१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १५ सोमबार २१:४०:००
Read Time : > 1 मिनेट
खेलकुद

दोस्रो विश्वयुद्धपछि विम्बल्डन पहिलो पटक रद्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १५ सोमबार २१:४०:००

 ग्रान्डस्लाम इतिहासमा लन्डनमा आयोजना हुने विम्बल्डन टेनिस प्रतियोगिता महत्वपूर्ण रूपमा लिने गरिन्छ । जसरी लर्डस मैदानलाई क्रिकेटको मक्का भनिन्छ । लन्डनको सेन्टर कोर्टमा हुने विम्बल्डन पनि टेनिस जगतकै मक्का हो । तर, यो वर्ष प्रतिष्ठित र रेकर्डले भरिएको विम्बल्डन ग्रान्डस्लाम नहुने भएको छ । ७५ वर्षपछि विम्बल्डन पहिलोपटक आयोजनाबाट वञ्चित भएको हो । 

कोरोना भाइरस महामारीका रूपमा नफैलिएको भए आजकै दिन (जुन २९ ) मा यो प्रतियोगितामा सयौँ खेलाडी प्रतिस्पर्धा गरिरहेका हुन्थे । तर, कोभिड–१९ ले गर्दा वर्षको तेस्रो ग्रान्डस्लाम भनिने विम्बल्डन रद्द नै भयो । यसअघि दोस्रो विश्वयुद्धताका यो प्रतियोगिता रद्द गरिएको थियो । हुन त १ अप्रिलमै विम्बल्डन निर्धारित समयमा नहुने घोषणा भएको थियो ।

तर, समर्थक र टेनिस खेलाडीले जुनसम्म कोभिड– १९ नियन्त्रणमा आउने विश्वास लिएका थिए । उनीहरूको आशा यर्थाथमा परिणत भएन । विम्बल्डन प्रतियोगिता विशेषत घाँसेमैदानमा हुन्छ । अब यस प्रकृतिमा खेलिने टेनिस प्रतियोगिता अर्को वर्षको २८ जुनमा हुने अल इंग्ल्यान्ड टेनिस महासंघले जनाएको छ । यता ब्रिटिस मिडियाहरूले विम्बल्डन रद्द हुँदा आयोजकले धेरै घाटा व्यहोरेको दाबी गरेका छन् । 

मिडियाका अनुसार आयोजकले यस वर्ष २४ सय करोड रुपैयाँ नोक्सानी व्यहाेर्न बाध्य भएको छ । आयोजकले प्रतियोगिताको बिमा गरेका कारण नाै सय ५० करोड रुपैयाँ प्राप्त गर्ने सक्छ । यद्यपि अझै पनि आयोजकले १४ सय ५० करोड रुपैयाँ नोक्सानी पर्ने देखिन्छ । सन् २००३ मा अल इंग्ल्यान्ड टेनिस महासंघले विम्बल्डन प्रतियोगिताको बिमा गरेको थियो । भविष्यमा केही दुर्घटना हुँदा यसै बिमामा आयोजकले रकम लिने गर्छ । 

सन् १८७७ मा विम्बल्डन पहिलोपटक आयोजना भएको थियो । त्यसवेला प्रतियोगिताको नाम रोयल टेनिस च्याम्पियनसिप राखिएको थियो । पहिलो विश्वयुद्धका कारण यो प्रतियोगिता सन् १९१५ र १९१८ मा हुन सकेन । पुरुषतर्फ स्विटजरल्यान्डका रोजर फेडेररले सर्वाधिक आठपटक उपाधि जितेका छन् । 

त्यसपछि अमेरिकाका विलियम क्रेन्सो र अमेरिकाकै पिट सम्प्रासले समान सातपटक उपाधि उचालेका छन् । यता महिलामा अमेरिकन खेलाडी मार्टिना नभ्रातिलोभाले नाै तथा अमेरिकाकै विल्स मुडीले आठपटक विम्बल्डनको ट्रफी चुमे ।