मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १६ मंगलबार ०७:२५:००
Read Time : > 1 मिनेट
सम्पादकीय

प्रधानमन्त्री  ओलीको हतासा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १६ मंगलबार ०७:२५:००

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन दिल्लीले सक्रियता बढाएको आरोप लगाएका छन् । उनले यसमा दिल्ली, काठमाडौंस्थित भारतीय दूतावास र नेपालकै केही नेता सक्रिय रहेको र बैठक पनि बस्ने गरेको बताएका छन् । प्रधानमन्त्रीसँग राज्यका सूचनाको भरपर्दो सञ्जाल छ । उनलाई कुन नेता, कुन दिन, कति वेला, कहाँ गए ? कसलाई भेटे ? कुन दूतावासका को–कता सक्रिय भए भन्ने सूचना हुने नै भयो । दिल्लीदेखि बेइजिङसम्मको राजनीतिक सक्रियताको पनि जानकारी आउँछ । यसैले प्रधानमन्त्रीले बोलिसकेपछि विनासूचना र विनाआधार बोलेको भन्ने अनुमान गरिन्न । तर, उनले जे विषय, सन्दर्भमा बोलेका छन् र आफ्नो आन्तरिक राजनीतिका सीमाभन्दा बाहिर गएर आफ्नो सत्ता ढाल्न भारत सक्रिय भएको आरोप लगाएका छन्, त्यसलाई भने आम रूपमा मानिसले विश्वास गरेनन् । 

ओली हतास र पराजित मनोदशामा छन् र पार्टीमा निर्णायक रूपमा उनको विकल्पको खोजी भइरहेको छ । ओलीले आफ्नो बचाउका लागि सार्वजनिक गरेको अपिलबारे अब जवाफ दिने पालो उनकै पार्टीको हो ।

केही समयदेखि ओली सरकार राज्य सञ्चालनका सबैजसो क्षेत्रमा असफल देखिएको छ । उनको कार्यकालको आधा समय सकिन लाग्दा निर्वाचनका समयमा उनले देखाएका सपना बाफ बनेर उडेको आमनागरिकले हेरिरहेका छन् भन्ने उनलाई पनि थाहा छ । उनले सरकार मात्र होइन, आफ्नै पार्टी पनि ठीकसँग सञ्चालन गर्न सकेका छैनन् । एक्लै वीर र बहादुर कहलिन रहर गर्ने, आफूलाई विशिष्ट र अरूलाई साधारण ठान्ने, आफ्नो दलका समकक्षी नेताको योगदानलाई अवमूल्यन गर्ने र जनतालाई लगातार ढाँट्दै आफ्नो सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गरेको भ्रम छर्न तल्लीन रहने ओलीको स्वभावले सबै हैरान छन् । कोरोना महामारीको व्यवस्थापनमा उनको नेतृत्व क्षमतामा रहेको समस्या नराम्रोसँग पोखिएको छ । पार्टीको निर्देशनमा भारतले अतिक्रमण गरेको नेपाली भूमिमाथिको स्वामित्व दाबी गर्दै नक्सा सार्वजनिक गर्ने निर्णय लिएकैले उनलाई लागेको छ, अब इतिहास यहीँ ठिंग उभिन्छ । 

जनताका दैनिक समस्यासँग, आर्थिक विकास र परिवर्तनका मुद्दासँग सरोकार नराख्दा पनि जनताले उनको प्रशंसामा हरेक बिहान भक्तिगान गाउनुपर्छ । तर, यो कुरा उनले आफ्नै दलमा स्थापित गर्न सकेका छैनन् । चारैतिर आलोचनाको सिकार भइरहेको समयमा उनले आफ्नो बचाउका लागि भारतलाई आरोप लगाउने नयाँ जाल फ्याँकेका हुन् भन्ने जो–कसैले अनुमान गर्न सक्ने कुरा हो । तर, उनले यहीँनेर केही गम्भीर गल्ती गरेका छन् । पहिलो त यो कूटनीतिक दृष्टिले भारतसँग भारतकै कारण हालका दिनमा बढ्दै गएको तनाव र संवादहीनतालाई थप खराब अवस्थामा धकेल्ने अभिव्यक्ति हो । दोस्रो, नेपालको राजनीतिक तथा संवैधानिक कुनै पनि दृष्टिले उनलाई अहिले सत्ताच्युत गर्ने शक्ति उनकै पार्टीमा बाहेक अरूसँग छैन । 

भारतले आग्रह गरेको भरमा नेकपामा ओलीको प्रतिपक्षी समूहले खुरुखुरु ओलीलाई कठालो समातेर कुर्सीबाट झार्ने खेल खेल्छन् भन्ने ओलीलाई लागेको हो भने त्यो उनले आफ्नै दलका नेताप्रति गरेको अविश्वासबाहेक केही साबित हुँदैन । आन्तरिक संकटको सामना गर्ने हतियारका रूपमा बाह्य संकट निम्त्याउने उनको भनाइले नेपालजस्तो देशले थेग्न नसक्ने संकट निम्त्याउनेछ । यसले उनी हतास र पराजित मनोदशामा छन् र पार्टीमा निर्णायक रूपमा उनको विकल्प खोजी भइरहेको छ भन्ने सन्देश दिन्छ । ओलीले आफ्नो बचाउका लागि सार्वजनिक गरेको यो अपिलका बारेमा अब जवाफ दिने पालो भने उनकै पार्टीको संसदीय दल र नेकपा कमिटीहरूको हो ।