१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार १२ शुक्रबार १८:१२:००
Read Time : < 1 मिनेट
समाचार

ताप्लेजुङका दुई दर्जनभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह

Read Time : < 1 मिनेट
२०७७ असार १२ शुक्रबार १८:१२:००

ताप्लेजुङका दुई र्जनभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्लाका विभिन्न भागमा केही दिनदेखि लगातार वर्षा भइरहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको हो । 

जिल्ला विपत् व्यवस्थापन समितिले नौवटा स्थानीय तहका दुई दर्जनभन्दा बढी गाउँलाई पहिरोको उच्च जोखिमा राखेको छ । पछिल्ला २० वर्षमा गएका पहिरोलाई मध्यनजर गर्दै दुई दर्जनभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा राखेको विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । जिल्लाको सिरिजंघा गाउँपालिकाका याम्फुदिन, मामांङ्खे, पेदाङ र सिनाम पहिरोको उच्च जोखिममा रहेको छ । यस्तै, सिदिङवा गाउँपालिकाका सादेवा, सुरुमखिम, लिम्बुदिन, कालिखोला र आङ्खोप रहेका छन् ।  पाथीभरा याङवरक गाउँपालिकामा नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे क्षेत्र पनि पहिरोको उच्च जोखिमयुक्त क्षेत्र हुन् । 

सदरमुकाम रहेको फुङलिङ नगरपालिकाका ११ वटा वडामध्ये फुङलिङ बजार पनि पहिरोको उच्च जोखिममा रहेको भन्दै विपत् व्यवस्थापन समितिले सूचीकृत गरेको छ । नगरपालिकाकै दोखु, हाङदेवा र फुरुम्बु गाउँहरू पहिरोको उच्च जोखिममा रहेको समितिका अध्यक्ष निरौलाले बताए । 

जिल्लाको सबैभन्दा ठूलो फक्तालुङ गाउँपालिकाका सातवटा वडामध्ये ६ वटा पहिरोको उच्च जोखिममा रहेका छन् । लिङखिम, ओलाङचुङगोला, लेलेप, तापेथोक, इखाबु र सावादिन पहिरोको उच्च जोखिममा रहेको समितिले जनाएको छ । मिक्वाखोला गाउँपालिकाका खोक्लिङ, लिवाङ र सावाँ पनि पहिरोको उच्च जोखिममा छन् । आठराई त्रिवेणी गाउँपालिकाका फूलबारी र निगुरादिनका गाउँहरू पनि पहिरोको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन समितिले आग्रह गरेको छ । मेरिङदेन र मैवाखोला गाउँपालिकका गाउँहरू भने पहिरोको उच्च जोखिममा नरहेको विपत् व्यवस्थापन समितिले ठहर रहेको छ ।