Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असार १६ मंगलबार १३:४९:००
Read Time : > 1 मिनेट
अर्थ

त्रिनगर भन्सारलाई राजस्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल

Read Time : > 1 मिनेट
२०७७ असार १६ मंगलबार १३:४९:००

सुदूरपश्चिमको प्रमुख नाकाको रूपमा रहेको कैलालीको त्रिनगर भन्सार नाकालाई चालू आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल परेको छ । आर्थिक वर्ष सकिन १५ दिनअघि बाँकी रहँदा लक्ष्यको ६८ दशमलव ७८ प्रतिशत मात्र राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

यस वर्ष ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा हालसम्म चार अर्ब ६१ करोड चार लाख ३३ हजार रुपैयाँ संकलन भएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । लामो समयको लकडाउनका वेला आयात घटेकाले राजस्व संकलन प्रभावित भएको उनले बताए । गत वर्षभन्दा यस वर्ष राजस्व संकलनको लक्ष्य ३० प्रतिशत बढाइएको थियो । राजस्व संकलनको लक्ष्य बढेकाले पनि लक्ष्यभन्दा कम संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

लकडाउन सुरु भएको चैतमा मासिक लक्ष्यको ५०.५४ प्रतिशत, वैशाखमा ४०.५७ र जेठमा ७४.८४ प्रतिशत राजस्व संकलन भएको भन्सार अधिकृत जोशीले जानकारी दिए । सबैभन्दा बढी पुसमा मासिक लक्ष्यको ९०.९२ प्रतिशत राजस्व संकलन भएको थियो ।

 त्रिनगर नाकाबाट पेट्रोलियम पदार्थ, ग्यास, मार्बल, बिस्कुट, कागज, दालमोठ, भुजिया, चामल, मकै, खाद्यान्न, दाना आदि वस्तुको आयात सबैभन्दा बढी हुने गरेको छ । पेट्रोल र डिजेलबाट मात्रै दुई अर्ब राजस्व संकलन भएको छ । यस्तै, दालमोठ, पापड, भुजियाबाट २० करोड ५९ लाख, कागजबाट १७ करोड १८ लाख, बिस्कुटबाट १३ करोड ६८ लाख, मार्बल, ब्लकबाट तीन करोड १८ लाख राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । 

त्रिनगर नाका भएर भारतबाट अर्बौंको सामान आयात भए पनि निर्यात भने निकै न्यून छ । जसले गर्दा यो नाकाबाट मात्र नेपालले वर्षेनी करोडौँ रुपैयाँ व्यापार घाटा व्यहोर्दै आएको छ । जेठ मसान्तसम्म त्रिनगर नाका भएर १६ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ मूल्यबराबरको सामान आयात भएको छ । गत आर्थिक वर्षमा मात्रै त्रिनगर नाकाबाट १९ अर्ब ७६ करोड मूल्यको सामान आयात भएको भन्सारको तथ्यांक छ । आयात गरिएकोमध्ये तेस्रो मुलुकबाट आउने सामान नगन्य रहेको भन्सार कार्यालयले जनाएको छ ।