मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार १५ सोमबार २०:५१:००
Read Time : < 1 मिनेट
समाचार

पतिले घर निकाला गरेपछि महिलाको बिचल्ली, न्याय माग्दै सदरमुकाम पुगिन् 

Read Time : < 1 मिनेट
२०७७ असार १५ सोमबार २०:५१:००

दुई वर्षअघि पतिले घरबाट निकालेपछि बिचल्लीमा परेकी बनगाड कुपिण्डे नगरपालिका–५ की २१ वर्षीया जमुना राना न्यायका लागि सदरमुकाम खलंगा पुगेकी छिन् । नगरपालिकाको न्यायिक समिति, प्रहरी चौकी, गाउँघरका भद्रभलादमीसँग न्यायको लागि पहल गरिदिन गुहार माग्दासमेत न्याय नपाएपछि उनी सदरमुकाम पुगेकी हुन् ।

पीडितका अनुसार २४ वर्षीय पति लोकेन्द्र रावत, जेठाजु, जेठानी र ससुराले घरमा बस्न नदिएर कुटपिट गरी घर निकाला गरेपछि दुई वर्षदेखि छिमेकीको घरमा बस्दै आएकी थिइन् । सँगै बस्ने अवस्था नभए पनि पीडितले १९ कात्तिकमा जिल्ला अदालत सल्यानमा अंशसहित सम्बन्धविच्छेद मुद्दा दर्तासमेत गराएको बताइन् । 

मुद्दा हालेपछि छिमेकीको पनि बास दिएनन्
अदालतमा मुद्दा परेपछि छिमेकीको घरमा पनि बस्न नदिएको र आफैँले उब्जाएको अन्नपात पनि खोसेर लगेको उनले बताइन् । ‘मुद्दा हालेपछि छिमेकबाट पनि निकाले र अन्नपात पनि लगे,’ उनले भनिन्, ‘त्यसपछि नगरपालिकाको न्यायिक समितिमा ३ असारमा उजुरी दिएको छु ।’ पीडितले न्यायिक समितिमा उजुरी दिएपछि दुवै पक्षलाई बोलाई फेरि यस्तो घटना नदोहोरिने भन्दै मेलमिलापमा घर फर्काइएको न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख मन्जु यरीले जानकारी दिइन् । 

मानव अधिकारकर्मीद्वारा न्यायका लागि पहल
न्यायका लागि सदरमुकाम पुगेकी पीडितलाई इन्सेकले आवासको व्यवस्थापन गरिदिएको छ । इन्सेकको पहलमा १४ असारमा जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको छ ।

उनको पछिल्लो अवस्थाबारे जानकारी पाएपछि वनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार पुनले अदालती प्रक्रियामा मुद्दा गइसकेकाले सोहीअनुसार न्याय दिलाउन सहयोग गर्ने बताए । पीडितको संरक्षण र कानुनी परामर्श गरिदिन नगरप्रमुख पुनले इन्सेकलगायत अधिकारवादी निकायमा आग्रह गरेको बताए ।