मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १५ सोमबार १०:३३:००
Read Time : > 1 मिनेट
समाचार

धनकुटामा पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम सुरु

Read Time : > 1 मिनेट
२०७७ असार १५ सोमबार १०:३३:००

धनकुटामा पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । मुलुकको ५७औँ र प्रदेश १ को ११औँ जिल्लाका रूपमा धनकुटामा स्वास्थ्य बिमा सुरु गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले वडा नं. ७ का ज्येष्ठ नागरिक शंकर दाहाललाई स्वास्थ्य बिमा परिचयपत्र प्रदान गरी सेवा सुरुवात गरेका छन् । जिल्लाभर स्वास्थ्य बिमा दर्ता सेवा सुरु गर्न ६० वटै वडाका बिमा दर्ता सहयोगीहरूलाई तालिम प्रदान गरिएको छ ।

अब तालिमप्राप्त प्रतिनिधिहरू गाउँगाउँमा गएर स्वास्थ्य बिमासम्बन्धी जानकारी गराएर बिमा गराउने अभियान सुरु गर्ने धनकुटा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोजराज भण्डारीले बताए । प्रदेश बिमा बोर्डका प्रतिनिधिहरू आएर धनकुटाका सबै वडाका प्रतिनिधिहरूलाई तालिम प्रदान गरेका छन् । भण्डारीले भने, ‘अब तालिमप्राप्त बिमा दर्ता सहयोगी घरघरमा पुगेर बिमा गराउने काम सुरुरु हुन्छ ।’

स्वास्थ्य बिमा गर्न वार्षिक न्यूनतम तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । त्यसबापत एक परिवारका पाँचजनासम्मको बिमा हुन्छ । बिमा गरेपछि सूचीकृत स्वास्थ्य संस्थाबाट एक लाखसम्मको स्वास्थ्य उपचार पाँचजनाले निःशुल्क पाउँछन् । परिवारका पाँचभन्दा बढी व्यक्तिको बिमा गर्न प्रतिव्यक्ति सात सयका दरले रकम थप्नुपर्छ । जसबापत प्रतिव्यक्ति उपचार पाउने एक लाख रकममा २० हजारका दरले रकम थप हुन्छ । एक परिवारको बिमा गर्ने व्यक्तिकाे संख्या अधिकतम १० तोकिएको छ भने अधिकतम उपचार पाउने रकम दुई लाख कायम गरिएको छ । 

यता ७० वर्षमाथिका ज्येष्ठ नागरिकको बिमा निःशुल्क हुन्छ । अतिविपन्न, अतिअशक्त, अपांग, एचआइभी संक्रमित, बहुऔषधिले काम नगरेका क्षयरोगी र कुष्ठरोगीको पनि निःशुल्क बिमा हुने भएकाले उनीहरूले निःशुल्क बिमा सेवा पाउँछन् । धनकुटामा जिल्ला अस्पतालसहित जितपुर र राजारानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट बिमितले नि:शुल्क उपचार सेवा लिन सक्ने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भण्डारीले बताए ।