मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १५ सोमबार १४:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चीनसँग हुँदै नभएको सीमा–विवादको प्रतिवेदन बनाउनेहरू पत्ता लगाई कारबाही गर्छाैँ : परराष्ट्रमन्त्री ज्ञवाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १५ सोमबार १४:०६:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् । 

सोमबार राष्ट्रिय सभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा–विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् । 

उनले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याइने बताए । 

भारतसँग सीमा–विवादका कारण पश्चिमको त्रिदेशीय सीमास्तम्भ कायम नभएकोबाहेक चीनसँग कुनै पनि ठाउँमा सीमा समस्या नभएको उनले बताए । 

उनले भने, ‘कसरी प्रायोजित ढंगले समाचारहरू आए ? दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्युजहरू कसरी कुन कारखानाबाट आए ? कसरी सर्कुलेट भए ? भन्ने कुराहरू गम्भीर रूपमा लिएका छौँ । त्यो तथाकथित प्रतिवेदन कहाँ उत्पादन भयो भन्ने कुराको खोजी गरिरहेका छौँ । तथाकथित स्रोतसँग सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउनेछौँ ।’

भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुवै देशबीच बनेको उनले जानकारी दिए । 

सन् २००६ भन्दा अगाडि ५७ र ६२ सीमास्तम्भ हराए पनि त्यसपछि भएको संयुक्त निरीक्षणका क्रममा फेला परेको उनले बताए । 

मन्त्री ज्ञवालीले गोरखाका रुई गाउँमा चीनले अतिक्रमण गरेको भन्ने विषयमा पनि स्पष्टीकरण दिएका छन् । सांसद प्रमिला कुमारीले रुई गाउँ नेपालको भएको प्रमाणित हुने दस्तावेज नेपालसँग भए पनि चीनले दाबी गरिरहेको विषय के हो ? भन्दै प्रश्न गरेकी थिइन् । 

त्यसको जवाफमा मन्त्री ज्ञवालीले सीमांकन हुनुभन्दा अगाडिको समयमा नै सानागाउँ र रुईगाउँका स्थानीयले लेकबेंसी गर्ने गरेको उल्लेख गर्दै सीमांकन भएपछि स्थानीयको स्वेच्छाले नै रुईगाउँका बासिन्दा चीनतिर गएको बताए । 

उनले भने, ‘सानागाउँ र रुईगाउँमा परम्परादेखि नै औपचारिक सीमांकन भएको अवस्थासम्म लेकबेंसी भनेजस्तो खर्क बसाउने चलन थियो । सीमा छुट्याउने कुरा भएपछि सीमास्तम्भ निर्माण गरेपछि त्यतिवेला एक सय १० घरपरिवारलाई तपाईंहरू कतातिर रहने हो भनेपछि ६० ले उतातिर रुई (चीनतिर) र ४० यता (नेपाल) सामागाउँ तिर रहनेगरी बसोबास रोजे । पहिलेदेखि रहेका कागजातहरू कायमै रहे पनि त्यसले ठूलो कानुनी झमेला भएन्  । जबर्जस्ती कतैबाट अतिक्रमण भएको प्रश्न होइन । स्वेच्छाले सीमा तोकेपछि कतातिर बस्ने भनिएको हो ।’

अहिले सगरमाथाको उचाइ घोषणा गर्ने तयारी नेपालले गरिरहँदा चीनले पनि नापेकोले दुवै देशबीच कुराकानी भइरहेको उनले बताए । 

मन्त्री ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या कूटनीतिक वार्ताबाट नै समाधान हुने पनि बताए । 

भारतसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै उनले वार्ताका लागि उपयुक्त समयको पर्खाइमा रहेको जानकारी दिए । 

उनले सीमा–विवाद समाधान गरेर मात्रै विश्वासमा आधारित घनिष्ठ सम्बन्ध भारतसँग कायम गर्न सकिने बताए । 

सीमा विवादको विषयले अन्य दुई देशको सामाजिक, आर्थिक सम्बन्धमा असर पार्न नहुने उनको भनाइ थियो ।