१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १३ शनिबार २०:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सीमा समस्याको छलफलमा वामदेवसहित २१ नेता सहभागी, नेकपा बैठक १६ असारसम्म स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १३ शनिबार २०:२१:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको शनिबारको बैठकमा २१ जना नेताले सीमा समस्या र समाधानको एजेन्डामा केन्द्रित रहेर धारणा राखेका छन् ।

उपाध्यक्ष वामदेव  गौतम, सचिवालय सदस्य ईश्वर पोखरेलसहित नेताहरू सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवालीले आफ्ना सुझाब प्रस्तुत गरेका छन् ।

त्यस्तै, नेताहरू नन्दकुमार प्रसाईं, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, शक्ति बस्नेत, घनश्याम भुसाल, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ, डा. पुष्प कँडेल र विष्णुपुकार श्रेष्ठले पनि विचार राखेका छन् ।

बैठकमा सबै नेताहरुले नेपालको नयाँ नक्सा प्रकाशन र संविधान संशोधनको स्वागतयोग्य काम भएकाले राष्ट्रिय एकताको जगमा नेपाली भूमि फिर्ता गर्ने बिन्दुसम्म अघि बढ्न सुझाब दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘सबैजसो नेताहरूले नेपालको सम्पूर्ण भूभाग समेटेको नक्सा प्रकाशित गर्ने, संविधानको अनुसूचीमा राख्न संविधान संशोधन गरेर नेपालको सार्वभौमसत्ता, भौगलिक अखण्डताको रक्षाका सन्दर्भमा ऐतिहासिक पहल गरिएको र त्यो ऐतिहासिक कोसेढुंगा साबित भएकाले त्यसलाई राष्ट्रिय एकताद्वारा भूमि प्राप्त गर्ने बिन्दुसम्म पुऱ्यानुपर्छ भन्ने सबैको जोड रहेको छ,’ बैठकपछि श्रेष्ठले भने ।

नेकपाको बैठक १६ असारमा बस्ने गरी स्थगित भएको छ । आइतबार मदन भण्डारीको जयन्तीका विभिन्न कार्यक्रम र १५ गते धान दिवस भएकाले बैठक दुई दिन स्थगित गरिएको श्रेष्ठले जानकारी दिए । 

बैठकमा केहीबेर उपस्थित भएका प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य स्थिति अनुकूल नभएको जानकारी दिएर बाहिरिएको पनि श्रेष्ठले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।