सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
२०७७ असार १३ शनिबार ०९:२०:००
खेलकुद

जोखिमबीच नेपाली खेलकुद कहिले फर्केला लयमा ?

२०७७ असार १३ शनिबार ०९:२०:००

७ असारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा ब्याडमिन्टनको प्रशिक्षण सुरु भएको छ । कोरोना संक्रमण हुन नदिन हलमा सकेसम्म सुरक्षा सतर्कता अपनाइएको छ । ब्याडमिन्टनका कोरियाली प्रशिक्षक चोइसेउङ लुक लकडाउनअघि नै काठमाडौं उत्रिएका हुन् । तीन महिना उनी पनि लकडाउनमा परे । अहिले उनी आफ्नो र खेलाडीको सुरक्षामा ध्यान दिँदै प्रशिक्षणमा जुटेका छन् । ‘सकेसम्म खेलाडीसँग शारीरिक दूरी कायम गरेको छु । बारम्बार स्यानिटाइजर प्रयोग गर्न लगाउँछु,’ उनी भन्छन्, ‘सम्भव भएसम्म सुरक्षा सावधानी अपनाएको छु ।’

सुरक्षाको पर्याप्त तयारीविना खेल गतिविधि लयमा फर्काउनु घातक कदम हुनेछ । अन्य मुलुकमा आएका परिवर्तनलाई नेपाली खेलकुदले आत्मसात् गर्न सक्नुपर्छ ।

तथापि, खेलाडी र प्रशिक्षकले कभर्ड हलबाहिरको सार्वजनिक शौचालय प्रयोग गर्नुपर्छ । हलमा भौतिक दूरीमा रहँदारहँदै शौचालयबाट संक्रमणमा पर्ने जोखिममा छन्, उनीहरू । ‘कम्तीमा प्रशिक्षणमा सहभागी सबैको पिसिआर परीक्षण गर्न पाए हुन्थ्यो,’ जुनियरतर्फ विश्व वरीयताको सातौँ नम्बरमा रहेका खेलाडी प्रिन्स दाहाल भन्छन् ।

जेठ अन्तिम सातादेखि सरकारले लकडाउन खुकुलो बनाएपछि प्रशिक्षणमार्फत सामान्य खेल गतिविधि सुरु भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पनि खेलाडीको उपस्थिति देखिन थालेको छ । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्कालगायत क्रिकेटर अभ्यासका लागि कीर्तिपुर मैदान धाउन थालेका छन् । भौतिक दूरी मिलाउँदै बल र ब्याटको कनेक्सनमा अभ्यस्त हुने प्रयास गरिरहेका छन्, उनीहरू । तर, यी गतिविधि कोरोना संक्रमणको जोखिमबाट मुक्त छैनन् । र, तत्काल नेपाली खेलकुद लयमा फर्किने छाँट पनि देखिँदैन ।
                                                                                        ..................

कोभिड–१९ महामारीपछि खेल गतिविधिलाई लयमा फर्काउने साना प्रयास मात्र हुन्, यी । नेपाली खेलकुदको केन्द्र त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र राखेप परिसर अझै सुनसान छन् । यहाँ अहिले खेलाडी र खेलकर्मी भेटिँदैनन् । प्रशासनिक काममा आएका कर्मचारी र सेवाग्राही मात्र फाट्टफुट्ट देखिन्छन् । रंगशालाभित्र भने मर्मतसम्भार धमाधम छ । भिआइपी प्याराफिट निर्माण अन्तिम चरणमा छ, मैदान मर्मत पनि निरन्तर छ ।

कोभिड–१९ महामारीपछि खेल गतिविधिलाई लयमा फर्काउने साना प्रयास मात्र सुरु भएका छन् । तत्काल नेपाली खेलकुद लयमा फर्किने छाँट पनि देखिँदैन ।

खेलाडीहरू रंगशाला नपुगेको तीन महिना बित्यो । सामान्य दिन हुन्थ्यो त राखेप परिसरको कभर्ड हलमा बाह्रैमास प्रशिक्षण र प्रतियोगिता भइरहन्थे । सातदोबाटोस्थित कराते र तेक्वान्दोका एकेडेमी हलमा पनि प्रशिक्षण नभएको तीन महिना बित्यो । कोरोना भाइरस संक्रमण रोक्न लागू गरिएको लकडाउनका कारण देशभर खेल गतिविधि ठप्प छ । स्थानीयदेखि राष्ट्रियस्तरका प्रतियोगिता स्थगित छन् ।

मोफसलमा मात्र बर्सेनि करिब दुई करोड बजेटका दुई दर्जन गोल्डकप हुने गर्छन् । फुटबलका राष्ट्रियस्तरका खेलाडी उत्पादनमा यी प्रतियोगिताको राम्रो योगदान छ । नेपाली फुटबलरका लागि यी प्रतियोगिता आर्थिक उपार्जनको राम्रो माध्यम पनि हुन् । केही गोल्डकप चल्दाचल्दै रोकिए, केही सुरु नै हुन पाएनन् ।

यसले खेलाडीलाई ठूलै आर्थिक संकटमा पारेको छ । ‘दसैँ, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा खेलाडीहरू आर्थिक संकटमा धकेलिएका छन्,’ पूर्वफुटबलर कुमार थापा भन्छन् । घरेलु फुटबलमा सबैभन्दा लामो समय लिग खेल्ने कीर्तिमानी खेलाडी हुन्, थापा ।

फुटबलकै जस्तो संकट अन्य खेल र खेलाडीमा पनि देखिन्छ । यस वर्ष नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले खेल्ने तय भएका इन्डियन प्रिमियर लिग (आइपिएल)देखि इंग्ल्यान्डले यसै वर्षदेखि सुरु गर्न लागेको एक सय बलको नयाँ प्रतियोगिता ‘द हन्ड्रेन्ड’ पनि रोकिएका छन्, जसका कारण उनको मात्रै करोडभन्दा बढी आम्दानी गुमेको छ ।
                                                                                      ......................

कोभिड–१९ का कारण रोकिएको खेल गतिविधि सञ्चालनमा ल्याउन जर्मनीले नेतृत्वदायी भूमिका वहन ग¥यो । कोभिड–१९ बाट ठूलो मानवीय क्षति हुनबाट रोक्न सफल जर्मनीले घरेलु बुन्डेसलिगा सुरु गर्ने साहस देखायो । त्यसका लागि खेलको नियममै परिवर्तन गरेको छ । रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन, पाँचजनाभन्दा बढी खेलाडी प्रि–म्याच र अन्य अभ्यासमा एकसाथ सहभागी हुन पाएका छैनन् ।

यो खेल गतिविधि सञ्चालनमा ल्याउनेभन्दा तयारी गर्ने समय हो । अझै महिनादिन पछाडि धकेलियोस्, त्यतिवेलासम्म सुरक्षित ढंगले खेलकुदलाई मैदानमा फर्काउनुपर्छ ।

‘फिजिकल कन्ट्याक्ट’ हुने गरी गोलको खुसी मनाउन पाइँदैन । मैदानमा थुक्ने खेलाडीले सीधै पहेँलो कार्ड पाउनेछन् । सबै खेलाडी र खेलमा संलग्न हुने प्राविधिक र पदाधिकारीलाई कोरोना भाइरस परीक्षण अनिवार्य गरिएको छ । नियमित हात धुने, स्यानिटाइजर प्रयोग गर्नेलगायत व्यवहार परिवर्तनमा जोड दिइएको छ ।

परिवर्तित नियमपछि सुरु भएको खेलबाट बायर्न म्युनिखले उपाधि नै उचालिसकेको छ । जर्मनी र बुन्डेसलिगाको सिको गर्दै सुरु भएको इंग्लिस प्रिमियर लिगमा पनि शुक्रबार बिहानै उपाधिको टुंगो लागेको छ । चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ गोलले पराजित गरेपछि लिभरपुल नयाँ च्याम्पियन बनेको छ । लिभरपुलले ३० वर्षपछि घरेलु लिगको उपाधि जितेको हो । त्यसबाहेक इंग्लिस प्रिमियर र स्पेनिस ला लिगाका बाँकी खेल जारी छन् ।

दर्शकविनाका रंगशालामै इंग्ल्यान्ड र स्पेनका लिग खेल जारी छन् । लामो समय घरमै थन्किएका खेलाडीले खेल्न र आफूलाई निखार्न पाएका छन् । टेलिभिजनबाटै सही, दर्शकले पनि खेलको मज्जा लिइरहेका छन् ।

अन्य खेललाई पनि फुटबलको जस्तै नियम परिवर्तन गरेर लयमा फर्काउने प्रयास नभएको होइन । क्रिकेट खेलाडीले बलमा थुक लगाउन नपाउने नियम आएको छ । फुटबलमा सब्स्टिच्युट खेलाडीको संख्या बढाएर तीनबाट पाँच पुर्‍याइएको छ । मैदानमा हात मिलाउन र अंकमाल गर्न निषेध गरिएको छ । बक्सिङमा खेलाडी स्वयंले मास्क खोल्न पाउँदैनन् । प्रतिस्पर्धा हुनु २४ घन्टाअघि नै खेलाडी, प्रशिक्षक र रेफ्रीको कोभिड–१९ परीक्षण हुनेछ, नतिजा नआउँदासम्म सबैले सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ । एथलेटिक्समा विशेष प्रकारको मास्क र ग्लास लगाउने नियम आएको छ । टेनिसमा प्रयोग हुने बल पनि स्यानिटाइज गर्नुपर्नेछ । र, यी सबै परिवर्तन महामारीले निम्त्याएका बाध्यता हुन् ।

                                                                                      .......................

नेपाली खेल क्षेत्रले यी परिवर्तन आत्मसात् गर्न सक्नुपर्ने पूर्वफुटबलर थापा बताउँछन् । भन्छन्, ‘सुरक्षाको पर्याप्त तयारीविना खेल गतिविधि लयमा फर्काउन खोज्नु घातक कदम हुनेछ ।’ तथापि, नेपाली खेलकुदले यी परिवर्तन आत्मसात् गर्दै मैदानमा फर्किने तयारीमा लाग्नुपर्नेमा उनको जोड छ ।

‘खेलकुद लयमा फर्किएका युरोप र अन्य क्षेत्रको भन्दा नेपालको अवस्था गम्भीर बन्दै गएको छ,’ युरोपेली फुटबल महासंघ (युइएफए)को छात्रवृत्तिमा व्यवस्थापनको तीनवर्षे कोर्स गरेर फर्केका उनी भन्छन्, ‘यो खेल गतिविधि सञ्चालनमा ल्याउनेभन्दा तयारी गर्ने समय हो ।’ 

पूर्वतयारीस्वरूप विज्ञसँग परामर्श गर्ने दायित्व खेलकुद मन्त्रालय र राखेपको भएको उनी बताउँछन् । त्यसपछि प्रतिनिधि निकायले जारी गर्ने निर्देशिका सबै खेल संघ र खेलकर्मीले पालना गर्नुपर्ने उनको सुझाब छ ।

‘हामीले हतार गर्ने अवस्था छैन । अझै महिनादिन पछाडि धकेलियोस्, तर त्यतिवेलासम्म सुरक्षित ढंगले खेलकुदलाई मैदानमा फर्काउनुपर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि सम्बन्धित संघले खेलाडीको परीक्षणलगायत सुरक्षाका उपायमा आफूलाई केन्द्रित गर्नुपर्छ ।’ संकटबाट बच्न खेलाडी, पदाधिकारी, प्रशिक्षक सबै सचेत रहनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘विधा मिल्ने सीमित खेलाडीलाई बिहान, दिउँसो र साँझ छुट्टाछुट्टै समय निर्धारण गरेर प्रशिक्षण गराउन सकिन्छ । त्यसबाट संक्रमणको जोखिम कम हुनेछ ।’

छुटाउनुभयो की ?