Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असार १६ मंगलबार १४:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

रामबहादुर बमजनमाथि बलात्कार मुद्दा, आश्रममा ‘लाइफ डिटेक्टर’बाट खोजी (फाेटाेफिचरसहित) 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असार १६ मंगलबार १४:५३:००

धर्मगुरु बताउने रामबहादुर बमजनमाथि नाबालिकालाई बलात्कार गरेको कसुरमा प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ । 

जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको हो । 

०७३ सालमा सर्लाहीको आश्रममा एक बालिकामाथि यौनशोषण गरेको अभियोग बमजनमाथि छ । 

पीडितकै जाहेरीका आधारमा  अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा मिसिल बुझाइएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले बताए । 

गत २३ फागुनमा जिल्ला अदालत सर्लाहीले बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

त्यसयता प्रहरीले सिन्धुलीस्थित उनको आश्रममा तीनपटक छापा मारिसकेको छ । 

तर, पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर मुद्दा चलाउन लागिएको हो । मुद्दाको हदम्याद सकिन लागेकाले मुद्दा बुझाइएको प्रहरीको भनाइ छ । 

मुलुकी अपराध संहितामा जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिका भएको अवस्थामा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने प्रावधान छ । 

केही दिनभित्रै पीडित १९ वर्ष पुग्न लागेकाले प्रहरीले मुद्दा दायर गर्न लागेको हो । 

कुकुर र लाइफ डिटेक्टरबाट खोजी 
यही ४ असारमा सिआइबीको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पहिरेस्थित बोधी श्रवण धर्म संघ (बोधी मार्गदर्शन मैत्री धर्म आश्रम) मा छापा हानेको थियो । 

आश्रमका कुनाकुना खोज्दा पनि उनी भेटिएनन् । 

उनी आश्रमभित्र बंकर बनाएर लुकेको आशंकामा लाइफ डिटेक्टरसमेत प्रहरीले प्रयोग गरेको थियो । 

तैपनि उनी त्यहाँ भेटिएनन् । सामान्यतया नदीमा डुबेका तथा पहिरोमा परेका व्यक्ति खोज्न प्रहरीले यस्तो प्रविधि प्रयोग गर्छ । 

सशस्त्र प्रहरीसँग मात्र यस्तो प्रविधि छ । सशस्त्र प्रहरीबाटै सो प्रविधि लगेर प्रहरीले उनको आश्रममा छापा मारेको थियो । 

‘महिलाको भेषमा बसेको हुन क्ने आशंकामा पनि महिला प्रहरीहरूले चेकजाँच गरे,’ सिआइबीका एक अधिकारी भन्छन्, ‘तर, उनी केही समययता आश्रमबाहिर रहेको नै प्रस्ट भयो ।’ 

त्यस्तै, लाइफ डिटेक्टर र रेस्कुमा खटाइएको दुई प्रकारका कुकुरसमेत लगेर प्रहरीले छापा हानेको थियो । 
तर, उनी आश्रममा नभेटिएको सिआइबीका प्रवक्ता एसपी बेल पाण्डेले बताए । 

उनले अवैध रूपमा सञ्चारसेट प्रयोग गरेकामा सिन्धुली प्रहरीले तीनवटा सेट बरामद गरी कारबाही प्रक्रिया अघि बढाएको छ । 

बमजनलाई भगाउन सहयोग गर्ने ज्ञानकुमार बमजन र जेबी भन्ने जितबहादुर तामाङविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको छ । 

बमजनको आलिसान बसाइ, महँगा गाडी र घोडा 
सरकारी वनको जग्गा कब्जा गरेर आश्रम बनाएका बम्जनको आश्रमभित्र कम्पाउन्डरसहितको छुट्टै ‘दरबार’ छ । 

जहाँ आश्रमभित्रै व्यक्तिलाई समेत प्रवेश निषेध छ । उनको निवास पाँचतारे होटेलको कोठाभन्दा सुविधासम्पन्न रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै उनको डस्टर र ल्यान्डक्रुजर गाडी पनि छ । आश्रममा घोडासमेत पालिएको छ । सुविधासम्पन्न जिम खानासमेत छ । 

आश्रमको चारैतिर सेन्ट्री राखिएको छ । जहाँ सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । आश्रमभित्र अवैध रुपमा बंकरसमेत बनाइएको छ । 

उनको आश्रममा बस्ने तीन आनी बेपत्ता रहेको घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

तर, बेपत्ता व्यक्तिहरूको कुनै प्रमाण फेला नपर्दा प्रहरीमा जाहेरी दर्ता हुन सकेको छैन । 

लिटल बुद्ध उपनामले समेत चर्चा कमाएका बमजन सुरुमा सर्लाहीको जंगलमा बसेका थिए । 

पछि सिन्धुपाल्चोक सरेकोमा दुई वर्षयता सिन्धुलीमा बस्दै आएका छन् । उनको श्रीमती र बच्चासमेत छन् । 

 हेर्नुहाेस् बमजनकाे आश्रममा प्रहरीले छापा मार्दा देखिएका तस्बिरहरू :-