सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
मेरेडिथ रेइच/सारा रिचर्डसन/हिदर सटक–हेडोर्न
२०७७ असार १६ मंगलबार ०९:१६:००
दृष्टिकोण

कोभिड–१९ बाट पुरुष किन बढी मरिरहेका छन् ?

मेरेडिथ रेइच/सारा रिचर्डसन/हिदर सटक–हेडोर्न
२०७७ असार १६ मंगलबार ०९:१६:००
?>

कोभिड–१९ बाट महिलाभन्दा पुरुष बढी मरिरहेका छन् । भिन्नता उल्लेखनीय छ । इटलीमा ५० वर्षमाथिका पुरुषहरू सोही उमेर समूहका महिलाभन्दा चार गुणाका दरले मरे । विश्वभर कोभिड–१९ का कारण महिलाभन्दा दोब्बर संख्यामा पुरुषको ज्यान गएको छ । केहीले महिला र पुरुषको शारीरिक भिन्नताका कारण मृत्युदर फरक परेको बताइरहेका छन् । यही धारणाका कारण केही चिकित्सकले त कोभिड–१९ संक्रमित पुरुषमा महिला हार्मोन भनेर चिनिने ‘इस्ट्रोजेन’को सुईसमेत लगाएर परीक्षण गराए । तर, कोभिड–१९ को प्रारम्भिक तथ्यांक र विगतका महामारीको हताहती केलाउँदा कोभिड–१९ बाट महिला र पुरुषको फरक दरमा मृत्यु हुनुमा लैंगिकभन्दा पनि सामाजिक तथा जनसांख्यिक कारण जिम्मेवार देखिन्छ । कोभिड–१९ बाट पुरुषहरूमा उच्च मृत्युदर हुनुको वास्तविक कारक पत्ता लगाए मात्र समग्र रोगको अनुसन्धान तथा जनस्वास्थ्य प्रयासमा सुधार ल्याउन सकिन्छ । 

कोभिड–१९ को पछिल्ला तथ्यांकले लैंगिक भिन्नताका पछाडि सामाजिक सन्दर्भले महत्वपूर्ण भूमिका खेल्ने देखाएको छ । विश्वमा पुरुष–महिलाको मृत्यु अनुपात नेदरल्यान्डमा २:१ देखि इरान र क्यानडाको १:१ सम्म देखिएको छ । यो स्तरको भिन्नताका लागि अहिले नै यही पक्ष जिम्मेवार छ भनेर तोक्ने समय आएको छैन । तर, अहिलेजसरी यो सबका लागि लैंगिक भिन्नता मात्र जिम्मेवार छ भनेर अन्य पक्ष बेवास्ता गरिनु हुँदैन । 

सन् १९१८ को स्पेनिस फ्लु महामारीको समयमा धेरै ठाउँमा महिलाभन्दा पुरुष बढी मरेका थिए । तर, त्यसमा पनि लिंग भिन्नताले मात्र भूमिका खेलेको थिएन । तत्कालीन समय पेसाहरू लिंगका आधारमा प्रस्ट रूपमा विभाजित हुने र पुरुषहरूमा पहिलेदेखि केही रोग बढी देखिएको थियो । स्पेनिस फ्लु महाव्याधिबाट सेना र न्यून सीपयुक्त शारीरिक श्रम गर्ने पुरुष आमजनसंख्याभन्दा उलेख्य बढी मरे । यी पेसामा संलग्नहरूले सामाजिक दूरी पालना गर्न सक्दैनथे । तर, गैरसैनिक तथा उच्चवर्गीय पुरुषहरूको मृत्युदर महिलाहरूको बराबर थियो । अर्को कारण पुरुषहरू बढी एकअर्कासँग नजिकिने पेसामा रहेकाले तिनमा पहिलेदेखि बढी टिबी फैलिएको थियो । यो रोग लागेकाका लागि स्पेनिस फ्लु थप प्राणघातक हुने भएकाले स्पेनिस फ्लुबाट मर्नेमा पुरुष बढी देखिएको अध्ययनले देखाएको छ । 

कोभिड–१९ बाट महिलाभन्दा बढी पुरुषको मृत्यु हुनुमा तिनको जैविक भिन्नताले भन्दा सामाजिक भिन्नताले काम गरेको छ 

निकट विगतको सार्स महाव्याधिमा पनि लैंगिक भिन्नताले मृत्युदरमा फरक पारेको कुरा उठेको थियो । तर, तथ्यांकको मिहिन अध्ययनले लैंगिक भिन्नता उमेर समूहअनुसार फरक भएको देखियो । त्यसअनुरूप बढी उमेरका महिला र पुरुष मृत्युदरमा उल्लेख्य फरक थिएन । तर, सार्सबाट मर्ने युवाको दर युवतीको तुलनामा उच्च थियो । यसपछि अनुसन्धानकर्ताले महिला, पुरुषहरूमा मर्नेहरूलाई उमेर, पेसा र पुरानो रोगहरूको स्थिति आदि पक्षमा छुट्याएर हेरे । यी पक्षलाई बेवास्ता गर्दा सार्सबाट सबै उमेर समूहमा महिला र पुरुषको मृत्युदर उस्तै देखियो । 

कोभिड–१९ मा महिला, पुरुषको मृत्युदर फरक हुनुको प्रमुख कारक महिला र पुरुषको स्वास्थ्य स्थितिमा देखिन्छ । विश्वभर समग्रमा हेर्ने हो भने पुरुषको स्वास्थ्य स्थिति महिलाको तुलनामा कमजोर देखिन्छ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या लिंगअनुसार फरक भएको विषयमा भएको अध्ययनमा मृतक पुरुषमा मृतक महिलाको तुलनामा पुरानो रोग हुने सम्भावना बढी भएको पाइएको थियो । लिंगले उत्पन्न गराउने जैविक भिन्नताले केही दीर्घरोग विकासमा भूमिका खेल्न सक्छ । तर, त्यसका लागि पनि वर्ग, नश्ल र अन्य पेसाजस्ता तत्वको भूमिका बढी हुन्छ । कैयौँ अध्ययनमा कोभिड–१९ का कारण महिलाको तुलनामा उच्च संख्यामा पुरुषको ज्यान गएका स्थानमा पुरुषहरूले अत्यधिक धूमपान गर्ने गरेको पाइएको छ । अत्यधिक धूमपानले मुटुरोगजस्तो जटिलता उत्पन्न गराउँछ, यस्ता व्यक्तिको कोरोनाका कारण ज्यान जाने सम्भावना बढी हुन्छ । यही महिनामा ‘द ल्यान्सेन्ट’मा प्रकाशित एक अनुसन्धान पत्रले पनि सामाजिक पक्षलाई ख्याल गर्दा कोभिड–१९ बाट महिला र पुरुष समान रूपमा जोखिमा रहेको देखाएको छ । 

अहिले हामी कोभिड–१९को पहिलो लहरमै छौँ । यो अवधिमा समग्रमा महिलाको भन्दा पुरुषको मृत्युदर उच्च देखियो । तर, मृत्युदरको यो असमानताका लैंगिक भिन्नताका कारण उब्जिएको सोच्नु उपयोगी हुँदैन । विगतको महामारीमा सुरुमा लैंगिक भिन्नताका कारण उब्जिएको जस्तो देखिएको कुरा पछि महिला र पुरुषको जीवन अनुभवको भिन्नताले उब्जाएको देखियो । रोजगार, व्यवहार र पुरानो रोगजस्ता तत्वहरू महामारीमा पुरुष हुनु वा महिला हुनुभन्दा बढी महत्व राख्ने देखियो । कोरोना महामारीबारे नयाँ तथ्यांक बाहिरिइरहँदा हामीले विगतको पाठलाई पनि ध्यान दिनुपर्छ । हुन सक्छ लिंगसँग जोडिएका जैविक पक्ष पनि कोभिड–१९ को मृत्युदरको भिन्नतामा जिम्मेवार रहेको होस् । तर, फरक मृत्युदरका लागि महिला–पुरष भिन्नतामा मात्र ध्यान दिने हो भने थप जिम्मेवार कारक हाम्रो नजरबाट छुट्न सक्छ । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

हेडोर्न, रेइच र रिचर्डसन हावर्ड विश्वविद्यालयको जेन्डर–साई ल्याबको नेतृत्व गर्छन् । 
 


 

छुटाउनुभयो की ?