मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अजित अधिकारी काठमाडौं
२०७७ असार १५ सोमबार १२:३२:००
Read Time : > 1 मिनेट
अर्थ

सलह नियन्त्रण प्रयास : बागमती प्रदेशले सलह समात्नेलाई प्रतिकिलो ३० रुपैयाँ दिने, विज्ञ भन्छन्– सलह मासुका रूपमा खानयोग्य

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ असार १५ सोमबार १२:३२:००

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह समात्नेलाई प्रतिकिलो ३० रुपैयाँ दिने निर्णय गरेको छ । 

सलह नियन्त्रणका लागि आइतबार मन्त्रालयले सलह समातेर नष्ट गर्न प्रोत्साहन गर्ने उद्देश्यले सलह समातेर ल्याउनेलाई प्रतिकिलो ३० रुपैयाँ दिने निर्णय गरेको हो । 

यसबाट स्थानीयहरू प्रोत्साहित भएर सलह समात्न लागिपर्ने अनुमान मन्त्रालयले गरेकाे छ । 

मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बागमती प्रदेशका आठ जिल्लामा सहल देखिएकाले नियन्त्रणका लागि स्थानीय जनशक्ति परिचालन गर्न प्रोत्साहन रकम दिने निर्णय भएको जानकारी दिए । 

‘सलहको संकलन गर्ने व्यक्ति, समूह, संस्था, निजी क्षेत्रहरूलाई ३० रुपैयाँ प्रतिकिलोको दरले रकम दिने सम्बन्धमा कार्यविधि तयार गर्ने र सो कार्यविधि आर्थिक तथा योजना मन्त्रालयमा सहमति लिने निर्णय भएको छ,’ उनले भने ।

सलह समात्नेलाई पैसा दिने घोषणा गर्ने बागमतीको कृषि मन्त्रालय तेस्रो निकाय हो । 

यसअघि सलह समात्नेलाई प्रदेश ५ ले प्रतिकिलो २० रुपैयाँ र सुदूरपश्चिम प्रदेशले प्रतिकिलो २५ रुपैयाँ दिने घोषणा गरिसकेका छन् ।

शनिबार बिहान नेपाल भित्रिएको सलह सोही दिन साँझबाट सिन्धुली र काभ्रे हुँदै बागमती प्रदेशमा देखिन थालेको थियो । 

सोमबारसम्म बागमती प्रदेशका आठ जिल्लामा सलह फैलिइसकेको छ । 

मन्त्रालयका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका र ललितपुरको बागमती नगरपालिका– ६, महांकालमा आइतबार दिउँसो ३ बजे सलह देखिएको थियो । 

कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख निर्मल गदालका अनुसार दिउँसो ३ बजे देखिए पनि किरा काठमाडौं र ललितपुरमा बसेका छैनन् ।

‘काठमाडौं र ललितपुरको आकाशमा देखिए पनि कतै बसेनन्, काभ्रेतिर गएको अनुमान छ,’ उनले भने । 

त्यस्तै, धादिङको धादिङबेंसीमा सानो संख्यामा सलह देखिएका छन् । 

त्यसैगरी चितवनको खैरहनी, कालिका र भरतपुर महागरपालिकाको दिव्यनगरमा देखिएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, ३, ६, ७ र ८ तथा बकैया गाउँपालिकाको धियाल, मनहरीको लोथरमा सलह किरा पाइएको पुष्टि भएको छ । 

त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका– ८, बागमरा र चियाबारी, रामेछापको मन्थली नगरपालिका– १०, चनखुमा यो किरा पुगेको छ । 

काभ्रेको खानीखोला र बनेपा नगरपालिकामा सानो संख्यामा भेटिएको छ ।

मन्त्रालयका सचिव कार्कीले किसानलाई सलहबाट बालीनाली जोगाउन आग्रह गरेका छन् । 

‘यो सानो संख्यामा आएको छ । त्यसैले खेतका गरामा गएर ठूलो आवाजले म्युजिक बजाउने, थाललगायत भाँडाकुँडा बजाउने गरेर भगाउन सकिन्छ,’ उनले भने, ‘धानको बिउ राखेको ब्याड जोगाउन त्रिपाल, जाली वा प्लास्टिकले छोपेर राख्नु राम्रो हुन्छ ।’ 

प्रदेश सरकारले उच्च सतर्कता अपनाउनका लागि मन्त्रीको संयोजकत्वमा मुख्य संयन्त्र बनाएको र जिल्लास्थित ज्ञान केन्द्र तथा स्थानीय तहको प्रमुखको समेत संयोजनमा संयन्त्र निर्माण गरेर नियन्त्रणको काम अघि बढाएको कार्कीले बताए ।

सलह किरा खानयोग्य : विज्ञ
कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले मासुका लागि सलह किरा उच्च गुणस्तरको पौष्टिकतत्व भएको बताए । 

‘सलह समातेर खानु स्वास्थ्यका लागि निक्कै फाइदाजनक छ । यसको मासु निकै पौष्टिक हुन्छ,’ उनले भने, ‘त्यस्तै कुखुरालगायत पशुपक्षीको दाना बनाउन प्रयोग गरियो भने पनि धेरै फाइदा हुन्छ ।’

पर्सामा आइतबार दिउँसो स्थानीयले भुटेर खाएको जानकारीसमेत आएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

खानयोग्य भएको, समात्दाखेरि कुनै संक्रमणको जोखिम नभएको र जति धेरै सलह किरा समातेर राख्न सकियो, उति नै बाली नाली जोगाउन मद्दत मिल्ने भएकाले नगद प्रोत्साहन दिएर सलह समात्ने अभियान थालएको मन्त्रालयहरूको भनाइ छ ।