मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १४ आइतबार १८:००:००
Read Time : > 1 मिनेट
समाचार

आँखाका बिरामी घटे, खर्च जोगाउन स्वास्थ्यकर्मी, कर्मचारी आलोपालो

Read Time : > 1 मिनेट
२०७७ असार १४ आइतबार १८:००:००

कोरोना महामारीका कारण सार्वजनिक यातायातका साधन नचल्दा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल आउने बिरामी घटेका छन् । बिरामी नआएपछि अस्पतालको प्रमुख आम्दानी घटेको छ । जसका कारण अस्पताल सञ्चालनको खर्च कटौती गर्न कर्मचारी, स्वास्थ्यकर्मीलाई आलोपालो लगाइएको छ ।

अस्पतालका प्रबन्धक अभिषेक रोशनका अनुसार लकडाउनयता तीन महिनामा बहिरंग (ओपिडी) का करिब ३१ प्रतिशत तथा शल्यक्रिया गर्न आउने ३० प्रतिशत बिरामी घटेका छन् । उनले भने, ‘सार्वजनिक यातायातका साधन बन्द हुनुका साथै नेपाल–भारत सीमा बन्द हुँदा बिरामी घटेका हुन् ।’ सन् ०१९ को मार्चदेखि मेसम्ममा यस अस्पतालमा ५५ हजार एक सय ४२ जना बिरामीले बहिरंग विभागमा आँखा जाँच गराएका थिए । लकडाउनक सुरु भएको सन् ०२० को सोही अवधिमा १७ हजार ७२ जनाले मात्र आँखा जाँच गराएको उनले बताए । यस्तै, मोतियाबिन्दु, घाउचोटजस्ता कारणले सन् ०१९ को मार्चदेखि मेसम्म १२ हजार ६ सय ५० जनाको आँखाको शल्यक्रिया गरेको अस्पतालको तथ्यांक छ । सन् ०२० को सोही अवधिमा तीन हजार सात सय ६२ जनाको शल्यक्रिया भएको अस्पतालले जनाएको छ । 

स्वास्थ्यकर्मी र कर्मचारीलाई आलोपालो
भारतसँगको सीमानाका बन्दले भारतीय बिरामी नआउँदा अस्पतालको मुख्य आम्दानीको स्रोत बन्द भएको कर्मचारीहरू बताउँछन् । अस्पतालका अनुसार भारतको आन्ध्रप्रदेश, अरुणाञल, आसाम, छत्तिसगढ, दिल्ली, गुजरात, हरियाणा, हिमाञ्चल, झारखण्ड, कर्णाटक, मध्यप्रदेश, महाराष्ट्र, मेघालय, नागाल्याण्ड, उडिसाका आँखाका उपचारका लागि यस अस्पताल आउँथे । ‘बिरामीमध्ये करिब ७० प्रतिशत भारतीय र बाँकी नेपाली हुन्थे । शुल्कको भरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी तीन सय ७५ जनालाई धानेका थियौँ,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रलाल चौधरी भन्छन्, ‘कोरोनाले भारतीय बिरामीको संख्या घटेपछि आर्थिक रूपमा गम्भीर अवस्था सिर्जना भएको छ ।’

सोही कारण असारअघि साता दिनमा एक दिन पालो पर्नेगरी व्यवस्थापन गरिए पनि १ असारपछि दैनिक आलोपालो गरी स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरेको प्रबन्धक रोशनले उल्लेख गरे । ‘अस्पतालको बिजुली, पानीजस्ता क्षेत्रमा हुने खर्च घटाउन सामान्य अवस्थामा जस्तो विशेषज्ञ विभाग आंशिक रूपमा बन्द गरेका छौँ,’ उनले भने, ‘कन्सल्टेन्ट र विशेषज्ञ चिकित्सकीय सेवा जनरल वार्डमा नै उपलब्ध हुने व्यवस्था मिलाएका छौँ ।’ हरेक आइतबारबाहेक हरेक दिन बिहान ७ देखि सुरु हुने ओपिडी सेवालाई दिउँसो १२ बजेसम्म फर्स्ट ट्रयाक र दैनिक १० देखि ५ बजेसम्म आँखासम्बन्धी जाँच, शल्यक्रिया हुने उनले बताए । 

स्थानीय तीन चौधरी परिवारले सात बिघा १० धुर जग्गा उपलब्ध गराएपछि सन् १९८३ देखि जर्मनीस्थित क्रिष्टोफर ब्लाइन्ड मिसनको सहयोगमा अस्पताल सञ्चालन हुँदै आएको छ ।