मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १४ आइतबार ०७:३९:००
Read Time : > 1 मिनेट
सम्पादकीय

कोरोना भगाउने जन्तर

Read Time : > 1 मिनेट
२०७७ असार १४ आइतबार ०७:३९:००

नेकपा आफूलाई मार्क्सवादी पार्टी दाबी गर्छ । सत्तारुढ दल र संसद्मा अरू दलका तुलनामा निकै बढी मत भएको पार्टीका रूपमा उसको प्रभाव समाजका सबै तह र तप्कासम्म फैलिनु स्वाभाविक छ । निर्वाचन जितेर सत्ता चलाउने भएपछि यसै पनि मान्छेहरू उसका वरपर झुम्मिएका पनि होलान् । आफ्ना नेताले गरेका काम र बोेलेका कुराप्रति कार्यकर्ता पंक्तिमा मात्र होइन, आमजनतामा पनि एकप्रकारको आस्था र विश्वास हुन्छ । हाम्रो समाज आलोचनात्मक चेतना कम भएको समाज हो । यहाँ भक्तिभाव बढी हुन्छ । यो समाज आफ्ना अग्रजप्रति, मिथकीय पात्रप्रति अथवा शासकप्रति बढी विश्वास गर्ने गर्छ । शक्तिपीठप्रतिको अगाध श्रद्धा बोकेको समाज हो यो । यस्तो प्रभाव राजनीतिमा पनि देखिन्छ । एउटा बिम्ब र संरक्षकको खोजी समाजको एउटा चरित्र रहिआएको छ । 

बेसार प्रकरणको अपार असफलतापछि नेकपाका नेताहरूले अघि सारेको बुटी प्रकरणले समाजलाई थप भक्तिमार्गतिर र अधिनायकवादी बाटोतिर लाने जोखिम छ । आमनागरिक यसप्रति सचेत हुनु जरुरी छ ।

यस्ता नायक आफैंमा गतिलो विचार बोकेका लोकतान्त्रिक संस्कृतिका संवाहक भए भने त्यसले समाजलाई अग्रगमनतिर लान मद्दत गर्छ । लोकतान्त्रिक नेताले समाजको नेतृत्व गरे भने समाज आफैं लोकतान्त्रीकरणको दिशामा जान्छ र यसले लोकतान्त्रिक नेता जन्माउन मद्दत गर्छ । नेकपा र यसका अगुवाहरू भने लोकतान्त्रिक हुनुको साटो अन्धविश्वास र अन्धआस्था फैलाउन, अलोकतान्त्रिक मूल्य र संस्कृति अभ्यास गर्ने अनेक काम गर्दै छन् । यसमार्फत तिनीहरूले समाजलाई नै अन्धविश्वासतिर धकेल्ने जोखिम बढ्दै गएको छ । आफ्नै दलभित्र लोकतान्त्रिक अभ्यासलाई सकेसम्म पन्छाउने र एक्लै हिँड्ने बानी लागेका प्रधानमन्त्री केपी ओली समाजलाई पनि त्यस्तै मूल्य सिकाउँदै छन् । संसद्मा घन्टौँ बेसारको गुनगान गाउने उनले कोरोनाको उपचारमा विज्ञान र स्वास्थ्य संस्थाले पुष्टि नगरेका नुस्खा सिकाउँदै आएका छन् । त्यसैको पछिल्लो कडी बनेको छ– स्थायी समिति बैठकमा निलो कार्ड घाँटीमा भिरेर सहभागी हुने प्रवृत्ति । 

अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालमा मानिसले उक्त कार्डबारे प्रश्न गरिरहेका छन् । यस्तो कार्डमा हुने विशेष प्रकारको रसायन बिस्तारै बाहिर आउने भएकाले त्यस्तो रसायनले कोरोना भाइरसलाई एक मिटर परैबाट नष्ट गर्छ । यस्तो कार्डले कोरोना सर्नबाट रोक्छ भन्ने विश्वास फैलाउन नेकपाका जिम्मेवार नेताहरू लागिपर्नु आश्चर्यजनक छ । कार्डको प्रयोग प्रामाणिक नभएर हल्ला भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी गराए । र, भ्रम नफैलाउन अनुरोध मात्र गरेनन्, कारबाहीको चेतावनी पनि दिए । उनको वक्तव्य सीधै नेकपाको बैठकतिर लक्षित थियो । नेकपाका नेतामा देखिएको यो विचलन नयाँ भने होइन । बरु यो समाजलाई गलत दिशामा लाने आपत्तिजनक कामको दोस्रो भाग हो । 

दुई वर्षअघि काठमाडौंमा होली वाइन प्रकरण चर्चामा थियो । अध्यक्ष ओलीसहितका नेता उक्त प्रकरणमा पनि सामेल थिए । कोरोना विश्वव्यापी रूपमा फैलिएको र समाजलाई भयग्रस्त गरिरहेको महामारी हो । यसको कुनै औषधी पत्ता लागेको छैन । तर, भयग्रस्त मान्छे वैज्ञानिकता पुष्टि गर्नभन्दा हल्लाका पछि लाग्न हतारिन्छ । पार्टीका नेता, सांसद र मन्त्रीले नै यस्तो बुटी लगाउन थालेपछि समाजमा रोक्न खोज्दाखोज्दै व्यापारीले सामान बिक्री गर्छन् र नाफा कुम्ल्याउँछन् । बेसार प्रकरणको अपार असफलतापछि नेकपाका नेताहरूले अघि सारेको बुटी प्रकरणले समाजलाई थप भक्तिमार्गतिर र अधिनायकवादी बाटोतिर लाने जोखिम छ । आमनागरिक यसप्रति सचेत हुनु जरुरी छ ।