमा फोहोरको थुप्रो लाग्दा आसपासको क्षेत्र दुर्गन्धित बनेको छ ।
व्यापारिक उपयोगमा नआउने फोहोरलाई कम्पनीले त्यहीँ आगो लगाएर डढाउनेसमेत गरेको स्थानीयको भनाइ छ । किनारमै थुपारिएको फोहोरबाट निस्किएको लिक्विड (दूषित लेदो) सीधै बागमतीमा मिसिएको छ । अलि ठूलो बाढी आउँदा किनारमा थुपारिएको फोहोर पानीले बगाउँछ । यहाँ आउने सवारी पार्किङ गर्ने ठाउँ छैन । फोहोर लिएर आएका सवारी सडकमै रोकिन्छन् ।
सात वर्षमा आठ अर्ब सकियो
बागमती नदी सफाइका लागि ५ जेठ २०७० बाट तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा स्वयंसेवी रूपमा बागमती सफाइ अभियान सुरु भएको थियो । हाल यो अभियानले तीन सय ७२ साता पूरा गरेको छ । संविधानले सरसफाइको अधिकार स्थानीय तहलाई दिएपछि सहरी विकास मन्त्रालयले क्रमशः सरसफाइ अभियान संयोजकत्वको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिरहेको छ ।
सरकारी तवरबाट भएको अभियानमा सेना, प्रहरी र कर्मचारी मात्रै सहभागी हुने र सरसफाइभन्दा बढी औपचारिकता मात्रै भएको भन्दै स्थानीयवासीले छुट्टै अभियान थालेका थिए । यहाँका चार सय ६१ संघसंस्था र क्लबले साझा फोरमका रूपमा बागमती सुन्दरता सरोकार मञ्च गठन गरी अभियान सञ्चालन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिले बागमती करिडोरअन्तर्गत नदीको दुवैतर्फ सडक निर्माण, ढल व्यवस्थापन, साइकल र पदमार्ग तथा पार्क निर्माणलगायत काममा आठ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।
फोहोर प्रशोधन केन्द्र हटाउन वडा कार्यालय, प्रहरी, नगरपालिका र अधिकारसम्पन्न बागमती सभ्यता विकास समितिसमक्ष पटकपटक माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयको भनाइ छ । तर, आजसम्म कसैले नसुनेको स्थानीय उषा गौतमले बताइन् । ‘पसलअघि ल्याएर फोहोर थुपार्छन्, बिहानभरि कोट्याउँछन्, बसिनसक्नुहुन्छ, जति कराउँदा पनि नलागेपछि अब त भन्न नै छाडिसकियो,’ उनले भनिन् ।
फोहोरकै थुप्रो अगाडि याङ्खु रेस्टुरेन्ट छ । रेस्टुरेन्टका मेनेजर कमल स्याङ्बो भन्छन्, ‘फोहोरको दुर्गन्धले एकपटक आएका ग्राहक फेरि आउँदैनन्, कोहीकोही त फर्किएर पनि जान्छन्, हटाइदिन टोलै मिलेर भनेका हौँ, तर हामीले भनेको कसले टेर्ने ?’ बागमतीलाई सुन्दर बनाउन अर्बौं ऋण लिएर खर्च गरेको सरकारले पार्क बन्दै गरेको ठाउँमा फोहोर थुपारेर प्रदूषित गर्नेलाई कारबाही नगर्नु लज्जास्पद भएको स्थानीय परमेश्वर पौडेल बताउँछन् । ‘बागमतीलाई सफा बनाउन सबै सहमत, तर ठोस काम कतैबाट भएको छैन,’ उनी भन्छन्, ‘फोहोर गर्नु हुँदैन भनेर सिकाउनुको सट्टा हप्तैपिच्छे फोहोर टिप्ने अभियान मात्रै चलेको छ ।’
मिलिजुली सरसफाइ सेवा प्रालिले नयाँ बस्तीका करिब २४ सय घरको फोहोर व्यवस्थापन गर्छ । निराकारले पनि कागेश्वरी नगर क्षेत्रका विभिन्न वडाका तीन हजारभन्दा बढी घरधुरीको फोहोर व्यवस्थापन गर्छ ।