मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १५ सोमबार ०६:५६:००
Read Time : > 1 मिनेट
सम्पादकीय

सलहमय असार पन्ध्र

Read Time : > 1 मिनेट
२०७७ असार १५ सोमबार ०६:५६:००

आज असार १५ गते । नेपाली किसानबीच यो दिनको विशेष महत्व रहँदै आएको छ । असार धान रोप्ने मुख्य सिजन हो । जेठको चौथो साताबाट धान रोपाइँ सुरु हुन्छ र साउनको तेस्रो सतासम्ममा लगभग सकिन्छ । तर, सिँचाइ सुविधा भएको र अर्को बाली नभएको खेतको मुख्य रोपाइँ भने असारमै हुन्छ । यसको मध्यदिन अर्थात् १५ गते किसानले रोपाइँलाई रमाइलो बनाउने, वर्षायामका अनेक दुःखका बीच आफ्नो कामलाई नै उत्सवमय बनाउने परम्परा नेपाली किसानले विकास गरेका छन् । असार १५ दहीचिउरादेखि सेलरोटी या अरू मिठा परिकार बनाएर खाँदैँ हिलो खेल्दै र असारे गीत गाउँदै रोपाइँ गर्ने दिन हो । अहिले कृषिपेसा पहिलेजस्तो सम्मानित हुन छाडेको छ। 

यस वर्ष असार १५ मनाइरहँदा देशमा सलहको आक्रमणले किसानलाई त्राहिमाम बनाएको छ । सलहले खेतीबाली, फलफूल र घाँससमेत नष्ट गर्ने भएकाले यसको प्रकोप फैलिँदा अनिकालको खतरा हुन्छ

मानिस धमाधम कृषिबाट बाहिरन चाहँदै छन् । हरेक किसानले आफ्नो पेसाप्रति गर्व गरेर अरूले म डाक्टर, म प्राध्यापक या म वकिल भनेजस्तो म किसान भनेर शिर ठड्याएको देख्न मुस्किलै पर्ने समयमा छौँ हामी । कृषि उत्पादन बढाउन परेको दबाबका कारण किसानलाई प्रोत्साहित गर्न असार १५ लाई सरकारले नै एकप्रकारको किसान दिवस अर्थात् धान–दिवसका रूपमा मनाउँन थालेको छ । यो पर्वले नेपाली किसानलाई अल्पकालका लागि भए पनि आफ्नो पेसाप्रति गर्व गर्ने मौका दिएको छ । किसानको पेसालाई मर्यादित बनाउने भनेको किसानले वर्षभरि दुःख गरेर आयव्ययको हिसाब गर्न बस्दा आनन्दले यस वर्ष यति कमाइएछ भनेर मख्ख पर्ने अवस्था आएपछि हो। 

हाम्रो कृषिमा भने अझै पनि किसानले आफ्नो श्रमकै मूल्य पाउन पनि मुस्किल छ । हाम्रो समग्र कृषि प्रणालीमा रूपान्तरण आवश्यक छ । उत्पादनलाई नाफामुखी बनाउन परम्परागत निर्वाहमुखी प्रणालीबाट बाहिर निस्कने, थोरै जमिनबाट धेरै फलाउने प्रविधि र बिउबिजन प्रयोग गर्ने, सुरक्षित बजार व्यवस्था गर्ने काम हुनु आवश्यक छ । त्यसलाई प्रोत्साहित गर्न भनेर होला सरकारले असार १५ लाई दिवस घोषणा गरेको । तर, यसले मात्रै किसानको अवस्थामा खासै परिवर्तन ल्याउने सम्भावना देखिन्न । यता यस वर्ष भने त्यही दिवस मनाइरहँदा देशमा सलहको आक्रमणले किसानलाई त्राहिमाम बनाएको छ । एकप्रकारको फट्यांग्रा प्रजातिको सलह किरा लाखौँको संख्यामा एकैपटक खेतीबालीमा प्रवेश गरेर खाँदै हिँड्ने गर्छ । यस वर्ष पाकिस्तान र भारतका विभिन्न प्रान्त हुँदै शनिबार बिहानै नेपालको तराईका जिल्लामा प्रवेश गरेको सलहले बाली सखाप पार्ने सम्भावना देखिन्छ। 

शनिबारसम्म यो आठ जिल्लामा फैलिइसकेको थियो । केही महिनापहिले नै सलह आउने सम्भावनाबारे चर्चा भए पनि कृषि मन्त्रालय यस मामिलामा तयार रहेनछ भन्ने कुरा सलह आइसकेपछिका प्रतिक्रियाले देखाउँछ । अब ढिलो नगरी सलहबाट खेती जोगाउन कृषक, स्थानीय तहदेखि संघीय तहसम्मको सरकारका निकाय र विशेषज्ञ सक्रिय हुनु आवश्यक छ । यसका लागि आवश्यक पर्दा संस्थागत रूपमा गाउँ–गाउँमा यतिवेला बन्द रहेका विद्यालयका विद्यार्थी र शिक्षकलाई जम्मा गरेर स्वयंसेवकका रूपमा परिचालन गर्न सके राम्रो हुनेछ । सलहले खेतीबाली, फलफूल र घाँससमेत नष्ट गर्ने भएकाले यसको प्रकोप फैलिँदा अनिकालको खतरा हुन्छ । त्यसैले तत्काल सबै सरोकारवालाको ध्यान यता जाओस्।