१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १६ मंगलबार २१:२२:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यानमा फर्किए लामा, गिरी पनि बोर्ड सदस्यमा मनोनीत

Read Time : > 2 मिनेट
२०७७ असार १६ मंगलबार २१:२२:००

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा छुम्बी लामा र धर्मराज गिरी मनोनीत भएका छन् । लामा र गिरी राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मनोनीत भएका हुन् । परिषद्ले क्यानको बोर्डमा आफ्ना दुईजना प्रतिनिधि सिफारिस गर्न पाउने प्रावधान छ । गत १० असारमा परिषद्कै सिफारिसका आधारमा मंगलबार लामा र गिरीले क्यानमा बोर्ड सदस्यका रूपमा प्रवेश पाएका हुन् । 

व्यवस्थापनमा निकै पोख्त मानिएका लामा क्विन्स इभेन्ट्सका प्रबन्ध–निर्देशक हुन् । क्यानका अर्को मनोनीत गिरी मदन भण्डारी स्पोर्टस् फाउन्डेसनअन्तर्गत क्रिकेट विभागका उपाध्यक्ष हुन् । यसअघि लामाले क्यानमा चिफ अपरेटिङ अफिसर (सिओओ) को अनुभव बटुलिसकेका छन् । ०६८ सालमा टंक आङबुहाङ अध्यक्ष क्यानमा उनले म्यानेजमेन्ट लेभल जिम्मेवारी पाएका थिए । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले क्यानमाथि निलम्बन गरेको समयमा लामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खेलाडीको हितमै सक्रिय रहे । ‘निलम्बनको समयमा म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खेलाडीको विकासमा लागेको थिएँ,’ बोर्ड सदस्य भएपछि लामाले नयाँ पत्रिकासँग भने, ‘त्यसवेला मेरै पहलमा नेपाल र केन्याबीच खेल भएको थियो, यसका साथै मुलपानी क्रिकेट मैदान खेल्नयोग्य बनाइयो ।’ 

दक्षिण एसियामै पहिलोपटक महिला क्रिकेट लिग लामाले नै आयोजना गरेका थिए । साथै नेपालकै चर्चित पोखरा प्रिमियर लिग टी–२० जस्तो फ्रेन्चाइज आयोजना गराउनमा उनको सक्रियता प्रमुख मानिन्छ । सो प्रतियोगिता उनी प्रबन्ध निर्देशक रहेको क्विन्स प्रालिले नै गर्दै आइरहेको छ । काठमाडौंभन्दा बाहिर पनि क्रिकेटको विकास हुनुपर्ने उद्देश्यका साथ उनले पोखरामा प्रत्येक वर्ष पिपिएल आयोजना गरिरहेका छन् । 

पोखरामा अन्तर्राष्ट्रिय स्तरकै क्रिकेट प्रतियाेगिता गराउन मिल्ने गरी मैदान बनेको छ । यसका लागि लामाकै सक्रियतामा ४० लाख रुपैयाँ खर्च भएको छ । लामाले नेपालको क्रिकेटमा लगभग एक दशक बिताइरहेका छन् । त्यही एक दशकको अनुभवकै आधारमा आफूलाई परिषद्ले क्यानमा सदस्यका रूपमा मनोनीत गरेको उनी मान्छन् । लामा भन्छन्, ‘मैले क्रिकेटमा गरेको काम र अनुभवकै आधारमा परिषद्ले क्यानमा सिफारिस गरेकोजस्तो लाग्छ, यसका लागि परिषद्का सदस्यसचिवज्यूलाई धन्यवाद दिन चाहन्छु ।’ 

नेपाली क्रिकेट एक पाइला खस्केको उनले विश्लेषण गरेका छन् । ‘मेरो नजरमा क्रिकेट एक स्टेप तल झरेकोजस्तो लाग्छ,’ उनले भने, ‘त्यो एक पाइलामाथि उठाउने प्रयास हुनेछ ।’ नेपालको क्रिकेट विकासमा नीति क्षेत्रको योगदान आवश्यक भएको उनको बुझाइ छ । लामा भन्छन्, ‘क्रिकेट व्यावसायिक करण नहुँदासम्म विकास हुन सक्दैन, यसका लागि निजी क्षेत्रको योगदान पनि उत्तिकै चाहिन्छ ।’ 
साथै क्रिकेट विकासको महत्वपूर्ण पक्ष ग्रासरुट उनी मान्छन् । ग्रासरुटमा विकास नभएसम्म माथिल्लो लेभल विकास नहुने उनी बताउँछन् । ‘हामीले सुरुमै तल्लो स्तरदेखि नै विकास गर्नुपर्छ, जब तल्लोस्तरमा विकास हुन्छ त्यसको असर माथिल्लो लेभलमा स्पष्ट देखिन्छ,’ उनले भने । बोर्ड सदस्यका रूपमा क्यानभित्र प्रवेश गरेपछि उनले कम्तीमा सातै प्रदेशमा सुविधायुक्त रंगशाला बनाउने पक्षमा जोड गर्ने बताए ।

लामा भन्छन्, ‘अबको दिनमा मेरो प्रयास कम्तीमा सातै प्रदेशमा खेल्नयोग्य मैदान र एकेडेमी बनाउने हो, साथै खेलाडीको सेवा–सुविधा वृद्धिमै काम गर्नेछु ।’ क्यानले नेपाललाई टेस्ट मान्यता दिलाउन त्यहीअनुसारै योजना खाका बनाउनुपर्ने उनको जनाए । उनी भन्छन्, ‘१०–१५ वर्षभित्र नेपाललाई टेस्ट मान्यता दिलाउन त्यहीअनुसार कार्ययोजना बनाउनुपर्छ, यसका लागि सबै क्षेत्रबाट पहल पनि हुनुपर्छ ।’ 

विगत दुई सातादेखि राष्ट्रियस्तरका क्रिकेटर आफ्नै अभ्यासमा जुटेका छन् । क्यानले खेलाडीको क्याम्प सम्बन्धमा केही कदम चालेको छैन । जिल्लाबाहिर रहेका खेलाडीहरूलाई सुरक्षित तरिकाले काठमाडौँ ल्याएर प्रशिक्षण दिलाउने उनले जानकारी दिएका छन् । यसका लागि विश्व स्वास्थ संगठन र स्वास्थ मन्त्रालयको मार्ग दिशाअनुसार खेलाडीलाई प्रशिक्षण गराउने उनले बताए । ‘हामी डब्ल्युएचओ र स्वास्थ मन्त्रालयको गाइडलाइन्सअनुसार खेलाडीलाई प्रशिक्षण दिलाउने प्रयास गर्छौँ,’ उनले भने ।