मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १४ आइतबार २०:५०:००
Read Time : > 2 मिनेट
खेलकुद

अमेरिका टी–२० विश्वकप आयोजना गर्न इच्छुक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १४ आइतबार २०:५०:००

गत वर्ष मात्र अमेरिकाले एकदिवसीय मान्यता प्राप्त गरेको थियो । अमेरिकाले चार वर्षका लागि अस्थायी एकदिवसीय मान्यता प्राप्त राष्ट्र घोषित भएसँगै बृहत् प्रतियोगिता आयोजनाको तयारी गरेको छ । एकदिवसीय वा टी–२० क्रिकेट प्रतियोगिता नभएर अमेरिकाले विश्वकप नै आयोजना गर्न इच्छा देखाएको छ । सन् २०२३ को टी–२० विश्वकप प्रतियोगिता आफूले सहज र उत्कृष्ट ढंगले गर्न सक्ने दाबी राखी अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष प्रस्ताव प्रस्तुत गर्ने भएको एसोसिएट प्रेस (एपी) ले जनाएको छ । 

अमेरिकाले सन् १९९८ को फिफा विश्वकप फुटबल उत्कृष्ट रूपमा सञ्चालन गरेको थियो । २२ वर्षअघिको फुटबल विश्वकपमा प्रत्येक्ष रूपमा रंगशालामा तीन करोड ५० लाख दर्शकले खेल हेरेका थिए । फिफा विश्वकपपछि अमेरिकाले खेलकुदका बृहत् प्रतियोगिता आयोजना गर्न सकेको छैन । अहिले अमेरिकामा क्रिकेटको महोल बनिरहेको र यसलाई उच्चतम बिन्दुमा पुऱ्याउने उद्देश्यका साथ नै अमेरिकन क्रिकेट एसोसिएसन टी–२० विश्वकप आयोजना गर्ने हिम्मत गरेको एपीले जनाएको छ । 

एसोसिएसनका प्रमुख अधिकृत इआन हिंगिसले टी–२० विश्वकप अमेरिकामा हुँदा प्रत्येक खेल हाउसफुल हुने दाबी गरेका छन् । इयान भन्छन्, ‘यदि अमेरिकामा विश्वकप भए हामी यो विश्वास दिलाउन चाहन्छौँ कि प्रत्येक खेलका टिकट पूरै बिक्री हुनेछ ।’ यद्यपि अमेरिकामा बास्केटबल, अमेरिकन सकर लिग तथा बक्सिङ चर्चित खेलमा पर्छन् । यी खेलका दर्शकका आफ्नै फरक प्रकृति छन् । 

अमेरिकन मेजर सकर लिगमा समर्थकको उपस्थिति त्यत्तिकै बाक्लो छ । क्रिकेटमा भने त्यति दर्शकको घुइँचो देखिँदैन । तैपनि क्रिकेट एसोसिएसनका प्रमुख इयानले टी–२० विश्वकपमा समर्थकले कसैलाई निराश नपार्ने जनाए । उनी भन्छन्, ‘मलाई विश्वास छ, अन्य खेलमा जस्तै क्रिकेटका समर्थकले समर्थन गर्नेछन् र रंगशाला भरिभराउ हुनेछन् ।’ सन् २०१९ को डिसेम्बरमा अमेरिकाले स्कटल्यान्डलाई हराएपछि एकदिवसीय मान्यता पाएको हो । अबको एक दशकमा अमेरिकाले टेस्ट राष्ट्रको हैसियतमा अन्तर्राष्ट्रिय क्रिकेटमा छाउने अमेरिकाको योजना छ ।

‘अबको लक्ष्य नै टेस्ट मान्यता पाउने हो, यद्यपि एकदिवसीयको हैसियत छोटो समय भए पनि हामी यसको सदुपयोग भरपूर गर्छौँ,’ इयानले भने, ‘त्यो अवसर सदुपयोग गर्दै दश वर्षभित्र अमेरिकालाई टेस्ट मान्यता दिलाउने प्रयास हुनेछ, पक्कै हामी हाम्रो लक्ष्यमा पूरा गर्न सक्षम छौँ ।’ एसोसिएट राष्ट्रबाट आयरल्यान्ड र अफगानिस्तानले छोटो अवधिमै टेस्ट मान्यता प्राप्त गरेको इयान सम्झन्छन् । इयान भन्छन्, ‘मैदानमा प्रदर्शन गरेको आधारमै एसोसिएट राष्ट्रबाट आयरल्यान्ड र अफगानिस्तानले टेस्ट मान्यता पाए, हामीजस्तो एसोसिएट राष्ट्रले यी दुवै टोलीलाई रोल मोडल बनाएका छौँ ।’ 

अमेरिकाले फ्लोरिडामा अहिलेसम्म ६ वटा एकदिवसीय तथा १० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसक्यो । निकट भविष्यमा अमेरिकाले वेस्टइन्डिज र दक्षिण अफ्रिकाविरुद्ध टी–२० सिरिज आयोजनाको तयारी गरेको छ । यद्यपि आइसिसीले यस सिरिजबारे केही निर्णय गरेको छैन । आउँदो चार वर्षभित्रमा अमेरिकाको क्रिकेट स्तर माथि पुग्ने एसोसिएसनका प्रमुख इयानले जनाए । 

उनी भन्छन्, ‘यो चार वर्षको अवधिमा हामीले धेरै सुधार गर्दै अमेरिकाको क्रिकेट स्तरमा पनि व्यापक परिवर्तन ल्याउनुपर्छ ।’ क्रिकेटका भौतिक पूर्वाधार अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याई अमेरिकाले आइसिसीबाट धेरै प्रतियोगिता आयोजना लिन सक्ने इयानले विश्लेषण गरेका छन् । ‘मलाई आशा छ, अमेरिकाले रंगशाला अन्तर्राष्ट्रिय करण गर्नेछ, यसले हामीलाई अन्य बृहत् प्रतियोगिता आयोजना गर्न बल दिनेछ,’ चार वर्षको योजना बताउँदै इयानले भने, ‘यो योजना सफल भए अमेरिकामा टी–२० खेलको बाढी आउनेछ ।’

अमेरिकाले आउँदो वर्षमा ६ वटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनेछ । ‘अहिलेको योजना ६ वटा रंगशाला बनाउने हो, यसले विश्वकप आयोजनाको आधार खडा गर्नेछ,’ इयानले भने, ‘तपाईं कल्पना गर्नुस् सन् २०२३ को टी–२० विश्वकपमा भारत र पाकिस्तानबीच फाइनल खेल कस्तो होला ।’ क्रिकेटकै दिग्गज टोलीबीचको भिडन्त साकार पार्न नै अमेरिकाले गृहकार्य थालेको उनको भनाइ छ ।