मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १७ बुधबार ०४:०८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लकडाउनका १०० दिन : संक्रमण बढ्दै, सर्वसाधारणमा डर घट्दै

९५% संक्रमित विदेशबाट आएका 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १७ बुधबार ०४:०८:००

२ वैशाखमा काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण देखिएपछि उपत्यकावासीमा ठूलो त्रास फैलियो, आसपासका जिल्लामा समेत लकडाउनमा थप कडाइ गरियो । तर, मंगलबार एकैदिन राजधानीमा १४ र देशभर तीन सय १६ संक्रमित देखिँदासमेत राजधानीवासीमा कुनै चिन्ता देखिएन । पछिल्लो समय देशभर संक्रमण बढ्दै जाँदा नागरिकमा भने डर घट्दै गएको छ । 

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको बुधबार सय दिन पुग्दै छ । तर, संक्रमणको उच्च बिन्दु करिब एक महिनापछि मात्र हुने स्वास्थ्य मन्त्रालयको आकलन छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ । तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ । 

मंगलबारसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ । २९ जनाको मृत्यु भएको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् भने दश हजार तीन सय ४१ उपचारमा छन् । देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले परीक्षणको दायरा नबढाएसम्म संक्रमण कुन स्तरमा छ भनेर भन्न नसकिने बताए । उपत्यकामा ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरूमा समेत संक्रमण देखिन थालेको छ । यसबाट संक्रमण समुदायमा समेत पुगेको बुझिने तथा लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने चिकित्सक बताउँछन् । 

सोमबारको कोभिड– १९ क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकमा उपत्यकालगायत प्रमुख सहरमा संक्रमणले अब ठूलो रूप लिन सक्ने विश्लेषण गरिएको थियो । बैठकले घरबाहिर निस्कँदा मास्क अनिवार्य लगाउन सिफारिस गरेको एक अधिकारीले बताए । 

सहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा अझै बढ्न सकेको छैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले १५ असारपछि दैनिक १० हजारको संख्यामा परीक्षण गरिने बताएका थिए । तर, पछिल्लो २४ घन्टामा चार हजार सात सय ११ जनाको मात्र स्वाब परीक्षण गरिएको छ । 

९५% संक्रमित विदेशबाट आएका 

नेपालमा संक्रमित देखिएका ९५ प्रतिशत विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरू छन् । अन्य उनीहरूको व्यवस्थापन तथा उपचारमा खटिएकाहरू छन् । भारतबाट कतिपय व्यक्ति लुकिछिपी आएकाले उनीहरूबाट पनि केहीमा संक्रमण फैलिएको छ । ‘नेपालमा देखिएका ९५ प्रतिशत संक्रमित भारतबाट आएकाहरू छन्,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने, ‘उनीहरूबाट अन्यमा संक्रमण फैलिएको छ ।’ कुल संक्रमितमध्ये झन्डै ९८ प्रतिशतमा लक्षण नै नदेखिएको र उनीहरूको अवस्था पनि सामान्य रहेको डा. पाण्डेले बताए ।