मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ असार १४ आइतबार १०:०३:००
Read Time : > 3 मिनेट
नयाँCity

साइकल सिटीको सपना

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ असार १४ आइतबार १०:०३:००

ललितपुर कुपण्डोल–पुल्चोक सडकको दायाँ–बायाँका लेनमा साइकल यात्रीको चित्र कोरिएको देखिन्छ । यिनै हुन् ललितपुर महानगरपालिकाले छुट्याएका साइकल लेन, जसमा अरू सवारीसाधन गुडाउन पाइँदैन । २२ किलोमिटर सडकमा साइकल लेन निर्माण गर्ने महानगरको योजनाको एक हिस्सा हो, यो । ललितपुर महानगरमा साइकल लेन निर्माणमा नेपाल साइकल सोसाइटी परामर्शदाता छ । सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठका अनुसार लकडाउन खुकुलो हुनासाथ मंगलबजार क्षेत्रमा पनि साइकल लेन छुट्याउन थालिएको छ । त्यसपछि पुल्चोक–जावलाखेल–लगनखेल सडकमा अलग्गै लेन तयार पारिनेछ ।

काठमाडौंमा माइतीघर–तीनकुने सडकमा पाँच वर्षअघि नै हो, साइकल लेन छुट्याइएको । ‘तर, आधारभूत मापदण्ड पूरा गर्न नसक्दा प्रयोगमा आएन,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले पुनर्निर्माण गर्न लागिएको छ ।’ त्यसको ‘रि–डिजाइन’मा सोसाइटीले सघाइरहेको छ । त्रिपुरेश्वरदेखि महाराजगन्जसम्म पनि साइकल लेन बनाउने तयारी छ ।

काठमाडौं महानगरको आर्थिक वर्ष ०७७/७८ को बजेटमा सम्भाव्य स्थान पहिचान गरेर साइकल लेन बनाउने उल्लेख छ । ललितपुर महानगरले त गत मंसिरमै हो, साइकल लेन निर्माण थालेको । ललितपुरमा साइकल लेनको लाइन तान्ने र ट्राफिक चिह्न राख्ने काम भइरहेको छ । चितवनमा भरतपुर महानगरपालिकाले १० मिटरभन्दा चौडा सडकमा साइकल लेन निर्माण थालेको छ । पहिलो चरणमा भरतपुर–७ र ९ का दुई सडकमा अढाई किलोमिटर लामो साइकल लेन निर्माणाधीन छ ।

ललितपुर र भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रका फराकिला सडकमा साइकल लेन निर्माण अगाडि बढाएका छन् । काठमाडौं, विराटनगर, वीरगन्ज र पोखरा महानगर पनि साइकल लेन निर्माणको योजनामा छन् ।

विराटनगर, पोखरा र वीरगन्ज महानगर पनि साइकल लेन निर्माणमा सकारात्मक छन् । दुई र चारपांग्रे सवारीसाधन थन्क्याएर महानगरका बासिन्दा साइकलमा हुइँकिएलान् त ? ‘काठमाडौं विगतमा साइकलको सहर थियो । समथर भूभाग भएकाले यहाँ साइकल चलाउन समस्या छैन,’ सोसाइटीका अध्यक्ष श्रेष्ठ भन्छन् । नगर क्षेत्रका साँघुरा सडकमा साइकल लेन छुट्याउनै नसकिनेजस्तो लागे पनि सरकारले सार्वजनिक यातायात र साइकललाई प्रोत्साहन दिने नीति ल्याए असम्भव नरहेको उनको ठम्याइ छ ।     

                                            ..........

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट साइकलमा कार्यालय आउजाउ गर्छन् । त्यहाँका सरकारी अधिकारी, कर्मचारीदेखि नागरिकसम्मको रोजाइमा छ, साइकल । ‘नेदरल्यान्ड्समा साइकल कल्चर नै विकास भएको छ,’ साइकल विक्रेता तथा अभियन्ता टिरेक मानन्धर भन्छन्, ‘नेदरल्यान्डमा नागरिकभन्दा साइकल बढी छन् ।’ उनको भनाइमा डेनमार्क, इंग्ल्यान्ड, अमेरिका, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, फिलिपिन्स र जापान पनि साइकल युगमा फर्किरहेका छन् ।

गत अप्रिलमा बेल्जियमकी यातायातमन्त्री एल्के भान डेन ब्रान्टले देशभरका मुख्य सडकमा साइकल लेन निर्माणमा प्राथमिकता दिइने घोषणा गरिन् । दोस्रो चरणमा साना र मध्यम सहरी सडकमा साइकल लेन बनाउने उनको योजना छ । त्यसलगत्तै राजधानी ब्रसेल्सका सडकमा सरकारी निर्णय कार्यान्वयनमा ल्याइयो । कोभिड–१९ बाट अत्यधिक प्रभावित इटालीका व्यस्त सडकलाई निजी गाडीबाट मुक्त बनाउँदै पैदल र साइकलयात्रीमैत्री बनाउने काम अगाडि बढेको छ । धेरै मुलुकले ‘मास ट्रान्सपोर्ट’को विकल्प साइकललाई बनाउन थालेका छन् । एकसाथ धेरै मानिसले यात्रा गर्दा कोरोना भाइरस प्रसार बढ्ने भएकाले ‘सिंगल’ सवारीमा जोड दिइन थालेको हो । 

                                          .........

मानन्धरका अनुसार पछिल्ला दिनमा विश्वभर विद्युतीय साइकलको बिक्री ६ सय प्रतिशत र गैरविद्युतीयको बिक्री पाँच सय प्रतिशतले बढेको छ । नेपालमा भने साइकल संस्कृति विकासका लागि जनचेतना अभिवृद्धिमा धेरै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘सहरका बासिन्दा साइकल चलाउन अल्छी मान्छन् । उनीहरूलाई साइकल चलाउन सडक खाली भएकै सन्दर्भ जुर्नुपर्छ, या जोर–बिजोर प्रणाली लागू हुनुपर्छ ।’

धेरै मुलुकले ‘मास ट्रान्सपोर्र्ट’को विकल्प साइकललाई बनाउन थालेका छन् । एकसाथ धेरै मानिसले यात्रा गर्दा कोरोना भाइरस प्रसार बढ्ने भएकाले ‘सिंगल’ सवारीमा जोड दिइन थालेको हो ।

साइकल चलाउँदा भौतिक दूरी कायम हुने मात्र नभई शारीरिक व्यायाम पनि हुन्छ । ‘शारीरिक व्यायामले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ,’ सोसाइटीका अध्यक्ष श्रेष्ठ भन्छन् । सरकारले नै साइकल प्रयोगमा प्रोत्साहन गर्ने नीति लिनुपर्ने सहरी योजनाकार किरण जोशी बताउँछन् । ‘सबैजसो मुलुक विद्युतीय गाडी र साइकलतर्फ लम्किरहेका छन्,’ उनी भन्छन्, ‘काठमाडौं उपत्यकाका तीनवटै सहरमा मज्जाले साइकल चलाउन सकिन्छ ।’

चक्रपथको कोटेश्वर–कलंकी खण्डलाई आठ लेन चौडा बनाइयो । तर, सरकारले यो सडकमा साइकल लेन बनाउन आवश्यक ठानेन । ६ लेन चौडा बनाइएको तीनकुने–सूर्यविनायक सडकमा पनि साइकल लेन छुट्याइएन । चार–पाँच किलोमिटरभित्र यात्रा गर्न पनि मानिसले मोटरसाइकल या साना कार चढ्नुपर्ने बाध्यता छ । ठूला सहरमा ट्राफिक जाम र वायु प्रदूषण अत्यधिक बढ्नुको मुख्य कारण पनि यही हो ।

कम खर्चिलो, धुवाँधुलो र कार्बन उत्सर्जन नगर्ने अनि शारीरिक व्यायाम पनि हुने भएकाले दैनिक कामकाजमा साइकल प्रयोग स्वस्थकर हुने सहरी योजनाकार जोशी बताउँछन् । उनको भनाइमा दैनिक कामकाज र मनोरञ्जन गरी साइकल प्रयोगका दुई तरिका छन् । दैनिक कामकाजमा सामान्य र मनोरञ्जनका लागि महँगा साइकल प्रयोग गर्न सकिने उनी बताउँछन् ।

साइकल अभियन्ता मानन्धरका अनुसार साइकलका सातवटा तह हुन्छन् । सहरमा मात्र चलाउन मिल्ने साइकलको मूल्य सात हजारदेखि १७ हजार रुपैयाँसम्म पर्छ । अफरोडमा चलाउन मिल्ने हाइब्रिड साइकल १२ देखि २० हजार रुपैयाँमा पाइन्छ । डाँडाकाँडामा चलाउन मिल्ने ‘क्याजुअल’ साइकलको मूल्य २० हजार रुपैयाँभन्दा माथि पर्छ । एक–अर्को जिल्लामा आउजाउ गर्न सकिने ‘क्रस कन्ट्री’ साइकलको मूल्य ३० हजार रुपैयाँबाट सुरु हुन्छ । यस्तै, ट्रेल साइकलको बजार मूल्य ७० हजार रुपैयाँभन्दा बढी पर्छ । त्यसभन्दा महँगा साइकल ८० हजारभन्दा बढीमा किन्न पाइन्छ । लामो यात्रामा निस्किन सकिने ‘लक्जरियस’ साइकलको मूल्य डेढ लाख रुपैयाँभन्दा बढी पर्छ । नेपालमा सहरी क्षेत्रका बासिन्दामाझ साइकलको तहमा समस्या देखिन्छ । दैनिक कामकाजमा चलाउन पनि महँगा साइकल रोज्ने चलन रहेको मानन्धरको भनाइ छ ।

विदेशतिर साइकल प्रयोग बढाउन ‘वान डे कार फ्री’ नियम ल्याइएको छ । लक्ष्मी बैंकले काठमाडौंमा शुक्रबार कार्यालय आउजाउमा निजी सवारी प्रयोग नगर्ने नीति ल्याएको थियो । अन्य बैंकले पनि त्यसको सिको गर्दै थिए । तर, यो नीति दिगो हुन सकेन । साइकल प्रयोग बढाउन सरकार र कर्पोरेट क्षेत्रले पहल गर्नुपर्ने रत्नराम बताउँछन् । भन्छन्, ‘कर्मचारीले साइकल चढ्न थाले सर्वसाधारणमाझ पनि लहर आउनेछ ।’