मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ असार १६ मंगलबार ०४:१०:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सार्वजनिक संस्थान डुबाऊने प्रयास : नेपाल वायुसेवा निगमको बोर्डमा यती समूहका सञ्चालक नियुक्त 

Read Time : > 6 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असार १६ मंगलबार ०४:१०:००

नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्त फुर्वाग्याल्जेन शेर्पा यती समूहबाट सञ्चालित हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष हुन्, ऋणमा डुब्दै आएको संस्थालाई उद्धार गर्नेभन्दा पनि निगमलाई कसरी कमजोर बनाउने भन्ने षड्यन्त्र हुँदै आएकोमा निगमकै कर्मचारी चिन्तित

तर, पर्यटनमन्त्री योगेश भट्टराईले भने  ‘हामीले नियमसम्मत नियुक्ति गरेका हौँ । जसले चासो दिएर आए, उनीहरूलाई नियुक्त गरियो । तर, अहिले निगममा भएकाभन्दा पनि योग्य मानिस ल्याएका छौँ । हामी बिस्तारै सुधारको पक्षमा जाँदै छौँ । निगमका पनि निजी क्षेत्रको प्रतिनिधि हटाउने पक्षमा नै छौँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनमा संशोधन गरेर निजी क्षेत्रका प्रतिनिधि राख्ने व्यवस्था हटायौँ । तर, निगम ऐनमा एयरलाइन्स सञ्चालकको तर्फबाट सञ्चालक समितिमा राख्नुपर्ने व्यवस्था रहेको छ, त्यसैले सोहीअनुसार उहाँलाई नियुक्त गरेका हौँ । ’ 

...........................

अव्यवस्था र ऋणले थला परेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले यती समूहका व्यक्तिलाई नियुक्त गरेको छ । आन्तरिक रूपमा यती एयर र अन्तर्राष्ट्रिय उडानमा हिमालय एयरको रूपमा प्रतिस्पर्धा गरिरहेको कम्पनीकै प्रतिनिधिलाई नै निगमको बोर्डमा नियुक्त गरेको छ । 

नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्त फुर्वाग्याल्जेन शेर्पा यती समूहबाट सञ्चालित हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष हुन् । शेर्पासँगै सरकारले अर्का व्यवसायी डिमप्रकाश पौडेललाई पनि बोर्डमा लगेको छ । 

ऋणमा डुब्दै आएको संस्थालाई उद्धार गर्नेभन्दा पनि निगमलाई कसरी कमजोर बनाउने भन्ने षड्यन्त्र हुँदै आएकोमा निगमकै कर्मचारी चिन्तित छन् । ‘एउटै क्षेत्रको प्रतिस्पर्धी कम्पनीको सञ्चालकलाई सार्वजनिक संस्थानको सञ्चालक समितिमा राख्नु ठूलो भ्रष्टाचार हो, सरकारको लगानीमा चलेको निगम डुबाउने खेल हो,’ निगमका एक अधिकारीले भने, ‘निगमको साख दाउमा राखेर यतीका प्रतिनिधिलाई बोर्डमा राख्ने खेल हुँदै आएको छ, यसअघि पनि यही सरकारले अल्टिच्युट एयरकै प्रबन्ध–निर्देशक निमानुरु शेर्पालाई बोर्डमा नियुक्त गरेको थियो ।’ यती समूहको आन्तरिकतर्फ यती एयरलाइन्स, तारा एयर र अन्तर्राष्ट्रियतर्फ हिमालय एयरलाइन्स सञ्चालनमा रहेको छ । 

तर, पर्यटनमन्त्री योगेश भट्टराईले भने नियमसम्मत निर्णय भएको भन्दै निगममा भएकाभन्दा योग्य मान्छे नियुक्त गरिएको दाबी गरेका छन् । उनले भने, ‘हामीले नियमसम्मत नियुक्ति गरेका हौँ । जसले चासो दिएर आए, उनीहरूलाई नियुक्त गरियो । तर, अहिले निगममा भएकाभन्दा पनि योग्य मानिस ल्याएका छौँ । हामी बिस्तारै सुधारको पक्षमा जाँदै छौँ । निगमका पनि निजी क्षेत्रको प्रतिनिधि हटाउने पक्षमा नै छौँ ।’ 

मन्त्री भट्टराईले निगममा नियुक्तिको व्यवस्था पनि सुधार गर्ने पक्षमा सरकार रहेको पनि बताए । ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनमा संशोधन गरेर निजी क्षेत्रका प्रतिनिधि राख्ने व्यवस्था हटायौँ । तर, निगम ऐनमा एयरलाइन्स सञ्चालकको तर्फबाट सञ्चालक समितिमा राख्नुपर्ने व्यवस्था रहेको छ, त्यसैले सोहीअनुसार उहाँलाई नियुक्त गरेका हौँ,’ मन्त्री भट्टराईले भने । 

निगमको ऐनमा निजी क्षेत्रको व्यक्ति भनिए पनि मन्त्री भट्टराईले भनेजस्तै एयरलाइन्स सञ्चालकहरूका तर्फबाट प्रतिनिधि राख्ने व्यवस्था छैन । नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ मा निगम सञ्चालक समिति गठनसम्बन्धी व्यवस्था छ ।

‘नेपाल सरकारले आवश्यक देखेमा सञ्चालकमा वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्यातिप्राप्त वा उड्डयन तथा पर्यटन प्रवद्र्धनसम्बन्धी क्षेत्रमा अनुभव प्राप्त गैरसरकारी व्यक्तिलाई पनि नियुक्त गर्न सक्नेछ,’ ऐनमा भनिएको छ । तर, अनुभवी व्यक्ति भनिएकोमा सरकारले प्रतिस्पर्धी कम्पनीका सञ्चालकलाई नै सीधै ल्याएको छ । ‘त्यो त कुनै निजी दैनिक पत्रिकाको सञ्चालकलाई गोरखापत्रको बोर्डमा नियुक्त गरेजस्तै हो,’ निगमका अधिकारीले नयाँ पत्रिकासँग भने ।

तत्कालीन पर्यटनमन्त्री कृपाशुर शेर्पाले निगम सञ्चालक समितिमा रहेका अशोक पोखरेल, अमर माली र टंकनाथ आचार्यलाई हटाएर यती समूहकै लगानीमा सञ्चालनमा रहेको अल्टिच्युड एयरका प्रबन्ध–निर्देशक निमानुरु शेर्पालाई नियुक्त गरेका थिए । तर, पोखरेल, माली र आचार्य सर्वोच्च अदालत गएपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन । पछि तीनैजनाको समय सकिएपछि यती समूहकै लबिङमा निमानुरु शेर्पाले सञ्चालक समितिमा नियुक्ति पाएका थिए । 

अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग चार र हिमालयसँग तीन जहाज छन् । हिमालयले निगमसँग प्रतिस्पर्धा गर्दै १० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । यता अन्तरिक उडानमा निगमका आठवटा जहाज भए पनि कुनै पनि जहाज ठीक हालतमा छैनन् ।

चिनियाँ जहाजमध्ये वाई १२ ई जहाज पहाडी क्षेत्रमा उडान गर्ने गरी ल्याइएको भए पनि यतीकै एजेन्टहरू निगम सञ्चालक समितिमा बसेर उडान ठप्प बनानइदिएको निगमका अधिकारीहरूको गुनासो छ । 

नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा पनि पटक–पटक यती समूहका एजेन्ट नियुक्त हुने गरेका थिए । मन्त्री भट्टराईले ऐन संशोधन गराएर निजी क्षेत्रको प्रतिनिधि हटाउने निर्णय गरेपछि प्राधिकरणको सञ्चालक समितिका सदस्य रहेका हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राजीनामा दिएका थिए ।

तर, निगम सञ्चालक समितिमा भने यती समूहका एजेन्ट रोक्न मन्त्री भट्टराई असफल भएका छन् । 

यती समूहले कब्जा गरेको सगरमाथा निकुञ्जकै जग्गामा होटेल सञ्चालन

सगरमाथा निकुञ्जको जग्गा कब्जा गरेर यती माउन्टेन होमले सञ्चालन गरेको कोङ्दे होटेलको नेतृत्व फुर्वा ग्याल्जेन शेर्पाले गरिरहेका छन् । यती समूहले ०५८ मा तत्कालीन विद्रोही माओवादीले जिल्ला सदरमुकाम आक्रमण गर्दा मारिएका मालपोत अधिकृतको किर्ते हस्ताक्षर गरेर निकुञ्जको ४९ रोपनी जग्गा कब्जा गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दा अहिले पनि सर्वोच्चमा छ ।

निगम ४० अर्ब ऋणमा, चालू वर्ष चार अर्ब घाटामा जाने अनुमान

नेपाल वायुसेवा निगमले न्यारोबडी, वाइडबडी तथा चिनियाँ जहाज किन्दाको कुल ऋण नै ४० अर्बभन्दा बढी पुगेको छ । यो ऋणको किस्ता र ब्याजबापत निगमले पाँच अर्ब रुपैयाँ बुझाउन बाँकी छ । ऋणको किस्ता र ब्याज तिर्न नसक्दा भार थपिँदै गएको छ ।

यस्तो अवस्थामा चुस्त व्यवस्थापनबाट निगमलाई सुधार गर्नुको साटो झन्झन् कमजोर बनाइँदै लगिएको छ । 

गत आर्थिक वर्ष ०७५-७६ मा मात्रै निगम एक अर्ब ९६ करोड रुपैयाँभन्दा बढी घाटामा गएको थियो । चालू आवमा मात्रै निगमको घाटा चार अर्ब रुपैयाँभन्दा धेरै हुने अनुमान छ । नेपाल वायुसेवा निगमले कोभिड– १९ का कारण पाँच अर्ब रुपैयाँ गुमाएको अनुमान छ । 

यता निगमको सञ्चित घाटा बढेर पाँच अर्ब ५३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्ष ०७६-७७ मा भने निगमले अझै योभन्दा बढी नोक्सानी व्यहोर्ने निश्चित छ । 

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट मात्रै ३४ अर्ब ऋण लिएको छ । त्यो ऋणको ब्याज र किस्ता नै पाँच अर्ब रुपैयाँ हाराहारी भइसकेको छ । चालू आवमा तीन अर्ब २२ करोड ४० लाख रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको निगमले गत फागुनसम्ममा ४१ करोड ९३ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा गएको अनुमान गरिएको छ । 

निगमले सञ्चय कोषलाई वाइडबडीको १२ अर्ब र न्यारोबडीको १० अर्बसहित २२ अर्ब रुपैयाँको ब्याज र किस्ता तिर्नुपर्छ  । त्यस्तै, नागरिक लगानी कोषलाई वाइडबडी खरिद गर्दा लिएको १२ अर्ब रुपैयाँ ऋणको ब्याज र किस्ता तिर्नुपर्छ ।

डेढ वर्ष अगाडिदेखि वाइडबडीको पहिलो किस्ता तिर्नुपर्नेमा पाँच किस्ता बाँकी भइसक्दा पनि तिर्न सकेको छैन । जसले गर्दा वाइडबडीको मात्रै चार अर्ब १६ करोड किस्ता बाँकी छ । त्यस्तै न्यारोबडीको ७० करोड रुपैयाँ किस्ता बाँकी छ । 

यसका अतिरिक्त निगमले नेपाल सरकारलाई तीन अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । यो चिनियाँ जहाज किन्दा सरकारसँग लिएको ऋण हो । यसको ब्याज पनि ३५ करोड सात लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरूको वित्तीय विवरणमा उल्लेख छ ।

आशीर्वादमा सरकारी नियुक्ति पाउने यतीका भाग्यमानीहरू

यती समूहले मुलुकको सम्पूर्ण पर्यटन क्षेत्रलाई आफ्नो पन्जामा पार्दैै लगेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था मात्रै होइन, नियमनकारी निकायका उच्च पदमा समेत ‘आफ्ना मान्छे नियुक्त गर्न’ लगाउँदै आफूअनुकूल निर्णय गर्ने गरेको छ 

नेपाल ट्रस्टको जग्गामा नवीकरण गर्ने विषयमा गृहमन्त्रीलाई ट्रस्टको अध्यक्षबाट हटाउने ताकत राख्ने यती समूहले पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणमा पनि उत्तिकै प्रभाव जमाउने गरेको पाइएको छ । आफूअनुकूल निर्णय हुन नगरेमा ती निकायका प्रमुख मात्रै होइन, मन्त्रीसमेतलाई हटाउनेसम्मको चलखेल यती समूहले गर्ने गरेको छ ।

यतीलाई सिचुवान एयरलाइन्सको जिएसए नदिँदा अमात्यको मन्त्री पद गुम्यो

०७३ मा पर्यटनमन्त्री दीपक अमात्यले सिचुवान एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए–टिकटका आधिकारिक विक्रेता) यती समूहलाई दिन चाहेनन् । सोही कारण उनको पद नै गुम्यो । अमात्यका ठाउँमा यती समूहका ‘दाहिने हात’ कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाइएको थियो । 

नेपालमा कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्न अनुमति माग्नेबित्तिकै यती समूहको नजरमा पर्ने गर्छ । यती समूहको लगानीमा रहेको ‘यती इन्सेन्टिभ कम्पनी’मार्फत ‘जनरल सेल्स एजेन्ट’ (जिएसए–टिकटको आधिकारिक विक्रेता) कब्जा गर्दै आएको छ ।

करिब पाँच वर्षअघि तत्कालीन पर्यटनमन्त्री दीपक अमात्यलाई दबाब दिएर सिचुवान एयरलाइन्सको आधिकारिक विक्रेता लिन खोजेको थियो । अमात्यले सोसाइटी ट्राभलका सञ्चालक रवि सिंहलाई सो एयरलाइन्सको जिएसए दिलाउन लबिङ गरे  ।

त्यसपछि अमात्यलाई पर्यटनमन्त्रीबाट हटाइयो र कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाइयो । शेर्पाले प्राधिकरणदेखि निगमसम्म सञ्चालक समितिमा हस्तक्षेप गरेका थिए । 

यती समूहले थाई एयरलाइन्स, कुवेतको वातानीय, मलेसियाको मालिन्दो एयर र भुटानको ड्रुक एयरको जिएसए लिएको छ । इन्सेन्टिभ कम्पनीको जिम्मा भने स्व. आङछिरिङका छोरा नोर्बु शेर्पाले लिँदै आएका छन्  । 

परीक्षण उडानमै हिमालय एयरलाइन्स चढेर प्रधानमन्त्री ओली चीन भ्रमणमा 

०७२ मा पर्यटनमन्त्री आनन्द पोखरेल थिए । सञ्चालक समितिमा यतीनिकट ईश्वरी पौडेल । हिमालय एयरलायन्स अन्तर्राष्ट्रिय उडानको तयारीमा थियो । तर, उसको परीक्षण उडान नै नगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चार्टर्ड गरेर चीन भ्रमणमा गएका थिए । त्यसपछि परीक्षण उडान नै नगरी रातारात प्राधिकरणले हिमालयलाई उडानयोग्य प्रमाणपत्र जारी गरेको थियो । 

प्रधानमन्त्री केपी ओली ०७५ असारमा चीन भ्रमणमा जाँदासमेत यती समूहको लगानी भएको हिमालय एयरलाइन्स प्रयोग गरेका थिए । 

भिजिट नेपाल २०२० का सदस्यसचिव नै यतीका सल्लाहकार 

‘भिजिट नेपाल २०२०’ को सदस्यसचिवका रूपमा पर्यटनमन्त्री योगेश भट्टराईले बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेका थिए । श्रेष्ठ पासाङ ल्हामु प्रतिष्ठानका महासचिव हुन् । श्रेष्ठ लामो समयदेखि यती समूहको सल्लाहकारको भूमिकामा छन् । उनले तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाको सल्लाहकारसमेत भएर कार्य गरेका थिए । तर, हाल सचिवालय नै खारेज भएकाले उनको पद स्वतः गुमेको छ ।

दर्ता खारेज भएको जहाज ब्युँताएर ताराको नाममा हस्तान्तरण 

नेपाल एयरलाइन्सबाट यतीकै भगिनी तारा एयरले भाडामा लिएको एउटा जहाज दुर्घटनाका कारण उडान गर्नै नमिल्ने अवस्थामा पुगेको थियो । कलसाइन ९एन–एबिक्यू भएको ‘डिएचसी ६–३०० ट्विनअटर’ (सिरियल नम्बर ६६५) उडानका क्रममा सन् २०१२ मा डोल्पा विमानस्थलमा दुर्घटनामा परेको थियो ।

प्राधिकरणले पनि अब उडाउन नमिल्ने भन्दै दर्ता किताबबाटै जहाज हटाएको थियो । तर, तत्कालीन महानिर्देशक रतिशचन्द्रलाल सुमन (अहिले यतीका कर्मचारी) को मिलेमतोमा उक्त जहाजको दर्ता किताब सच्याइयो र तारा एयरको नाममा पुनः दर्ता गरियो । ताराले प्राधिकरणमा नयाँ दर्ता गर्दा ९एन–एबिक्यूको साटो ९ एन–एकेएम राखेको थियो ।

यो काण्ड हवाई इतिहासमा सबैभन्दा ठूलो अनियमितता हो । त्यस समयमा प्राधिकरणमा सञ्चालक समितिमा एयर डाइनास्टी एयरका प्रबन्ध–निर्देशक पवित्र कार्की थिए । डाइनास्टीमा यतीको बहुमत सेयर छ । पछि ताराले उक्त जहाजलाई ३५ लाख डलरमा बिक्री ग¥यो ।