मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पाल्पाको तिनाउ गाउँपालिका–२ झयाङ्लाको स्मार्ट कृषि गाउँको मकै बालीमा देखिएको सलह किरा । तस्बिर : रासस
अजित अधिकारी काठमाडौं
२०७७ असार १५ सोमबार ०५:५८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

काठमाडौंदेखि अर्घाखाँचीसम्म पुग्यो सलह किरा, तर नियन्त्रण गर्न सरकारी संयन्त्र उदासीन

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ असार १५ सोमबार ०५:५८:००

खेतीबालीका लागि निकै खतरनाक मानिएको सलह किरा काठमाडौंसहित देशका विभिन्न जिल्ला पुगेका छन् । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवन, काभ्रे, सिन्धुली, रामेछाप, काठमाडौं, ललितपुर, लमजुङ, अर्घाखाँची, दाङ, पाल्पालगायतका जिल्लामा सलह किरा देखिएको जनाएको छ ।

सलह किरा भित्रिनासाथ विषादी छर्केर नष्ट गर्नुपर्नेमा दुई दिन बितिसक्दा पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहले सलह किरा भित्रिएको स्थान र विस्तार हुँदै गएको क्षेत्रफलबारे तथ्यांक मात्र अपडेट गरिहेका छन् । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले सलह नियन्त्रण गर्न सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिए । 

धेरै जिल्लामा सलह देखिएपछि नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन प्रदेशमन्त्री दावा दोर्जे लामाको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गरेको उनले बताए । ‘हामीले स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा अलग अलग कमिटी गठन गरेर यसको तथ्यांक संकलन गर्ने, क्षति पु¥याउन सक्ने विषयमा आकलन गर्ने र क्षति भएको खण्डमा तथ्यांक संकलन गरी आवश्यक कदम चाल्ने गरी संयन्त्र विकास गरेका छौँ,’ उनले भने ।

काठमाडौंको दक्षिणकाली नगरपालिका र ललितपुरको महांकाल गाउँपालिकामा दिउँसो ३ बजे सलह देखिएको थियो । कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख निर्मल गदालका अनुसार दिउँसो ३ बजे देखिए पनि किरा काठमाडौं र ललितपुरमा बसेका छैनन् । ‘काठमाडौं र ललितपुरको आकाशमा देखिए पनि कतै बसेनन्, काभ्रेतिर गएको अनुमान छ,’ उनले भने । त्यस्तै, धादिङको धादिङबेँसीमा सानो संख्यामा सलह किरा देखिएका छन् । चितवनको खैरहनी, कालिका र भरतपुर महागरपालिकाको दिव्यनगरमा देखिएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, ३, ६, ७ र ८ तथा बकैया गाउँपालिकाको धियाल, मनहरीको लोथरमा सलह किरा पसेको पुष्टि भएको छ । त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–८, बागमरा र चियाबारी, रामेछापको मन्थली नगरपालिका–१०, चनखुमा यो किरा पुगेको छ । काभ्रेको खानीखोला र बनेपा नगरपालिकामा सानो संख्यामा भेटिएको छ ।

प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.विमल निर्मलका अनुसार बारा, पर्सा, रौतहट र सर्लाहीमा सलह भेटिएको छ । ‘शनिबार दिउँसो सलह देखिएको थियो, तर आइतबार खासै देखिएको छैन । हामीले नियन्त्रणका लागि कन्ट्रोल रुम खडा गरेका छौँ,’ उनले भने, ‘स्थानीय तहसँग पनि समन्वय गरिरहेका छौँ ।’ शनिबार दिउँसो प्रदेश ५ को रूपन्देहीस्थित भैरहवा र बुटवलमा देखिएको सलह आइतबार साँझसम्म पाल्पा, अर्घाखाँची, दाङ र कपिलवस्तुसम्म पुगेका छन् । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजप्रसाद सुवेदीका अनुसार शनिबार बुटवल र भैरहवामा देखिएका किरा नै पश्चिमतिर सर्दै गएका हुन् । ‘भैरहवा र बुटवलमा आइतबार देखिएका छैनन् । तिनै किरा पश्चिमतिर सर्दै गएको देखिन्छ,’ उनले भने ।

तथ्यांक संकलन रबैठकमै संयन्त्रहरू क्रियाशील

कृषि मन्त्रालय र सलह किरा व्यवस्थापनका लागि गठित समितिले देशभरमा सलह किराको संक्रमण बढ्दै गएको तथ्यांक लिएको छ । समितिका संयोजकसमेत रहेका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका संयोजक सहदेवप्रसाद हुमागाईले शनिबारबाट भित्रिएको किरा बिस्तारै विभिन्न क्षेत्रमा पुग्न थालेको बताए । 

शनिबार बिहान बारा, पर्सा, सर्लाहीमा देखिएको सलह किरा दिउँसो भैरहवा, बुटवल क्षेत्रमा पुगेको थियो । बिहान सानो झुन्डमा आए पनि साँझ भने बाराको कलैया र रूपन्देहीको भैरहवा क्षेत्रबाट ठूलो संख्यामा भित्रिएका थिए । त्यसपछि यी किराहरू सिन्धुलीको भिमान हुँदै चियाबारीसम्म र काभ्रेसम्म शनिबार राति नै आइपुगेका थिए । आइतबार भने रामेछाप, चितवनको भरतपुर नगरपालिका, पाल्पाको दोभानसम्म पुगेको थियो । त्यस्तै, पाँचथर र लमजुङमा समेत किरा प्रवेश गरेको छ ।

मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद भारीले सानो संख्यामा आएको किरालाई नियन्त्रणका लागि किसानलाई सचेतना वृद्धि गर्न थालिएको बताए । ‘अहिले सानो झुन्डमा आएको हो । यसलाई नियन्त्रण गर्न खेतबारीमा ठूलो आवाज बजाउने, बालीहरूलाई त्रिपाल तथा जालीले छोपेर राख्न किसानलाई अनुरोध गरेका छौँ,’ उनले भने, ‘अलि ठूलो संख्यामा भित्रिएको खण्डमा दमकल र ट्यांकरमा विषादी घोलेर स्प्रे योजनामा छौँ ।’

अहिले देखिएका सलह जंगलमा गएर बसेका कारण खासै खतरा नभएको कृषि मन्त्रालयको दाबी छ । यो किरा देखिनासाथ विषादी छरेर मार्नुपर्नेमा ढिला भएको विज्ञहरूले बताएका छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थाप केन्द्रका पूर्वप्रमुख डा.डिल्लीराम शर्माले शनिबार साँझ र आइतबार बिहान किरा वास बसेको ठाउँमा विषादी छर्केर नियन्त्रण गर्नुपर्नेमा ढिलाइ भएको बताए ।  

राजस्थानबाट सलहको ठूलो झुन्ड आउन सक्ने सम्भावना रहेको मन्त्रालयद्वारा गठित समितिका संयोजक सहदेवप्रसाद हुमागाईले बताए । ‘भारतबाट सलहको एउटा ठूलो समूह आउने सम्भावना देखिएको छ । हामीले भारतका विज्ञलाई समेत सम्पर्क गरेर ती किरा आउन नदिने र आइहाले कसरी नियन्त्रण गर्ने भन्नेबारेमा योजना बनाइरहेका छौँ,’ उनले भने । शनिबार बिहान बारामा करिब एक लाखको संख्यामा सलहको झुन्ड देखिएको थियो । अन्यतिर भने १०–२० हजारको संख्यामा आएका छन् । 

धान रोपाइँ सार्न र ब्याड छोप्न कृषि मन्त्रालयको आग्रह

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले सलह किरा देखिएको स्थानका किसानलाई धान रोपाइँ केही पर सार्न आग्रह गरेका छन् । ‘सलह किरा एकै ठाउँमा लामो समय बस्दैन, त्यसैले सलह देखिएको ठाउँमा किसानले रोपाइँ गर्ने तयारी गर्दै हुनुहुन्छ भने तीन–चार दिन सार्नुहोला । सलह किरा गएपछि रोपाइँ गर्दा राम्रो हुन्छ,’ उनले भने । धानको ब्याडलाई त्रिपाल, जाली वा प्लास्टिकले छोपेर राख्न पनि उनले आग्रह गरेका छन् । ‘हरियो बाली सलह किराले एकै क्षणमा नष्ट गर्छन्, त्यसैले ब्याड जोगाउन किसानले छोपेर राख्नु राम्रो हुन्छ,’ उनले भने ।

सलह ल्याए प्रदेश सरकारले प्रतिकिलो २५ रुपैयाँ दिने
धनगढीबाट तेजराज भट्ट
सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह फट्यांग्रा संकलन गरेर ल्याए २५ रुपैयाँ दिने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विनाशकारी सलह संकलन गरेर ल्याए प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय आइतबार गरेको हो । सलह किराको झुन्ड सुदूरपश्चिममा पनि आउन सक्ने भएकाले यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए । सलह किराले गर्ने क्षति कम गर्न पनि यस्तो निर्णय गरिएको उनले बताए । 

कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भएकाले यी चारवटा तहमा क्षति कम गर्न आवश्यक तयारी थालिएको मन्त्रालयले जनाएको छ । सलहको समूह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई आग्रह गरिएको प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए ।