मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १६ मंगलबार १२:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

क्वारेन्टाइनको अवस्था सुधार गर्न र पिसिआर परीक्षणको दायरा बढाउन कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १६ मंगलबार १२:३६:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टाइनहरूको अवस्था सुधार तथा पिसिआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । 

कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएकाे हाे । 

क्वारेन्टाइन मापदण्डअनुसार नरहेको, पिसिआर परीक्षणले व्यापकता पाउन नसकेको, कोरोनाबाहेक अन्य स्वास्थ्य समस्या भएका बिरामीहरूले सुविधा पाउन नसकेको, खरिद प्रक्रिया अपारदर्शी नभएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकमसमेत नदिएको विषयमा मन्त्री ढकालको ध्यानाकर्षण गराएको महतले जानकारी दिए । 

भेटमा मन्त्री ढकालले प्रतिदिन दश हजार पिसिआर परीक्षण गर्ने गरी काम अघि बढाएको बताएका थिए । 

सहमहामन्त्री महतले भने, ‘मन्त्रीज्यूले सकेसम्म पारदर्शी हुने प्रयास गर्दैछौँ भन्नुभएको छ । परीक्षण दैनिक १० हजारको गर्ने गरी तयारी भएको पनि बताउनुभएको छ । आगामी अगस्ट ५–६ सम्म नेपालमा ८० हजार संक्रमित पुग्ने अनुमान मन्त्रालयले गरेको रहेछ । यस्तो अवस्थामा कसरी नियन्त्रणका लागि अगाडि बढ्ने भन्ने विषयमा तयारी भइरहेको उहाँले हामीलाई बताउनुभयो ।’

महतको नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरू एनपी साउद, मोहनबहादुर बस्नेत, चन्द्र भण्डारी र गगनकुमार थापा तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले मंगलबार स्वास्थ्यमन्त्रीलाई भेटेर कोरोनाको संक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास र सुधार गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका हुन् ।