१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असार १४ आइतबार १०:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्याङ्जामा पहिरोले पुरिएर श्रीमानको मृत्यु, श्रीमती घाइते

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असार १४ आइतबार १०:५०:००

स्याङ्जामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका-९ साङ्लिया बस्ने ४९ वर्षका यमबहादुर विश्वकर्माको आइतबार बिहान पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

माथिबाट आएको पहिरोले घर भत्किँदा उनकी ४२ वर्षीया श्रीमती फूलमाया विश्वकर्मा घाइते भएकी छिन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । चारजना छोराछोरीलाई भने केही नभएको प्रहरीले जनाएको छ । 

कुलोमा एक पुरुष मृत फेला

यसैगरी कुलोमा डुबेको अवस्थामा एक पुरुष मृत भेटिएका छन् । जिल्लाको पुतलीबजार नगरपालिका- १३ चिलाउनेखर्क बस्ने ६९ वर्षीय  कुलबहादुर थापा कुलोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

थापा शनिबार बिहान सुन्तलाको बिरुवा लिन भनी घरबाट हिँडेका थिए । अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरूले खोजतलास गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

खोलाले बगाउँदा एक बेपत्ता

यसैगरी खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । रुपन्देही घर भई स्याङ्जाकाे वालिङ नगरपालिका- ७ केवरेमा आफ्नै भिनाजुसँग बस्दै आएका २३ वर्षका लोकबहादुर थापा शनिबार खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

वालिङ नगरपालिका- ५ मा रहेको लसुने पक्की पुलबाट अचानक खस्न गई खोलाले बगाउँदा लोकबहादुर बेपत्ता भएको उनका भिनाजुले प्रहरीलाई जानकारी गराएका थिए । बेपत्ता युवाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।