एउटा सानो गाउँमा एकजना बुबा–छोरा आफ्नो सामान्य जीवन चलाइरहेका थिए । छोराले एक दिन बुबासित फलफूल खाने जिद्दी गरेछ । सामान्य मजदुरी गरेर जीवन धान्दै गरेका बुबाले छोराको इच्छा तत्कालै पूरा गर्न सकेनन् । अर्को दिन बिहानैदेखि भारी बोकेर पैसा कमाएपछि उनी घर फर्किन्छन् र छोरालाई फलफूल किन्नका लागि केही पैसा दिएर बजार पठाउँछन् । छोरो पनि पैसा पाएपछि दंग पर्दै बजारतिर गयो ।
बजार जाँदै गर्दा उसले बाटोमा निकै नै गरिब त्यस्ता परिवार देख्छ, जसको शरीरमा लुगा पनि हुँदैन । झलक्क हेर्दा उनीहरूले कैयौँ दिनदेखि खान नखाएका जस्ता देखिन्थे । फलफूल किन्ने खुसियालीमा रमाउँदै, उफ्रिँदै बजारतिर लागेको बालकलाई अचानक ती मानिस देखेपछि खिन्नता उत्पन्न भयो । उसलाई ती मानिसको दुःख देखेर फलफूल खान मन लागेन । उसले फलफूल किन्ने सोच त्यागिदियो र साथमा भएको पैसा तिनै मानिसलाई दिएर घर फर्कियो ।
फलफूल नकिनी छोरा घर फर्किएपछि बुबाले सोधे– खै त फलफूल ? कि सबै उतै खायौ ? बालकले सबै यथार्थ विवरण बुबालाई सुनायो । उसले भन्यो– बाबा, ती मानिस त हामीभन्दा पनि दुःखी देखिन्थे । तिनको शरीरमा एकसरो लुगा पनि थिएन । त्यसैले, मलाई फलफूल खान मन लागेन । अनि, सबै पैसा उनीहरूलाई दिएँ ।
बालकका कुरा सुनेर बुबा निकै खुसी भए । उनले भने– बाबु, आज तिमीले सामान्य फल होइन, अमर फल प्राप्त गरेका छौ । तिमी जीवनमा ठूला मानिस बन्नेछौ ।