१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १४ आइतबार १५:२०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना प्रकोप : विश्वभर एक सय ५८ नेपालीको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १४ आइतबार १५:२०:००

काेराेना संक्रमण (कोभिड– १९) बाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ । त्यसैगरी विदेशमा रहेका २६ हजार दुई सय २७ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ ।
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार सात सय नेपाली संक्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ । 

११ हजारभन्दा बढी स्वदेश फिर्ता

एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ । साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ । 

२३ जेठदेखि १३ असारसम्म विभिन्न राष्ट्रबाट नेपाली स्वदेश फर्किएका हुन् । कुवेतबाट दुई हजार दुईजना, युएईबाट दुई हजार १७ जना, साउदी अरेबियाबाट एक हजार दुई सय १८ जना, मलेसियाबाट नौ सय २१ जना, बगंलादेशबाट आठसय १५ जना, कतारबाट ६ सय ३८ जना, माल्दिभ्सबाट ६ सय चारजना, जापानबाट चार सय ९२ जना, अस्ट्रेलियाबाट दुई सय ६९ जना, बहराइनबाट चार सय २०जना , थाइल्यान्डबाट तीन सय २६ जना, ओमानबाट तीन सय १३ जना, अमेरिकाबाट चार सय ८३ जना, दक्षिण कोरियाबाट दुई सय २८ जना, सिंगापुरबाट एक सय ४६ जना, बेलायत दुई सय २९ जना, हङकङबाट ८९ जना, पाकिस्तान ७२ जना, म्यानमारबाट २६ जना,  अफगानिस्तानबाट १८ जना र श्रीलंकाबाट पाँचजना गरी ११ हजार तीन सय ३१  नेपाली स्वदेश फर्किएकाे संघले जनाएकाे छ ।

गैरआवासीय नेपाली संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । सोही अनुरुप विदेशमा अलपत्रका लागि राहतका विभिन्न कार्य पनि जारी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

८७ वटा शव नेपाल ल्याइयो
विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण रोकिएका ८७ वटा शव नेपालमा ल्याइएको छ । हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ । यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट सात, युएईबाट पाँच, बहराइनबाट तीन र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ । यसबाहेक पनि एक सय २० वटा शव अझै विदेशमै रहेका छन् । जसलाई नेपाल ल्याउन गैरआवासीय नेपाली संघले सरकारको  ध्यानाकर्षण गराउँदै आएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड–१९ का कारण मृत्यु भएको संघले जनाएको छ ।