Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १७ बुधबार ०६:२३:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

बजारमा कमजोर सावधानी

Read Time : > 2 मिनेट
२०७७ असार १७ बुधबार ०६:२३:००

काष्ठमण्डपदेखि असनसम्म हिँडडुल गरिरहेका बटुवालाई स्थानीय स्वयंसेवकले मास्क र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरिरहन्छन् । भौतिक दूरी बनाएर हिँड्न उनीहरूले गर्ने आग्रह मानिसले अटेर गर्छन् । त्यस क्षेत्रमा खुलेका पसलका सञ्चालक पनि लकडाउनको नियम पालनामा उदासीन देखिन्छन् । ‘अहिलेभन्दा लकडाउनकै वेला सुरक्षित थियो, बजार,’ सडकमा खटिरहेका मखनका विनोद शाक्य भन्छन् ।

न्युरोड, पाको, महाबौद्ध, खिचापोखरी, सुन्धारा, दरबारमार्ग र ठमेल काठमाडौंका मुख्य किनमेल गन्तव्य हुन् । यस क्षेत्रका पसल र सपिङ मलमा बिस्तारै ग्राहकको भीड बढ्दै छ । कतिपय ग्राहक मास्क नलगाई हुल बाँधेर हिँडिरहेका देखिन्छन् । सडक किनारामा पार्किङ शुल्क उठाउने समूह पनि देखिन थालेको छ । बजारमा पहिलेजस्तो चहलपहल सुरु भएको छैन । तर, अहिलेको व्यापारबाट भाडा तिर्न र परिवारको दैनिक खर्च चलाउन केही सहज भएको व्यवसायीहरू बताउँछन् ।

सरकारले १ असारदेखि लकडाउन खुकुलो बनाएसँगै काष्ठमण्डप, रक्तकाली, इन्द्रचोक, जनबहाल, त्यौड, असन, भोटाहिटी र जमलमा चहलपहल बढ्दो छ । बर्खे झरीको बेवास्ता गर्दै फुटपाथ र स-साना किराना पसल पनि खुल्न थालेका छन् । तर, भीडभाडबाट टाढिँदै हिँडिरहेका उपभोक्ता र बटुवा कोरोना संक्रमणबाट जोगिने प्रयासमा देखिन्छन् । कोभिड-१९ पछिको सहरी जीवन चित्रित गर्छ, उनीहरूको गतिविधिले ।

पसलका सञ्चालक पनि लकडाउनको नियम पालनामा उदासीन देखिन्छन् । ‘अहिलेभन्दा लकडाउनकै वेला सुरक्षित थियो, बजार,’ सडकमा स्वयंसेवक बनेका मखनका विनोद शाक्य भन्छन्।

स्थानीय युवा बिहान ६ बजेदेखि नै सडकमा निस्केर बटुवालाई सतर्क गराउँछन् । र, कोरोना संक्रमणको जोखिम कम नभएको सम्झाउँछन् । सामान्य मास्कको भरमा बजार खोल्दा कोभिड-१९ महामारी अझ बढ्ने जोखिम रहेको उनीहरूको भनाइ छ । ‘घर बसेर पनि भएन, पसलमा सुरक्षित महसुस गर्न सकेका छैनौँ,’ सिभिल मलका जिन्स व्यापारी राजेश गुरुङ भन्छन्, ‘पसलमा दैनिक दुई-चारजना मात्र ग्राहक आउँछन् । कहिलेकाहीँ त बोहनी गर्नै मुस्किल पर्छ ।’

महाबौद्ध, सुरज आर्केड, विशाल बजार, रञ्जना ट्रेड सेन्टर, सिभिल मल, सिभिल ट्रेड, वर्ल्ड ट्रेड सेन्टर, पशुपति प्लाजा, पिपुल्स प्लाजालगायत सपिङ मलमा प्रवेश गर्न ग्राहकलाई मास्क अनिवार्य गरिएको छ । गेटमै हातमा स्यानिटाइजर दल्न लगाइन्छ । गेटमा उभिएका सुरक्षा गार्डले थर्मल गनमार्फत ग्राहकको ताप मापन गर्छन् । मास्कविना आएका ग्राहकलाई प्रवेश दिँदैनन् । व्यवसायीहरूका अनुसार पहिलेको तुलनामा १० प्रतिशत ग्राहक मात्र आइरहेका छन् ।

विशाल बजारका अधिकांश सुन पसल खुलेका छन् । तर, कोभिड-१९ अघि भरिभराउ रहने सुन पसलमा ग्राहक शून्य छन् । यतिवेलै सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँभन्दा माथि पुगेको छ । त्यसले पनि ग्राहक घटाएको हुन सक्ने व्यवसायीको आकलन छ । ‘पसल खोल्ने र बन्द गर्ने काम मात्र भइरहेको छ,’ सुन व्यवसायी अमित शाक्य भन्छन्, ‘कोरोना संकट र सुनको भाउ महँगो हुँदा व्यापार ठप्प छ ।’

माथिल्लो वर्गको मुख्य सपिङ गन्तव्य हो, दरबारमार्ग । त्यहाँका अधिकांश ब्रान्डेड पसल खुलेका छन् । शेर्पा मल, उडलाइन सप, टाइटन्स वाच, स्विस होम पिसेस, एडिडास र नाइकजस्ता ब्रान्डेड पसलमा ग्राहकको उपस्थिति न्यून छ । दरबारमार्गमै रहेको अन्तर्राष्ट्रिय रेस्टुराँ चेन केएफसीमा भने खानाका पारखीको भीड लाग्छ । ग्राहकले गेटबाहिरबाटै अर्डर दिन्छन् । गेटमा बसेका कर्मचारीले मेनु देखाउँछन् र ट्याबमा लेखेर अर्डर लिन्छन् ।

सरकारले कर बुझाउन ताकेता गरेपछि दरबारमार्ग क्षेत्रका व्यापारीले विद्रोह गरेका थिए । दरबारमार्गका व्यवसायीले पनि लकडाउन उल्लंघन गर्दै पसल खोले । तर, लकडाउन खुकुलो हुँदा पनि व्यापार लयमा फर्केको छैन ।

भीडभाडबाट टाढिँदै हिँडिरहेका बटुवा कोरोना संक्रमणबाट जोगिने प्रयासमा देखिन्छन्। कोभिड–१९ पछिको सहरी जीवन चित्रित गर्छ, उनीहरूको गतिविधिले।

महाबौद्ध क्षेत्रका होलसेल पसल अपराह्न १ बजे नै बन्द हुन्छन् । खुद्रा पसल मात्र साँझ ५ बजेसम्म खुल्छन् । विगतमा पाइला टेक्ने ठाउँ पाउनै गाह्रो हुने महाबौद्ध क्षेत्र अपराह्न ४ बजे नै सुनसान भइसक्छ । उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य ठमेल भने ठप्प छ । विदेशी पर्यटकविहीन हुँदा ठमेलको रात्रिजीवन तत्काल लयमा फर्किने सम्भावना छैन । यस क्षेत्रको २० प्रतिशत बजार मात्र खुला छ । यहाँका अधिकांश पसल विदेशी पर्यटकमै निर्भर छन् । सरकारले अन्तर्राष्ट्रिय र घरेलु हवाई सेवा सञ्चालनमा नल्याएसम्म ठमेलले लय नपक्रिने क्युरियो व्यवसायी लाक्पा शेर्पा बताउँछन् ।

व्यापार लामो समय ठप्प रहँदा यस क्षेत्रका व्यवसायीले सधैँका लागि पसल बन्द गर्न थालेका छन् । ‘विदेशी पर्यटक नआउने भएपछि कसरी व्यापार गर्ने ?’ शेर्पा भन्छन्, ‘विदेशी पर्यटक नहुँदा हाम्रो व्यापार नै चल्दैन । तर, सटरको भाडा जसरी पनि तिर्नैप-यो । केही दिनभित्रै ठमेलका धेरै पसल सधैँका लागि बन्द हुँदै छन् ।’

ललितपुरका मंगलबजार, गाःबहाल, पट्को, नःटोल र लगनखेल इलाकामा पनि असुरक्षित तवरबाट पसल-व्यवसाय खुलेको देखिन्छ । लबिम मलमा साँझ-बिहान कफी पिउने ग्राहकको भीड लाग्छ ।