मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ असार १७ बुधबार ०८:४०:००
Read Time : > 1 मिनेट
अर्थ

यातायात मन्त्रालयले माग्यो  विद्युतीय बस सप्लायर्ससँग ‘स्पेसिफिकेसन’  

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ असार १७ बुधबार ०८:४०:००

- सुरुमा २० सेट मात्र विद्युतीय बस खरिद गर्ने तयारी  

- सोमबारसम्म २५ सप्लायर्स तथा उत्पादक कम्पनी इच्छुक  

- सञ्चालन मोडालिटी तय भएपछि खरिद प्रक्रिया थालिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ९ मिटर लम्बाइ समूहमा पर्ने विद्युतीय बसको स्पेसिफिकेसन उपलब्ध गराउन उत्पादक तथा सप्लायर्सलाई आह्वान गरेको छ । मन्त्रालयले सप्लायर्सको क्षमता, सवारीसाधनमा उपलब्ध हुने सेवासुविधा, मूल्यलगायतका विषयमा जानकारी माग गरेको छ । विद्युतीय बसको लम्बाइ क्याटागोरी ९ मिटर तोकिएको भए पनि ८ मिटरदेखि ११ मिटरसम्मको समूह उत्पादन वा बिक्री गर्नेले स्पेसिफिकेसन उपलब्ध गराउन सक्नेछ । 

‘यो भनेको कुनै सामान खरिद गर्नुपूर्व विक्रेताहरूबाट ब्रोसर (जानकारी पुस्तिका) जम्मा गर्नुजस्तै हो,’ मन्त्रालयका एक अधिकारीले भने । त्यही ब्रोसरका आधारमा आवश्यक विद्युतीय बस खरिद गर्ने भन्ने निक्र्यौल गरिनेछ ।  यातायात मन्त्रालयबाट अहिलेसम्म २५ वटा विद्युतीय बस उत्पादक तथा सप्लायर्सले इच्छा देखाएका छन् । उनीहरूले लगेका फाराम बुझाउने म्याद बुधबार कार्यालय समयसम्म रहेको छ । ‘प्रायः अन्तिम समयमा बुझाउने परम्परा नै छ । भोलिपर्सिसम्ममा बुझाउलान्,’ मन्त्रालयका एक अधिकारीले भने । मन्त्रालयले यही ८ असारमा जानकारी माग गरेको हो ।     

सुरुमा २० सेट बस खरिद गर्ने  
यातायात मन्त्रालयले सुरुमा २० वटा विद्युतीय बस खरिद गर्ने तयारी गरेको छ । ‘कस्ता विद्युतीय बस आउँछन्, खरिद भएपछि कुन निकायले बस सञ्चालन गर्ने, सञ्चालन गर्न सकिन्छ–सकिँदैनजस्ता प्रश्न अनुत्तरित रहेको मन्त्रालयका एक अधिकारीले बताए । त्यसकारण सुरुमा थोरै बस ल्याउने र अनुभव गर्दै संख्या वृद्धि गर्न सकिने उनको भनाइ छ । 

यसअघि साझा यातायात सहकारीमार्फत ३ सय विद्युतीय बस खरिद गर्ने र काठमाडौंलगायत सहरी क्षेत्रमा सञ्चालन गर्ने तयारी भएको थियो । तर, खरिद प्रक्रियामै रहँदा मन्त्रिपरिषद्ले साझामार्फत बस खरिद गर्ने निर्णय खारेज गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत नै विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउन निर्णय गरेको थियो । त्यसपछि मन्त्रालयले विद्युतीय बस खरिद गर्नेसम्बन्धी आन्तरिक गृहकार्य गरिरहेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार नै साझालाई विद्युतीय बस खरिद गर्न उपलब्ध गराउन ३ अर्ब रुपैयाँ र त्यसको ब्याजसमेत मन्त्रालयले फिर्ता लिइसकेको छ । 

सप्लायर्स तथा उत्पादकबाट मन्त्रालयले खोजेको जानकारी
सामान्यतया बसको प्रकार, ब्रान्ड, उत्पादक देश, सञ्चालन गर्ने तापक्रम खोजिएको छ । त्यस्तै, लम्बाइ, चौडाइ, उचाइ, चक्काको आधार, ग्राउन्ड क्लिरियन्स, एप्रोच एंगल, बसको तौल, जमिनबाट उक्लिने उचाइ, विद्युत् खपत, अधिकतम गति, इफिसियन्सी, न्वाइज लेभल, विद्युतीय बसमा लाग्ने ब्याट्री र त्यसको प्रकार, ब्याट्रीको आयु, चार्जिङ सिस्टम (ढिलो–चाँडो), सस्पेन्सन सिस्टम, बे्रक सिस्टम, बडी, सिट, च्याचिस, टायर, एयर कन्डिसन, सेफ्टी एसोसरिज, वारेन्टी, ट्रेनिङ सुविधा, बिक्रीपछिको सेवा, कम्पनीको उत्पादन क्षमता, कम्पनीको वित्तीय कारोबार, पूर्ण विद्युतीय बसलाई पर्ने अनुमानित लागत, २० वटा बसलाई पहिलो ५ वर्षसम्म मर्मत गर्न लाग्ने औसत खर्च र सञ्चालन खर्चलगायतका ६ दर्जनजति विषयमा जानकारी माग गरेको छ ।