मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १५ सोमबार १५:१५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

अग्रमोर्चामा खटिएका सुदूरपश्चिमका १५ स्वास्थ्यकर्मी, जो आफैँ संक्रमित भए

Read Time : > 1 मिनेट
२०७७ असार १५ सोमबार १५:१५:००

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित परासन स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिसटेन्ट कोरोना संक्रमण रोकथामसम्बन्धी कार्यशालामा सहभागी हुन गत २० जेठको दिउँसो धनगढी जाँदै गर्दा बाटाेमै आफू कोरोना संक्रमित भएको सूचना फोनबाट पाए । 

संक्रमित भएको खबर पाएपछि उनी निकै आत्तिए । ‘कोरोनाले विश्व नै आक्रान्त बनेकाले आफू संक्रमित भएको खबरले सुरुमा आत्तिएँ,’ उनले भने, ‘घुमेर होइन, सेवा गर्दागर्दै संक्रमित भएको हुँ, सेवामा समर्पित भएर मृत्यु हुनु झन् गौरवपूर्ण कुरा हो भनेर मन बलियो बनाएँ ।’ 

खबर पाएलगत्तै उनी सीधै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा पुगे । आइसोलेसनमा रहँदा पनि कोरोना संक्रमणले विश्वमा भएको मानवीय क्षतिका समाचारले उनको मनमा कताकता डर पैदा हुन्थ्यो । 

‘कोरोना लाग्दैमा आत्तिनुपर्ने रहेनछ,’ उनी भन्छन् । लकडाउनयता उनी नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेका र सीमा क्षेत्रबाट भित्रिएकाहरूको स्वास्थ्य जाँचमा निरन्तर खटिएका थिए ।

१४ दिनपछि उनी कोरोना जितेर घर फर्किएका छन् । होम क्वारेन्टाइनको थप १४ दिनको अवधि शनिबार पूरा गरेका उनले आफू आइतबारबाट काममा फर्केको बताए । उनी कोरोना संक्रमण देखिएका प्रदेशको पहिलो स्वास्थ्यकर्मी हुन् ।

कञ्चनपुरकै लालझाडी गाउँपालिका– २, शंकरपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिसटेन्ट चैत अन्तिम साताबाट क्वारेन्टाइनमा बसेकाहरूकाे ज्वरो नाप्ने, आरडिटी जाँच्ने र कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने कार्यमा खटिए । संक्रमितको सम्पर्कमा आएकाले उनले आफ्नो पनि पिसिआर जाँच गराए । स्वाब लिएको आठ दिनपछि ३१ जेठमा उनीसहित १८ जनामा संक्रमण पाजेटिभ भएको रिपोर्ट आयो ।

संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमै बसेका उनको १० असारमा दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । उनले भने, ‘कतिवेला संक्रमण सर्‍यो पत्तै भएन ।’ 

कोरोना संक्रमण देखिएका पुनर्वास नगरपालिकाको त्रिभुवन स्वास्थ्य चौकीका ल्याब इन्चार्ज र सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा कार्यरत स्टाफ नर्स पनि अहिले उपचारपछि निको भएर घर फर्केका छन् । 

असार सुरु भएयता कोरोना संक्रमण तीव्र बन्दै गएको सुदूरपश्चिममा हालसम्म १५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयहरूका अनुसार तीमध्ये चारजना निको भएर घर फर्केका छन् भने अन्य उपचारको क्रममा छन् । संक्रमित देखिएका सबैजसो स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्य जाँच, उपचार र नमुना संकलन कार्यमा खटिनेहरू रहेका प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख एवं कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।

सबैभन्दा बढी बाजुरामा सातजनामा संक्रमण देखिएको छ । यस्तै कञ्चनपुरमा पाँचजना, कैलालीमा दुईजना र डडेल्धुरामा एकजनामा संक्रमण देखिएको कार्कीले जानकारी दिए । कतिपय ठाउँमा स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्रीको अभावमा जोखिम मोलेर काम गरिरहेका छन् । स्वास्थ्य सामग्री लगाउने, फुकाल्ने सही तरिका अपनाउन नसक्दा पनि संक्रमणको जोखिम हुन सक्ने कार्कीले बताए ।

सुरुमा स्वास्थ्य सामग्रीको अभाव रहे पनि अहिले त्यो अवस्था नरहेको उनले बताए । सुदूरपश्चिममा शनिबारसम्म दुई हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।