मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १४ आइतबार ०८:२५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कसरी जोगिने  चट्याङबाट ?

सन्दर्भ  : प्रस्तावित अन्तर्राष्ट्रिय चट्याङ सुरक्षा दिवस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १४ आइतबार ०८:२५:००

-विपरीत दिशाबाट आएका बादल ठोक्किँदा तिनका अणुबीच हुने घर्षणबाट चट्याङ उत्पन्न हुन्छ । यो विद्युतीय तरंग हो । त्यसबाट विद्युतीय विस्फोटन हुन्छ । बादलबीचमा बग्ने करेन्ट निकै शक्तिशाली हुन्छ । यस्तो करेन्ट तीन हजारदेखि तीन लाख एमपिएससम्मको हुन्छ ।

  • श्रीराम शर्मा अध्यक्ष, चट्याङ तथा वायुमण्डलीय अनुसन्धान केन्द्र

-वर्षायाममा चट्याङमा परेर धेरैको ज्यान जान्छ । गत बिहीबार मात्र सप्तरी र मकवानपुरमा ६ जनाको मृत्यु भयो । नेपालमा भूकम्पपछि ठूलो मानवीय क्षति चट्याङका कारण हुन्छ । गत वर्ष चट्याङ लागेर ८९ जनाको मृत्यु भएको थियो ।

-राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार ०६८ देखि ०७६ सम्म चट्याङका कारण नौ सय २९ जनाको मृत्यु भएको छ । सोही अवधिमा पहिरोबाट नौ सय एक र बाढीबाट सात सय ५५ जनाको ज्यान गयो । चट्याङ तथा वायुमण्डलीय अनुसन्धान केन्द्रका अनुसार ०६८ यता सबैभन्दा बढी ०६९ सालमा चट्याङबाट एक सय ३१ जनाको ज्यान गयो भने दुई सय ३२ जना घाइते भए । ०७५ सालमा ६८ जनाको मृत्यु र करिब चार सयजना घाइते भए ।

-चट्याङबाट पशुधनमा पनि क्षति हुने गरेको छ । गत वर्ष दुईपटकको चट्याङमा रुकुममा चार सय ८० भेडा र लमजुङमा दुई सय २८ भेडा मरेका थिए । नेपालमा मानवीयबाहेक चट्याङबाट हुने अन्य क्षतिको विवरण राख्ने चलन कम छ । तर, बर्सेनि सयौँ संख्यामा घरपालुवा जनावर पनि चट्याङमा परेर मर्ने गर्छन् । 

कसरी जोगिने ?

-नेपालमा मानवीय क्षतिको दोस्रो मुख्य कारक भए पनि चट्याङबाट जोगिन सावधानी अपनाएको पाइँदैन । यसमा जनचेतनाको कमी देखिन्छ । चट्याङका कारण प्रवाह हुने करेन्टबाट जोगिन सके मानवीय क्षति कम गर्न सकिन्छ ।

-पहिलो त चट्याङ प्रतिरोधी घर निर्माण गर्नुपर्छ । घर बनाउँदा छत या छानामा तामाको त्रिशूल वा रड राखेर त्यसलाई जिआई या अल्मुनियमको पाता जोडी जमिनमा पुर्‍याएर गाड्नुपर्छ । जमिनमा पनि तामाको रड या पाता आवश्यक हुन्छ । यस्तो गर्दा चट्याङबाट प्रवाह हुने करेन्ट तारमार्फत जमिनमा पुग्छ र घरमा क्षति हुन पाउँदैन । सहरका घरमा विभिन्न धातु प्रयोग गरिने भएकाले चट्याङको जोखिम कम हुन्छ । गाउँका घरलाई सुरक्षित बनाउन माथिको विधि उपयुक्त छ।

-बादल र जमिनबीच कम दूरी रहेको स्थानमा चट्याङको जोखिम बढी हुन्छ । त्यसैले त्यस्ता स्थानबाट टाढा रहनुपर्छ । चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रूखनजिक बस्नुहुँदैन । समथर वा खुला भूभाग वा धातुको तारबार भएका स्थानबाट पनि टाढा रहनुपर्छ ।

-विद्युतीय तारजडित सामानमा चट्याङ प्रवाह हुने जोखिम बढी रहन्छ । त्यसैले चट्याङको मौसममा त्यस्ता वस्तुलाई टाढा राख्नुपर्छ । वर्षात् भइरहेको समयमा टिभी र तारजडित फोन प्रयोग गर्नुहुँदैन । तारसहितको फोनको तुलनामा मोबाइलमा जोखिम कम हुन्छ । त्यसैले आकस्मिक अवस्थामा ल्यान्डलाइन प्रयोग गर्दै नगरौँ । त्यस्तो अवस्थामा मोबाइल फोन उपयुक्त हुन्छ ।

-छत नभएका सवारीसाधनमा हुनुहुन्छ भने तुरुन्त सुरक्षित स्थानमा जानुपर्छ । चट्याङ परिरहेको समयमा धारा खोलेर बस्नु जोखिमयुक्त हुन्छ । यस्तो समयमा हात धुन वा नुहाउन बाल्टिनमा राखेको पानी प्रयोग गर्नुपर्छ ।