मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १५ सोमबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार १५ सोमबार १८:५५:००

रुपन्देहीमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार दिउँसो सैनामैना नगरपालिका– ८ शान्तिटोलस्थित पूर्व–पश्चिम राजमार्गमा कार र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।  

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खडकबहादुर खत्रीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.२च ८५२९ नम्बरको कार र  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु.५२ प ६२२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मोटरसाइकलचालक प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान सन्तोष परियार र मोटरसाइकलमा पछाडि बसेका उनकै बुबा टेकबहादुर परियारको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार कपिलवस्तु शिवराज नगरपालिका– ५ का भिउबहादुर रोकामगरको खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  उपचार भइरहेको छ । कारमा भएका चारजनामध्ये तीनजनालाई केही नभएको प्रहरीले जनाएको छ । 

छतबाट खस्दा बालकको मृत्यु
लुम्बिनी सांस्कृतिक नगरपालिका– १ शिवलहवा बस्ने ओमप्रकाश यादवको चार वर्षीय छोरा अजय यादवको घरको छतबाट खस्दा मृत्यु भएको छ ।  खेल्ने क्रममा घरको एक तलामाथिबाट खस्दा घाइते भई उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा उनकाे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।