१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ असार १६ मंगलबार ०९:५२:००
Read Time : > 3 मिनेट
सप्तरंग

पलायनको जोखिममा दोहोरी साँझका ९ सय कलाकार

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असार १६ मंगलबार ०९:५२:००

झमक्क साँझ पर्नासाथ काठमाडौं सुन्धाराका दोहोरी साँझ रेस्टुराँमा लोकभाका घन्किन थाल्थे । ग्राहक लोकलयमा झुम्थे । उनीहरूको ‘फर्माइस’मा गायक–गायिका स्वर दिन्थे, वाद्यवादक उनीहरूलाई साथ दिन्थे । तीन महिनाभन्दा बढी भयो, सुन्धाराको त्यो रात्रि माहोल बन्द भएको । गोंगबु, चाबहिल, ठमेललगायत क्षेत्रका दोहोरी साँझ पनि बन्द छन् । ती क्षेत्रमा लोकभाका घन्किँदैन, अहिले ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अनुसार काठमाडौं उपत्यकामा ७० भन्दा बढी रेस्टुराँले दोहोरी साँझ चलाउँथे । गोंगबुमा करिब ४५, सुन्धारामा १२, ठमेलमा करिब सात, चाबहिलमा पाँचवटा दोहोरी रेस्टुराँ छन् । ती रेस्टुराँमा करिब नौ सय गायक–गायिका र वाद्यवादक आबद्ध थिए । ‘प्रतिभावान् कलाकार दोहोरी रेस्टुराँमा आबद्ध थिए । उनीहरू पलायन हुँदा सिंगो लोकदोहोरीलाई ठूलो क्षति पुग्नेछ,’ प्रतिष्ठानका उपमहासचिव तथा प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमाल भन्छन् । स्थापित कलाकार नै संकटमा रहेका वेला लोकदोहोरीमा करिअर खोजिरहेकाहरूको अवस्था झनै दयनीय रहेको गायिका सुनीता दुलाल बताउँछिन् ।
                                                              ............

दोहोरी साँझमा गाएर जीविकोपार्जन गर्ने अधिकांश कलाकार लकडाउनलगत्तै गाउँ फिरेका छन् । उनीहरूलाई सहर फर्काउन यहाँ बाँच्ने वातावरण सुनिश्चित हुनुपर्ने दोहोरी गायिका सुमित्रा गुरुङ बताउँछिन् । गुरुङका धेरै साथी गाउँ फिरेका छन्, उनी भने यतै अड्किइन् । उनका अनुसार फोनमार्फत कुरा हुँदा साथीहरू काठमाडौंमा राम्रो माहोल बनेपछि मात्र फर्किने बताउँछन् । ‘खै कहिले बन्ला र राम्रो माहोल !’ उनी निराशा व्यक्त गर्छिन् ।

गोरखाकी लोकगायिका निशा गुरुङ गोंगबुको एक दोहोरी साँझमा आबद्ध भएको तीन वर्ष बित्यो । कलेज पढ्न काठमाडौं छिरेकी उनको स्वर सुनेर साथीभाइले त्यसैमा भविष्य खोज्न प्रेरित गरे । ‘अधिकांश राष्ट्रिय कलाकार दोहोरी साँझबाटै स्थापित भएका हुन्,’ उनी भन्छिन्, ‘राम्रो आम्दानी र सांगीतिक यात्रा पनि सहज हुने भएकाले दोहोरीमा गाउन थालेकी हुँ ।’

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अनुसार काठमाडौं उपत्यकामा ७० भन्दा बढी रेस्टुराँले दोहोरी साँझ चलाउँथे । ती रेस्टुराँमा करिब नौ सय गायक–गायिका र वाद्यवादक आबद्ध थिए ।

लकडाउनयता उनी कोठाबाट निस्केकी छैनन् । आयआर्जन ठप्प छ । दोहोरी साँझ फेरि सुरु हुन कति समय लाग्ने हो, यकिन छैन । ‘सबैतिर अन्धकार देख्छु । तत्काल दोहोरी साँझ खुल्दैनन्, खुले पनि काम पाइँदैन,’ उनी भन्छिन्, ‘यो पेसाको विकल्प खोज्नुपर्ने अवस्था छ । तर, विकल्प के हुन सक्छ, थाहा छैन ।’
दोहोरी साँझमा गाउँदै निशाले आफ्ना चारवटा गीत बजारमा ल्याइन् । कोरोना संकट सुरु नभएको भए यतिवेलासम्ममा नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याइसक्थिन् । भन्छिन्, ‘कोठाभाडा तिर्न र खान नै गाह्रो छ । म्युजिक भिडियो कसरी ल्याउनु ?’ एक–डेढ वर्ष यो क्षेत्रमा भविष्य नदेखिएको उनको ठम्याइ छ । भन्छिन्, ‘परिस्थिति यस्तो छ कि न पछि हट्न सकिन्छ, न अगाडि बढ्न नै ।’

धादिङकी सुमित्रा तामाङ लकडाउन हुनुअघि साँझ ७ देखि राति १२ बजेसम्म गोंगबुको चाँदनी दोहोरी साँझमा गाउँथिन् । कमाइ राम्रै थियो । त्यही कमाइले कोठाभाडा, खानेकुरादेखि आफ्नो नयाँ गीतको रेकर्ड पनि गर्थिन् । त्यसरी नै पाँचवटा गीत बजारमा ल्याइन् । ‘कलाकारको सुरुवाती दिनका लागि दोहोरी साँझ पाठशाला हो र बाँच्ने आधार पनि,’ तामाङ भन्छिन्, ‘दोहोरी साँझ नै बन्द भएपछि के गर्ने ?’

उनले दोहोरी साँझमा गाउन थालेको साढे तीन वर्ष भयो । त्यसैबाट उनी काठमाडौंमा टिक्न सकेकी हुन् । अब यसको विकल्प सोच्न थालेकी छन् । भन्छिन्, ‘लकडाउनअघि यही क्षेत्रलाई मात्र सोचेर काम गरियो । अब भने बाँच्नका लागि अन्य क्षेत्र खोज्नुपर्छ होला ।’

बाग्लुङकी अमृता नेपाली लोकदोहोरी गायनमा ०६१ सालदेखि सक्रिय छिन् । तीन दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेकी उनले वेलावेलामा स्टेज कार्यक्रममा पनि गाउन पाउँथिन् । अहिले दोहोरी साँझ मात्र होइन, स्टेज कार्यक्रम पनि बन्द छन् । करिब तीन वर्षयता उनी ठमेलको फेवा दोहोरी साँझमा गाउँथिन् । तत्काल उनको दिमागमा अर्को विकल्प सुझेको छैन ।

                                                                      ...............

गायक बद्री पंगेनी केही समयअघिसम्म कमलादीस्थित नीरमाया दोहोरी साँझका सञ्चालक थिए । लोकगायक–गायिकाको आम्दानीको स्रोत रहेका दोहोरी साँझबारे राज्यले पनि सोचिदिनुपर्ने उनी बताउँछन् । ‘लोकदोहोरीमा हाम्रो संस्कृति पनि जोडिएको छ,’ उनी भन्छन्, ‘दोहोरी सञ्चालकले बैंकबाट ऋण लिएका छन् । तत्काल किस्ता बुझाउने अवस्था छैन । यस्तो अवस्थामा राज्यले चासो नदिए कसले दिने त ?’

किस्ता बुझाउन बैंकले ताकेता गरिरहेको राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् । उनी नगरकोट दोहोरी साँझ (ठमेल) र राजधानी दोहोरी साँझ (माछापोखरी)का सञ्चालक पनि हुन् । ‘अहिले न काम गर्न सकिन्छ, न त किस्ता तिर्न,’ श्रेष्ठ भन्छन् । अन्य व्यवसायजस्तै दोहोरी साँझ रेस्टुराँलाई पनि आंशिक रूपमा खोल्न अनुमति दिनुपर्ने उनको भनाइ छ । ‘प्रशासनसँग छलफल गरेर खोल्ने प्रयासमा छौँ,’ उनी भन्छन्, ‘नत्र भाडाले नै व्यवसायीलाई थला पार्नेछ।’