मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १६ मंगलबार १४:२७:००
Read Time : > 1 मिनेट
समाचार

युरिया मलमा कालाेबजारी : भारतबाट लुकाएर तेब्बर मूल्यमा किन्न बाध्य किसान

Read Time : > 1 मिनेट
२०७७ असार १६ मंगलबार १४:२७:००

बजारमा रासायनिक मल अभाव हुँदा मलको कालाेबजारी बढेको छ । सिजनमा युरिया मल अभाव हुँदा कृषकले सरकारी अड्डा दैनिक धाउँदा पनि मल नपाएपछि तेब्बरसम्म मूल्य लगाएर मल किन्न बाध्य भएका छन् । यतिवेला किसान धमाधम धान रोप्दै छन् । अब १५–२० दिनमा युरिया मल आवश्यक हुने भएकाले कालाेबजारीको भए पनि मल खरिद गरिरहेको किसान बताउँछन् । कतिपय किसानले अहिलेदेखि नै धानमा मल लगाउन सुरु गरिसकेका छन् । 

धानको सुपरजोन जिल्ला  झापामा अहिले युरिया मल अभाव छ । कोरोना भाइरसको प्रभावका कारण भारतसँगको नाका बन्द भएको भए पनि भारतबाट नै आयातीत मल किसानले किनिरहेका छन् । धान रोपाइँ सुरु भएसँगै झापामा युरियाको माग ह्वातै बढेको छ । अहिले लगाएको धानमा तीन चरणमा गरेर युरिया लगाउनुपर्ने हुन्छ । 

बजारमा मल नपाएपछि कचनकवलका किसानले गैरकानुनी रूपमा मल खरिद गरिरहेका छन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेनिङ कर्पोरेसनले युरिया, डिएपीलगायत रासायनिक मल कृषि सहकारीमार्फत बिक्री गर्दै आएका छन् । तर, पछिल्लो समय देशमै अभाव भएको भन्दै बिर्तामोडमा रहेका यी दुई संस्थानले मल दिन छाडेपछि किसानलाई समस्या परेकाे छ । सिजनमा मल नपाएपछि तेब्बरसम्म मूल्य हालेर भारतबाट लुकिछिपी ल्याइएको गुणस्तर पनि मापन नभएको मल किन्न किसान बाध्य छन् । 

‘बजारमा युरिया मल नै पाइँदैन । भारतबाट ल्याइएको मल २५ सय बोरासम्म लगाएर किन्नुपर्छ । जब कि सीमा पार गरेर जाने भए ३५० भारुमा पाइन्छ’, कचनकवल ६ को जुनतारा कृषक समूहका सचिव तुलाराम अधिकारी भन्छन्, ‘लकडाउनका वेला पनि भारतबाट लुकिछिपी मल आइरहेको छ । हामीले बाध्य भए किन्नुपरेकाे छ । मल नभए त खेतीमा लगाएको लगानी डुब्छ ।’ 

सीमावर्ती क्षेत्र कचनकवलका अधिकांश कृषकको घरमा भारतीय कम्पनीले उत्पादन गरेको युरिया मल भेटिन्छ । कतिपय कृषकले प्रहरीले छापा मार्छ भनेर बोरा परिवर्तन गरेरसमेत लुकाएर राखेका छन् । ‘मैले राति गएर ल्याएँ । दिउँसो मिल्दैन रे ! पोहोर सालको बोरामा हालेँ । त्यो हुँदा त मेरो स्टक भन्न पाइन्छ नि !’ उनी भन्छन्, ‘महँगो हालेँ, यसरी ल्याएँभन्दा पनि गाह्रो हुन्छ, भोलि फेरि झन् नदिने हुन् कि भन्ने हुन्छ । मैले त १८ सयमै एक बोरा ल्याएँ । अरूले त २५ सय हाल्दछन् ।’