मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १६ मंगलबार ०५:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

त्रिविको ६१औँ वार्षिक दिवस : ५६ हजार सात सय १३ विद्यार्थीको ग्रेस लिस्ट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १६ मंगलबार ०५:३६:००

त्रिभुवन विश्वविद्यालय सभाले ५६ हजार सात सय १३ विद्यार्थीको ग्रेस लिस्ट पारित गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको त्रिवि सभाको वार्षिक दिवस बैठकले ५८औँ ग्रेस लिस्ट पारित गरेको हो । ग्रेस लिस्टमा समावेश भएका विद्यार्थी आगामी दीक्षान्त समारोहमा दीक्षित हुनेछन् ।

ग्रेस लिस्टअनुसार व्यवस्थापक संकायमा १९ हजार तीन सय ३०, शिक्षाशास्त्र संकायमा १४ हजार आठ सय १२, मानविकी तथा सामाजिकशास्त्र संकायमा नौ हजार ६ सय १५, कानुन संकायमा एक हजार नौ सय १५, विज्ञान तथा प्रविधि अध्ययन संंस्थानमा ६ हजार एक सय २६ समावेश छन् ।

त्यसैगरी, इन्जिनियरिङ अध्ययन संस्थानमा दुई हजार आठ सय ४४, चिकित्साशास्त्र अध्ययन संस्थानमा एक हजार चार सय ५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा तीन सय ९७ र वनविज्ञान अध्ययन संस्थानमा दुई सय २२ गरी कुल ५६ हजार सात सय १३ विद्यार्थी समावेश छन् ।

सभामा शिक्षामन्त्री पोखरेलले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण उत्पन्न जटिलतालाई सम्बोधन गर्न पाठ्यक्रमलाई प्रविधिसँग जोड्नुपर्ने बताए । उनले शिक्षाको परम्परागत शैलीमा आमूल परिवर्तन गरी घरलाई शिक्षा आर्जन गर्ने स्थानका रूपमा परिणत गर्दै लैजानुपर्ने धारणा राखे । त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन माइक्रोसफ्ट कम्पनीसँग सम्झौता गरी पाँच लाख शिक्षक कर्मचारी तथा विद्यार्थीको इमेल बनाउने अभियानमा जुटेको बताए ।

कोभिडको त्रास रहे पनि भौतिक तथा शैक्षिक सुधारमा विश्वविद्यालय गतिशील रहेको उनको भनाइ थियो । उपकुलपति बास्कोटाले अनलाइन प्रविधिको माध्यमबाटै कक्षा सञ्चालन गर्ने कार्यलाई तीव्रता दिइरहेको बताए ।