सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
२०७७ असार १३ शनिबार ०६:३४:००
खेलकुद

उपाधि उचाल्न ३० वर्ष

२०७७ असार १३ शनिबार ०६:३४:००

सन् २०१५ अक्टोबर ८ को दिन पहिलोपटक लिभरपुलको घरेलु मैदान एन्डफिल्डमा जर्मन प्रशिक्षक जर्गेन क्लोपसँग समर्थक र मिडियाले प्रश्न राखेका थिए, ‘के तपाईं लिभरपुललाई इंग्लिस प्रिमियरसिप (इपिएल) उपाधि दिलाउन सक्नुहुन्छ ?’ नवनियुक्त प्रशिक्षक क्लोपले हाँस्दै भने, ‘हामी सबै एक हुनुपर्छ र उपाधि उचालेको सपना देख्नुपर्छ, कहिल्यै पनि हिम्मत हार्नुहुन्न ।’ 

पक्कै पनि समर्थक तथा मिडियाले क्लोपसामु प्रश्न तेस्र्याउनु स्वाभाविक नै थियो । क्लोपको आगमनको समयमा लिभरपुलले इपिएल उपाधि नउचालेको २५ वर्ष भइसकेको थियो । विशेषतः समर्थक र क्लब वर्षौंदेखि उपाधिविहीन हुँदा निराश बनेका थिए । जब एन्डफिल्डमा नयाँ प्रशिक्षक आउँछन्, त्यसवेला समर्थक उपाधि जितेको सपना बुन्न थाल्छन् । १९९०–२०१४ सम्म नियुक्त भएका प्रशिक्षकहरूले इपिएल उपाधि दिलाउन सकेनन् । 

यद्यपि, यो समयमा लिभरपुलले युरोपकै प्रतिष्ठित युरोपियन च्याम्पियन्स लिग नजितेको भने होइन । तर, समर्थकको भित्री इच्छा नै कम्तीमा इपिएल च्याम्पियन हुन पाओस् भन्ने थियो । यसै महत्वाकांक्षी सपना उनीहरूले वर्षौंदेखि देखेका थिए । नयाँ प्रशिक्षक आउँदा उनीहरूको मन फुरुंग हुन्छ । तर, नतिजा पुरानै देख्दा उनीहरू प्रत्येक वर्ष दुःखी बन्छन् । 

लिभरपुलमा आउनुअघि क्लोपले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई दुईपटक उपाधि दिलाउन सफल भए । जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखको एकाधिकार क्लोपले नै तोडे । क्लोपले बायर्नबाट दुईपटक उपाधि खोस्दा कसैले विश्वास गरेका थिएनन् । यी जादुगरी प्रशिक्षकले आफ्नो नेतृत्वमा डर्टमुन्डका खेलाडीलाई उपाधि जित्ने सपना देखाए । नभन्दै उनले सपना साकार पनि पारे । 

क्लोपले जर्मन क्लब छाडी लिभरपुलसँग आबद्ध हुँदा एउटै मात्र कुरा भनेका थिए, ‘म नयाँ स्थानमा जाँदै छु, त्यहाँ केही छाप छाड्नुपर्छ ।’ सम्भवतः क्लोप पनि लिभरपुल छोड्दा उपाधि जित्न नसकेका प्रशिक्षकको दाग लाग्छ भनी डराएको हुनुपर्छ । यसै कारण उनले सबै एक हुनुपर्ने बताए । यही आत्मविश्वासका कारण नै आज लिभरपुलले ठीक ३० वर्षपछि इंग्लिस प्रिमियरसिप लिग उपाधि जितेको छ । 

एन्डफिल्डका समर्थकले यो सपना ११ हजार १६औँ दिनमा पूरा गरेका छन् । लिभरपुलले सात खेलअगाडि नै १९औँ पटक उपाधि जितेको हो । बिहीबार राति स्टामफोर्ड ब्रिजमा साबिक विजेता म्यानचेस्टर सिटी चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो । लिभरपुलले शीर्ष स्थानमा स्पष्ट २३ अंकको अग्रता लिएको छ । अहिले लिभरपुलले ८६ र म्यानचेस्टर सिटीले ६३ अंक जोडेका छन् । 

चेल्सीले सिटीलाई हराएपछि एन्डफिल्ड र स्टामफोर्ड ब्रिजअगाडि हजारौँ दर्शकले जितको खुसीयाली मनाएका थिए । समर्थक भन्दै थिए, ‘हामी कहिल्यै एक्लै हिँड्दैनौँ ।’ यसमा साथ दिइरहेका थिए, क्लबका च्याम्पियन खेलाडीहरू । लिभरपुल १९औँ पटक इपिएल च्याम्पियन बन्दा उनै जर्मन प्रशिक्षक क्लोपलाई मुख्य श्रेय दिइएको छ । उनको आगमन भएको पाँच वर्षमै एन्डफिल्ड मैदानमा इपिएलको ट्रफी ठड्याउने अवसर पाएको हो । 

११ सय ४९ खेल
इंग्लिस प्रिमियर लिगमा सन् १९७० देखि ९० सम्म दबदबा जमाएको लिभरपुलजस्तो अति नै शक्तिशाली क्लब एकैपटक पतन हुन्छ भनी कसैले कल्पना पनि गरेका थिएनन् । तर, यही नै सत्य हो । जब म्यानचेस्टर युनाइटेडमा सर एलेक्स फर्गुसन भित्रिए, त्यसपछि लिभरपुलको वर्चस्व बिस्तारै समाप्त हुँदै गयो । तीन दशकपछि आफ्नो साख रक्षा गर्दा लिभरपुलले ११ सय ४९ खेल तथा एक लाख तीन हजार चार सय १० मिनेट मैदानमा खर्चिएको छ । 

नौ प्रशिक्षक परिवर्तन
यसक्रममा लिभरपुलको व्यवस्थापनले नौ प्रशिक्षक परिवर्तन गरेको छ । सन् १९९० देखि २०२० सम्मको समयावधिमा क्लोप नै भाग्यमानी साबित भए । समग्रमा नौजना प्रशिक्षकको समयमा लिभरपुलले पाँच सय ९५ पटक जित र १९ सय ६८ पटक विपक्षी पोस्टमा गोल गरेको छ । यो ३० वर्षमा लिभरपुलले दुई हजार ७५ अंक बटुल्यो । लिभरपुलले ब्राइटन, कार्डिफ, हुडेर्सफिल्ड तथा नोट्स काउन्टीविरुद्ध शतप्रतिशत जित निकालेको छ । क्लोपबाहेक राफेल बेनिटिज सफल प्रशिक्षक थिए । उनले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । 

एक अर्ब ४७ करोड पाउन्ड खर्च
लिभरपुलले उपाधि जित्न के–के मात्र गरेन, तर त्यसको प्रतिफल कहिल्यै पाएन । क्लोपकै प्रशिक्षणमा मात्र क्लबले प्रतिफल पाएको हो । सन् १९९० देखि २०२० सम्म लिभरपुलले स्टार खेलाडी भिœयाउन कन्जुस्याइँ गरेन । यो समयमा क्लबले एक अर्ब ४७ करोड पाउन्ड खर्चिएको छ । लिभरपुलले १८औँ र १९औँ इपिएल उपाधि जित्दा दुई सय १८ खेलाडी अनुबन्धित गरेको तथ्यांक छ ।

स्टार खेलाडीको आगमन
पछिल्लो १५ वर्षमा लिभरपुलले विश्वकै राम्रा खेलाडी भिœयाएको छ । क्लबले मनग्य खर्च गरेको देखिन्छ । सन् २००५ देखि २००८ को सिजनमा क्लबले ४० नयाँ खेलाडी अनुबन्ध गरेको थियो । यो अवधिमा पेप रेना, डर्क क्युट, लुकास लेभिया तथा फर्नान्डो टोरेसजस्ता स्टार खेलाडी अनुबन्ध भए ।

 (एजेन्सीहरूको सहयोगमा)

छुटाउनुभयो की ?