मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १७ बुधबार ०४:१०:००
Read Time : > 12 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेकपामा ‘युद्धविराम’ भंग : प्रधानमन्त्रीको राजीनामा मुख्य एजेन्डा, राजीनामा नगरे के हुन्छ ? 

निर्णायक संघर्षमा ओली, एकैदिन दुईपटक राष्ट्रपतिसँग भेट

Read Time : > 12 मिनेट
२०७७ असार १७ बुधबार ०४:१०:००
  • बुधबार बिहान ७ बजे मन्त्रिपरिषद् बैठक बोलाइयो, जब कि सोमबार मात्रै मन्त्रिपरिषद् बसेको थियो
  • राष्ट्रपतिलाई भेट्न गएका ओली बैठक सुरु भएपछि मात्र आए र बैठककै बीचमा फेरि राष्ट्रपतिलाई भेट्न हिँडे
  • मंगलबारको बैठकमा बोल्ने १८ मध्ये १७ जनाले मागे राजीनामा, प्रतिरक्षामा ओली एक्लै बोले, मन्त्री बोलेनन्
  • मदनजयन्तीको दिन १४ असारमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, ओलीको निर्देशनमा दर्ता भएको आरोप
  • सचिवालयका नौमध्ये पाँच सदस्यले ओलीको राजीनामा मागे, ईश्वर पोखरेल, विष्णु पौडेल र बादल मौन

प्रचण्डको आग्रह : सरकारले डेलिभरी दिन सकेन, अब तपाईं हट्नुस्

बैठक सुरु हुनअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका थिए । ओली आउन ढिलाइ भएपछि अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए । प्रचण्डले बोल्दाबोल्दै ओली बैठकमा प्रवेश गरेका थिए । ओलीतर्फ लक्षित गर्दै प्रचण्डको भनाइ थियो, ‘मैले वैशाखमा बसेको सचिवालयको बैठकमा पनि तपाईंको राजीनामा मागेको हुँ, अहिले पनि माग्छु । सरकारले डेलिभरी दिन सकेन, कम्युनिस्ट आन्दोलन नै बदनाम भयो, देशभित्रका जनताले र पार्टीका नेताले राजीनामा मागेका छन् । तर, तपाईं भारतले हटाउन खोज्यो भनेर देश र जनताको अवहेलना गर्दै हुनुहुन्छ, सबै स्थिति हेर्दा तपाईं हट्दा राम्रो हुन्छ, हट्नुस् ।’

ओलीको जवाफ : मैले भारतको आलोचना गर्दा तपाईंलाई दुख्नुपर्ने कारण के छ? 

ओलीको जवाफ थियो, ‘तपार्इंहरूले मेराविरुद्ध मोर्चाबन्दी गर्नुभएको छ, खुमलटारमा बसेर रणनीति बनाएर यहाँ आउनुहुन्छ । भारतीय मिडियामा त्यही भाषामा समाचार आइरहेका छन् । दुवैतर्फको भाषा कसरी हुबहु मिल्छ ? प्रचण्डले ओलीको राजीनामा मागे भनेर त दिल्लीकै मिडियाले भनिरहेका छन् नि । मैले भारतको विषयमा बोल्दा तपाईंहरूलाई दुख्नपर्ने कारण के छ ? 

नेपालको भनाइ : तपाईंबाट सरकार र पार्टी चल्न सक्दैन, दुवै पदबाट राजीनामा दिनुस्

तर, वरिष्ठ नेता माधव नेपालले पहिलो पुस्ताको त्याग र दोस्रो पुस्ताको योगदानले बनाएको पार्टी अहिले भद्रगोल भएको भन्दै त्यसका लागि जिम्मेवार ओलीले राजीनामा दिनुपर्ने बताए । नेपालको भनाइ थियो, ‘पहिलो पुस्ताको त्याग र बलिदानबाट बनेको सुन्दर पार्टीलाई दोस्रो पुस्ताले पनि त्यत्तिकै ठूलो योगदान ग¥यो, तर आज पार्टी दुरावस्थामा पुगेको छ । कहीँ पार्टी छ भन्ने स्थिति छैन, कमिटी संगठित छैन, परिचालित छैन, कमिटी भए पनि बैठक बस्दैन । सरकार झन्झन् अलोकप्रिय बन्दै गएको छ । नियुक्तिहरूमा कुनै मापदण्ड छैन, मनपरी छ । पार्टी नामको संस्था छैन, अस्तव्यस्त छ । यहाँ केही भन्यो भने गीत गायो भनिन्छ, तर गीत गाएको होइन, यो अहिलेको वास्तविक तस्बिर हो । त्यसकारण अब तपाईंबाट चल्न सक्दैन, दुवै पदबाट राजीनामा दिनुस् ।’

ओलीको प्रतिप्रश्न : तपाईंले जिन्दगीभर शासन गर्ने, मलाई त्याग गर्नुस् भन्ने ?

नेपालको प्रश्नमा पनि ओलीले जवाफ दिएका थिए, ‘तपार्इंहरूले त्यागको कुरा कसरी गर्नुहुन्छ ? प्रचण्डले ३४ वर्षदेखि एकछत्र पार्टीमा शासन गर्ने, माधव नेपालले १६ वर्ष पार्टी महासचिव हुने, झलनाथले पनि दुईपटक गरेर १३ वर्ष पार्टी चलाएको हामीले हेरेकै हो । तपाईंहरूले त्याग भनेर अरूलाई नैतिकता सिकाउन मिल्दैन होला । बरु अब म प्रधानमन्त्री पनि हुन्नँ, पार्टी अध्यक्ष पनि चाहिँदैन, चुनाव नै लड्दिनँ ।’ 

ओलीलाई खनालको कटाक्ष : अब त तपाईंले जिते पो पार्टीमा चुनाव लड्नु !

ओलीको भनाइमा हस्तक्षेप गर्दै खनालले भने, ‘अब त जिते पो लड्नु ।’ ओलीले पनि जवाफ फर्काए, ‘तपाईंको पनि हविगत नबुझेको होइन ।’ ओलीले बोल्दा झलनाथ खनालले दुईपटक प्रतिवाद गरेका थिए । प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत स्वार्थका लागि अरू नेतालाई भारतीय एजेन्ट भनेको भन्दै खनालले आपत्ति जनाएका थिए । उनको भनाइ थियो, ‘त्यसमाथि अहिले जुन ढंगले भारतलाई मिसाएर नेपाली नेताहरूलाई लान्छित गर्दै बोल्नुभो, पार्टीका सारा नेताहरूलाई एजेन्ट बनाउने गरी बोल्नुभो, यो गम्भीर, आपत्तिजनक र अनैतिक छ । तपाईंले भारतसँग वार्ता गरेर भूमि फिर्ता गर्न पनि सक्नुहुन्न । अब पनि तपाईंले पदमा बस्न मिल्दैन, दुवै पदबाट राजीनामा दिनुस् ।’

आफ्नो सरकार ढाल्न भारतको राज्यसंयन्त्र र नेपालका नेता संलग्न भएको भन्ने ओलीको भनाइको विरोध गर्दै नेता नेपालले भने, ‘भारतले चलखेल गरेको हो भन्ने थाहा पाएको हो भने नेपालमा रहेका कर्मचारीलाई परराष्ट्रमार्फत सोध्न सकिने, गतिविधिमाथि रोक लगाउन सकिने र सरकारविरुद्ध गतिविधि भए फिर्ता पठाउन सकिने विकल्प हुँदाहुँदै पार्टीको बैठक चलिरहेका वेला चलखेल भयो, नेताहरू संलग्न भए भनेर तपाईंले अभिव्यक्ति दिनुभयो, अविश्वास बढायो ।’

निर्वाचन आयोगमा नेकपा एमाले किन दर्ता भयो ? प्रचण्ड

मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता भएको र यो कसैको दबाबमा गरिएको भन्ने सूचना आएको भन्दै प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गरेका थिए । ‘दल दर्तामा प्रधानमन्त्रीज्यूको नाम पनि जोडिएको छ । दबाबमा गरेको पनि भनिएको छ । यसबारे उहाँले स्पष्ट पार्नुपर्छ,’ प्रचण्डको भनाइ थियो । 

तर, प्रधानमन्त्री ओलीले दल दर्ताबारे आफूलाई केही थाहा नभएको बताएका थिए । ‘दल दर्ता कसले गरेको हो मलाई थाहा छैन । जोकोही नागरिकले दल दर्ता गर्न पाउँछ । संविधानमा अधिकार छ । कसैले गरेको होला,’ एक सदस्यका अनुसार बैठकमा ओलीको भनाइ थियो, ‘निर्वाचन आयोगमा त गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र पनि दर्ता भएको छ, त्यसका बारेमा मैले सोधखोज गरेको छैन, तपाईंहरू किन मेरो पछि लाग्नुहुन्छ ?’

केपी ओलीको निर्देशनमा दल दर्ता भएको हो, प्रमाण दिन तयार छु गौतम 

तर, वरिष्ठ नेता खनाल र नेपालले दल दर्ताका विषयमा छानबिनको माग गरेका थिए । तर, उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको निर्देशनमा दल दर्ता भएको दाबी गरे । ‘शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको हो । मसँग प्रमाण छ, सूचना छ, छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु । पार्टी र सरकारको नेतृत्व दुवैमा प्रधानमन्त्री चुक्नुभो, अब उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,’ गौतमको भनाइ थियो ।

........................

सत्तारुढ नेकपामा गत वैशाखमध्यमा भएको युद्धविराम ठ्याक्कै दुई महिनामा भंग भएको छ । १७ वैशाखदेखि सुरु भएको सचिवालय बैठकमा नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागे पनि ओलीले आत्मालोचना गरेसँगै युद्धविराम भएको थियो । नेकपाको स्थायी कमिटीको जारी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय मुख्य एजेन्डा बनेको छ । 

स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका छन् भने प्रधानमन्त्रीले सबै निर्णायक संघर्ष गर्ने रणनीति बनाएका छन् । बुधबार नै सचिवालयमार्फत ठोस प्रस्ताव बनाएर निर्णय लिने बहुमत सदस्यहरूको तयारी छ । तर, ओली पनि विकल्पको खोजीमा छन् । उनले स्थायी कमिटी बैठकअघि र पछि राष्ट्रपतिलाई भेटेका छन् । त्यस्तै, बुधबार बिहान ७ बजे उनले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

बिहान ११ बजेका लागि सचिवालय बैठक तय भए पनि प्रधानमन्त्री ओली राष्ट्रपतिसँग भेटका लागि शीतलनिवास गएकाले समयमै बैठक सुरु हुन सकेको थिएन । तर, प्रधानमन्त्री आउन ढिला गरेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए । सुरुमै उनले बैठकको कार्यसूची बदलिएको जानकारी गराएका थिए । आइतबार प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति तथा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको विषय मंगलबारको बैठकको कार्यसूची रहेको प्रचण्डले सुनाएका थिए । त्यसपछि उनले यी दुई विषयमा पहिला आफ्नो धारणा राखेर सचिवालयका अन्य नेतालाई बोल्न समय दिएका थिए । 

ढिलो गरी बैठकमा आएका ओली नेताहरूसँग कठोर सवाल–जवाफ गरेपछि बैठकको बीचमै निस्केर दोस्रोपटक राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । 

नेकपा नेतृत्वमा विवाद बढ्दै जाँदा निर्वाचन आयोगमा नेकपा (एमाले) दल पनि दर्ता भएको छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा एमाले दर्ता भएको भन्दै मंगलबारको बैठकमा प्रश्न उठेको छ । त्यस्तै अब प्रधानमन्त्रीले राजीनामा दिए मात्र पार्टी र देशले नयाँ दिशा लिन सक्ने भनाइ नेताहरूले राखेका छन् । 

‘अब राजनीति यथास्थितिमा रहँदैन, केही न केही परिवर्तन हुन्छ,’ मंगलबारको बैठकपछि स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने, ‘निकै पेचिलो छलफल भएको छ । यसले पक्कै पनि पार्टी र देशको हितमा नयाँ दिशा तय गर्छ ।’ 

बोल्न नाम लेखाएका केही नेता बोलेपछि सचिवालय बैठक बस्ने तयारी छ । ‘बुधबार केही नेता एजेन्डामा बोल्नुहुन्छ । त्यसपछि सचिवालय वा दुई अध्यक्षको सल्लाहमा प्रस्ताव आउँछ । त्यही प्रस्तावअनुसार निर्णय हुन्छ,’ सचिवालयका एक सदस्यले भने । 

‘महासचिवलाई नाम टिपाउनुभएका नेताहरूमध्ये चार–पाँचजना बोल्न बाँकी हुनुहुन्छ । उहाँहरूले बोलिसकेपछि सहमतिको कोसिस हुन्छ, स्थायी समिति सदस्य सुवास नेम्वाङले भने, ‘बैठकमा अध्यक्ष प्रचण्डले निष्कर्ष सुनाउनुभएअनुसार अहिलेका एजेन्डामा बोल्ने क्रम सकिएपछि दुई अध्यक्ष र सचिवालय बसेर एउटा प्रस्ताव तयार गर्नुहुन्छ, छलफल गर्नुहुन्छ, उहाँहरूले प्रस्ताव तयार पारेर फेरि स्थायी समितिमा ल्याउनुहुनेछ ।’ उनले शीर्ष तहमै सहमति जुटाउने प्रयास जारी रहने पनि जानकारी दिए । 

६९औँ मदनजयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र अचम्मसँग सक्रिय रहेको भन्दै त्यसमा नेपालकै नेताहरू संलग्न रहेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति विवादास्पद बनेपछि चालू एजेन्डा स्थगित गरेर नेकपाको बैठक अकस्मात् प्रधानमन्त्रीको राजीनामा र दल दर्ताको एजेन्डातिर मोडिएको हो ।

‘प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र निर्वाचन आयोगमा निवेदन दर्ता भएको नेकपा एमाले दलका विषयमा केन्द्रित रहेर छलफल भएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘बुधबारको बैठकमा थप नेताहरूले धारणा राखेपछि दुई अध्यक्ष र सचिवालयबीच आवश्यकताअनुसार छलफल हुन्छ र आवश्यकता प¥यो भने संश्लेषणपछि स्थायी समिति बैठक बस्नेछ ।’

मंगलबारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित १८ जना नेताले धारणा राखेका छन् । बैठकमा उनीहरूले राष्ट्रिय आत्मनिर्णयको अधिकार र कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै बैठकमा प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए । मंगलबारको बैठकमा बोल्ने ओलीबाहेकका सबै १७ जनाले प्रधानमन्त्रीको राजीनामा मागे । ओली पक्षधर कुनै पनि नेताले बोलेनन् । 

सचिवालयका तीन सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल भने मंगलबार बोलेनन् । प्रचण्डले केही राख्नुस् भन्दा पोखरेलले नबोल्ने बताएका थिए । मंगलबार प्रधानमन्त्रीसहित १८ नेताले बोलेको थिए । 

स्थायी कमिटी बैठक बसेपछि पाँचौँ दिनमा ओली कमै मात्र बैठकमा बसेका छन् । बुधबार सुरु भएको बैठकमा उनले उद्घाटन मन्तव्य राखेका थिए । शुक्रबारको बैठकमा अनुपस्थित ओली शनिबार केहीबेर मात्रै बसेर हिँडेका थिए । मंगलबार पनि उनी ढिलो आएर बीचमै उठेर हिँडेका थिए । वरिष्ठ नेता झलनाथ खनाल बोल्दाबोल्दै प्रधानमन्त्री ओली हलबाट निस्केका थिए । 

ओलीबाहेक अध्यक्ष प्रचण्डसहित सबैजसो नेताहरूले पार्टी नेताहरूलाई नै लान्छित गर्नेगरी विनाप्रमाण प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै राजनीतिक र नैतिक दुवै हिसाबले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेका थिए । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा नगरे नेकपाको भविष्य धरापमा पर्ने भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उनीहरूको तर्क थियो । 

‘भारतले सरकार ढाल्न थालेको र त्यसमा पार्टीकै नेताहरूसमेत जोडिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति निकै गम्भीर छ । यो राष्ट्रिय आत्मनिर्णय र कूटनीतिक मर्यादाभन्दा बाहिर छ । अब यो विषयमा छलफल गर्नुपर्छ । के सूचनाका आधारमा प्रधानमन्त्री बोल्नुभएको हो, उहाँले स्पष्ट गर्नुपर्छ,’ प्रचण्डको भनाइ थियो, ‘विगतमा भारतले हटाएको भन्ने पनि झुटो हो । त्यतिवेला भएको सहमति कसरी तोडियो ? अनि कसरी हट्नुप¥यो भन्ने स्मरण गर्नुस् । सार्वभौम नेपाली जनताले चुनेर पठाउने अनि भारतले हटायो भन्ने ? सरकार बनाउने र भत्काउनेमा जहिल्यै भारतलाई ल्याएर जोड्ने ? तपाईंको यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो । सरकार सञ्चालन र पार्टी सञ्चालन गर्ने तरिकामा उहाँ असफल हुनुभो । अब तपाईंले पार्टी र सरकारको नेतृत्व गर्न कसरी मिल्छ ? त्यसकारण विकल्पका लागि त्याग गर्नुस् ।’ 

प्रचण्ड बोल्दाबोल्दै प्रधानमन्त्री ओली बैठकमा आएका थिए । त्यसपछि बोलेका उनले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै अरू नेतामाथि कटाक्ष गरे । ‘भारतको भूमिकाबारे मैले प्रश्न गर्दा तपाईंहरूले खुट्टा उचाल्नुपर्ने कारण के हो ? तपाईंहरूको संलग्नता के हो ? यस्ता कुरामा प्रस्ट कुरा राख्नुस्,’ ओलीको भनाइ थियो, ‘सरकारले राम्रो काम गरेको छ, तर राम्रो गरेन भनेर कुण्ठा नपोख्नुस् । मैले नेतृत्वमा नयाँ पिँढी आउनुपर्छ भन्दै आएको छु, तपाईंहरूलाई दिनका लागि छोड्छु भनेको छैन । तपाईंहरू यसैगरी किचकिच गरिराख्नुभो भने, ख्याल गर्नुस्, म बाँचुन्जेल चुनाव लड्छु ।’

ओलीपछि नेता झलनाथ खनाल बोले र उनले पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागे । ‘तपाईंलाई अब पदमा बसिरहने कुनै नैतिक अधिकार छैन । त्यसमाथि अहिले जुन ढंगले भारतलाई मिसाएर पार्टीका सारा नेताहरूलाई एजेन्ट बनाउने गरी बोल्नुभो, यो गम्भीर, आपत्तिजनक र अनैतिक छ । तपाईंले भारतसँग वार्ता गरेर भूमि फिर्ता गर्न पनि सक्नुहुन्न । अब पनि तपाईंले पदमा बस्न मिल्दैन, दुवै पदबाट राजीनमा दिनुस्,’ नेता खनालले भने ।

वरिष्ठ नेता नेपालले अब पार्टी र सरकार दुवै नेतृत्वबाट राजीनामा दिन माग गरे । ‘सरकार झन्झन् अलोकप्रिय बन्दै गएको छ । नियुक्तिहरूमा कुनै मापदण्ड छैन, मनपरी छ । पार्टी नामको संस्था छैन, अस्तव्यस्त छ । यहाँ केही भन्यो भने गीत गायो भनिन्छ, तर गीत गाएको होइन, यो अहिलेको वास्तविक तस्बिर हो । त्यसकारण अब तपाईंबाट चल्न सक्दैन, दुवै पदबाट राजीनामा दिनुस्,’ नेपालको भनाइ थियो । 

नेता वामदेव गौतमले प्रधानमन्त्रीले नेपाली जनताको अपमान गरी बोलेको र अब राजीनामाबाहेक अर्को विकल्प नरहेको बताए । नेता गौतमले भने, ‘मदनजयन्तीको दिन प्रधानमन्त्रीले बोलेको कुरा आपत्तिजनक छ । बिलकुल गलत छ । अब उहाँ कुनै पनि हालतमा प्रधानमन्त्री रहिरहन मिल्दैन । अब बलजफ्ती नगरी दुवै पदबाट राजीनामा दिनस् । यही नै देश र पार्टीको हितमा हुन्छ ।’ नेता गौतमले पटकपटक आफूलाई धोका भएको भन्दै पार्टी निर्माणमा आफ्नो भूमिका नजरअन्जाद नगर्न आग्रह गरे । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले व्यक्तिगत स्वार्थका लागि परराष्ट्र सम्बन्धमाथि खेलबाड गरेको बताए । उनले पनि अब सरकारको निरन्तरताको पक्षमा नरहेको सुनाए । ‘उहाँले बोलेको कुरा गलत छ । व्यक्तिगत स्वार्थसिद्ध गर्न उहाँले परराष्ट्र सम्बन्धमा खेलबाड गर्नुभयो । अब राजीनामा दिएर बाटो खोल्नुपर्छ,’ श्रेष्ठले भने ।

बालुवाटारमै आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालको नयाँ नक्सा प्रकाशनपछि भारतको राज्यसंयन्त्र आफूलाई हटाउन अचम्मसँग सक्रिय भएको र त्यसको प्रमाणका रूपमा दूतावासका गतिविधि र भारतीय सञ्चारमाध्यमका समाचारबाटै पुष्टि हुने भन्दै त्यसमा नेपालकै नेताहरूसमेत लागेको प्रस्ट संकेत गरेका थिए ।

पार्टी सचिवालयबाहेक स्थायी कमिटीका सदस्यले पनि प्रधानमन्त्री ओलीले राजनीति र नैतिक दुवै हिसाबले राजीनामा गर्नुपर्ने माग गरेका थिए । नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा, रघुजी पन्त, बेदुराम भुसाल, गोकर्ण विष्ट, पम्फा भुसाल, गणेश शाह, युवराज ज्ञवालीलगायतले बोलेका थिए । सबैजसो नेताले सरकारको आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

अष्टलक्ष्मी शाक्यको भनाइ थियो, ‘प्रधानमन्त्रीमा योग्यता, इमान, नैतिकता, आन्दोलनप्रति माया छैन, जवाफदेहिता छैन । अब उहाँबाट न सरकार चल्छ न पार्टी । तत्काल राजीनामा दिनुस् ।’

स्थायी कमिटी सदस्य गोकर्ण विष्टले बैठकमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति जनमतको अपमान भएको बताए । ‘नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहित भनेको छ । जनताले सार्वभौमसत्ताको अभ्यास निर्वाचनमार्फत राख्छन् । र, जनताले आफ्ना प्रतिनिधिमार्फत त्यसो अभ्यास गर्छन् । प्रधानमन्त्री विदेशीले बदल्न सक्छन् भनेर प्रधानमन्त्रीले जे भन्नुभयो, के उहाँले सार्वभौमसत्ता जनतामा छैन भारतमा छ भन्न खोज्नुभएको हो ? उहाँको अभिव्यक्तिले नेपालको स्वतन्त्र, सार्वभौमसत्ता र स्वभिमानको शिर निहुराउने काम भएको छ,’ विष्टको भनाइ थियो, ‘प्रधानमन्त्री हाम्रो संसदीय दलको नेता हुनुहुन्छ । संसदीय दलको नेता हामीले छानेका हौँ । त्यहाँ कोही अरूका लागि काम गर्नेछन् भने तथ्यका आधारमा कारबाही गर्नुस् । आरोप नलगाउनुस् ।’ 

नेता सुरेन्द्र पाण्डेले पनि भारतले षड्यन्त्र गरेको हो भने राजदूतलाई बोलाएर स्पष्टीकरण लिन तर देशभित्रका नेताहरूलाई आक्षेप नलगाउन आग्रह गरे । ‘राजदूतसँग स्पष्टीकरण लिन पनि नसक्ने, राजनीतिक स्टन्टबाजीमार्फत आफूलाई मात्र राष्ट्रवादी देखाउने षड्यन्त्र हो, त्यसैले प्रधानमन्त्रीले मिस फायर गर्नुभएको छ, पार्टी र सरकार दुवै चलाउन सक्नुभएन, अब छाड्नुपर्छ,’ उनले भने । 

देवेन्द्र पौडेलले पार्टी र सरकारको समीक्षा गर्न बैठक चलिरहेकै वेला निर्वाचन आयोगमा दल दर्ता भएकोमा गम्भीरतापूर्वक छलफल भएको बताए । नेता रावलले पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री नै पार्टी फुटाउने खेलमा लागेकाले नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने बताए । 

बैठकको सुरुको दिन बुधबार पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको सम्बोधन आएको थियो । त्यसपछि नेपालको सीमा समस्या र समाधान एजेन्डामा शुक्रबार र शनिबार तीन नेताहरूले धारणा राखेका थिए । त्यसपछि बैठक मंगलबारसम्म स्थगित भएको थियो । 

प्रधानमन्त्रीले भने-प्रचण्डजी ३२ वर्षदेखि अध्यक्ष हुनुहुन्छ, अब के त्याग चाहियो ?, भारतको भूमिकाको कुरा गर्दा किन खुट्टा उचाल्दै हुनुहुन्छ ?

तपाईं बडो त्यागको कुरा गर्नुहुन्छ, तर के त्याग खोज्नुभएको हो ? म अर्कोपटक प्रतिस्पर्धामा आएर चुनाव लड्दिनँ, महाधिवेशनबाट अध्यक्ष हुन्न भनेकै छु । प्रचण्डजी तपाईं त ३२ वर्षदेखि आफू निरन्तर अध्यक्ष हुनुहुन्छ, तपाईंलाई अरू के त्याग चाहिएको हो ? आफूले पहिले गरेर देखाउनुस्, त्याग कस्तो हुन्छ ? माधवजी १६ वर्ष महासचिव हुनुभएकै हो, एकपटक त्याग गरेर देखाउनुस्, झलनाथजी १३ वर्षसम्म महासचिव र अध्यक्ष हुनुभएको हो, पार्टी कहाँ पुगेको थियो आफैँ समीक्षा गर्नुस् ।

जनताले पक्कै रेकर्ड राखेका छन् । मैले प्रस्ट पारेका कुराहरूमा भारतको भूमिकाबारे मैले प्रश्न गर्दा तपाईंहरूले खुट्टा उचाल्नुपर्ने कारण के हो ? तपाईंहरूको संलग्नता के हो ? यस्ता कुरामा प्रस्ट कुरा राख्नुस् । 

सरकारले राम्रो काम गरेको छ, तर राम्रो गरेन भनेर कुण्ठा नपोख्नुस् । तपाईंहरू यसैगरी किचकिच गरिराख्नुभो भने, ख्याल गर्नुस्, म बाँचुन्जेल चुनाव लड्छु । मैले नेतृत्वमा नयाँ पिँढी आउनुपर्छ भन्दै आएको छु, तपाईंहरूलाई दिनका लागि छोड्छु भनेको छैन । 

अपिल गर्दै पार्टी एकता जोगाउनुपर्छ, सबैले गम्भीरतापूर्वक कुरा राखौँ, भारतसँगको वार्ता पनि टुंगो लगाउनुपर्नेछ, परिपक्व भएर जानुपर्ने स्थिति छ, एउटा निष्कर्षमा पुग्नुपर्नेछ, प्रधानमन्त्रीले पनि राख्नुहोला, प्रधानमन्त्रीका नजिकका साथीहरू पनि हुनुहुन्छ, तपाईंहरूप्रति कसैको केही गुनासो होइन, पार्टीलाई पद्धतिसंगत ढंगले चलाउने कुरा उठाइएको हो ।

दिल्लीले होइन, त्याग गर्नुस् भनेर मैले मागेको हो राजीनामा : पुष्पकमल दाहाल ‘प्रचण्ड’ 

मंसिर पहिलो साता जिम्मेवारी बाँडफाँडपछि केन्द्रीय कमिटी बैठकसम्म सहमतिबाटै पार्टी चल्यो । त्यसपछि त उहाँले नियमित बैठक बस्न पनि रुचाउनुभएन । सबै रोकेर राख्नुभो । पार्टी र सरकार सञ्चालनबारे परामर्श गर्न पनि छाड्नुभो, एकलौटी गर्न थाल्नुभो । अध्यादेश ल्याएर पार्टी फुटाउन खोज्ने स्वेच्छाचारिता देखाउनुभो । मलाई भूमिकाविहीन नै बनाउन खोजियो । 

अहिले बैठकमा सीमा समस्याका बारेमा छलफल हुँदैथ्यो । पार्टी र सरकारको कामको समीक्षा पनि हुन्थ्यो । तर, प्रधानमन्त्रीजी बैठकमा आउँदै नआउने । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा यही हलमा कार्यक्रम हुन्छ भनेपछि सल्लाहमै हामीले बैठक स्थगित ग¥यौँ । तर, यही हलबाट उहाँले भारतले हटाउन खोजेको, नेताहरू लागेको भन्दै झुटा प्रचार गर्नुभो । हटाउने खेल भएको हो भने को–को लागेका छन् ? यदि हो भने पार्टी एकढिक्का भएर लड्न जान सक्छ । प्रधानमन्त्रीले बैठकलाई प्रस्ट्याउनुपर्छ । 

विगतमा भारतले हटाएको भन्ने पनि झुटो हो । त्यतिवेला भएको सहमति कसरी तोडियो ? अनि कसरी हट्नुप¥यो भन्ने स्मरण गर्नुस् । सार्वभौम नेपाली जनताले चुनेर पठाउने अनि भारतले हटायो भन्ने ? सरकार बनाउने र भत्काउनेमा जहिल्यै भारतलाई ल्याएर जोड्ने ? तपाईंको यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो ।

सरकार सञ्चालन र पार्टी सञ्चालन गर्ने तरिकामा उहाँ असफल हुनुभो । अब तपाईंले पार्टी र सरकारको नेतृत्व गर्न कसरी मिल्छ ? त्यसकारण विकल्पका लागि त्याग गर्नुस् । मैले त सचिवालयमा १७ वैशाखमै त्याग गर्नुस् भनेको हुँ, त्यतिवेला नक्साको प्रसंगै आएको थिएन, तर तपाईंले त्याग देखाउनुभएन । तर, अहिले यस्तो कुरा गर्ने ? दिल्लीले होइन, त्याग गर्नुस् भनेर मैले मागेको हो राजीनामा । धेरै रहनुपर्दैन, नक्सा कसरी सार्वजनिक भयो भन्ने कुरामा पनि सबै साथीहरू जानकार हुनुहुन्छ । 

ओलीले राजीनामा नगरे के हुन्छ ? 

प्रधानमन्त्री केपी ओलीले फेरि कुनै नाटकीय प्रस्ताव नल्याए पार्टी स्थायी कमिटी सचिवालयले उनको राजीनामा माग्ने निश्चितप्रायः भएको छ । तर, पार्टीको निर्देशन ओलीले सहजै परिपालन गर्नेमा राजनीतिक विश्लेषक सहमत छैनन् । बहुमत सदस्यको निर्देशनपछि पनि ओलीले राजीनामा नदिए के हुन्छ ? प्रस्ट तस्बिर अझै खुलेको छैन ।

ओलीले राजीनामा भन्दाअघि सहमति, आत्मालोचना, स्पष्टीकरणको प्रयास पनि गर्न सक्छन्, तर यी ‘लाइफलाइन’ पहिले नै प्रयोग भएका हुन् । ओलीले पार्टी विभाजन गरेर नयाँ धारा सिर्जना गर्ने सम्भावना पनि छ । मदन भण्डारीको जन्मजयन्तीको दिन १४ असारमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एमाले) ओलीको अन्तिम अस्त्र हो भन्ने पार्टी नेताहरूको विश्लेषण छ । नेकपाले अहिले लिएको बाटो त्यहाँ पुग्छ जहाँ प्रमुख प्रतिपक्षी कांग्रेससहित अन्य दलको सान्दर्भिकता एकैपटक मौलाउनेछ । 

दुवैपक्ष वारि–पारि हुने भए नेपाली राजनीति फेरि एउटा भद्दा दृश्यतर्फ मुखरित हुनेछ । यसका लागि संसदीय दल, संसद्, निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म सांसद र केन्द्रीय सदस्यले परेड खेल्ने दिन आउन पनि सक्छ । 

प्रचण्ड–नेपाल समूहले आफ्नो समूहका नेताहरूलाई मन्त्रीबाट फिर्ता बोलाएर प्रधानमन्त्री ओलीमाथि थप दबाब बनाउने रणनीति लिने विकल्प कायमै छ । संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराउने विकल्प पनि हुन सक्छ ।

प्रतिकूल अवस्थामा दुवै पक्ष संसदीय दलमा बहुमत पु¥याउने खेलमा सहभागी हुन सक्छन् । ‘कुनै सहमति नहुने र दुवै पक्ष आ–आफ्नो अडानमा कायमै रहने हो भने पार्टी विभाजनसम्मको विकल्प पनि छ,’ स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘तर, एकताको मनोविज्ञान भत्काउने गरी जसले नेतृत्व गर्छ इतिहासमा कठोर कठघराको सामना गर्नुपर्नेछ ।’ 

राति १ बजे मन्त्रीका ट्विट

नेकपाभित्र नाटकीय रूपमा विकसित सत्ता–संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा ट्विट गरेका छन् । मंगलबार राति १ बजेर ३ मिनेटमा नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’

यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय कमरेडहरू, एकपटक आफैँलाई हेराँै, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद !’

पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले लेखेका छन्, ‘एमालेमा कहिले पस्ने ? म त्यहीँ छु, जबजभित्रै छु । फरक केवल यही छ कि पार्टी नेकपा भएको छ, भयो होला नि उत्तर फेसो खोज्दै हिँड्नेहरूलाई ।’ उनको अर्को स्टाटस छ, ‘प्रधानमन्त्रीका कमजोरी होलान्, तर प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट शृंखला हुन् । बदनाम, आक्रमण र ध्वस्त । चरणहरू यिनै हुन् । बाँकी धैर्यतापूर्वक हेरौँ । अरूलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’