मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १२ शुक्रबार १५:३५:००
Read Time : > 1 मिनेट
अर्थ

पाख्रिबास नगरपालिकाले कफी खेतीलाई व्यावसायिकता दिने

Read Time : > 1 मिनेट
२०७७ असार १२ शुक्रबार १५:३५:००

धनकुटाको पाख्रिबास नगरपालिकाले कफी खेतीलाई व्यावसायिक रूपमा अघि बढाउने भएको छ । 

चालू आर्थिक वर्षदेखि सुरु गरेको कफी खेतीका लागि नगरपालिकाले नीति तथा  कार्यक्रममा नै कफी पकेट क्षेत्र घोषणा गरेर आर्थिक वर्ष ०७७/७८ मा छुट्टै शीर्षकमा बजेट विनियोजन गरेको छ । 

नगरपालिकाले नर्सरी व्यवस्थापनामा करिब पाँच लाख बिरुवा उत्पादन गर्ने गरी १० लाख रुपैयाँ विनियोजन गरेको छ । 

नगरका अधिकांश क्षेत्रमा कफी खेती गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखिएको पाख्रिबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राईले बताए । 

उनले भने, ‘नर्सरीबाट बिरुवा उत्पादन हुन करिब १५ महिना लाग्छ । १५ महिनापछि पहिलो चरणमा पाख्रिबास नगरपालिका क्षेत्रका कृषकको बारीमा करिब पाँच लाख कफीको बिरुवा रोपिनेछन् ।’

नगरपालिकाले करिब तीन वर्षभित्रमा सम्पूर्ण क्षेत्रमा कफी खेती विस्तार गरिसक्ने र पाँच वर्षपछि पूर्ण रूपमा उत्पादन लिन थाल्ने लक्ष्य राखेको छ । 

यसले कृषकहरूलाई आर्थिक रूपमा फाइदा पुग्नुको साथै कृषि पर्यटनलाई समेत टेवा पुग्ने नगरप्रमुख राईले बताए । 

नगरपालिकालाई यो अभियान सञ्चालन गर्न तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटा हिलेले सहजीकरण गरिरहेको छ ।

तेखिमे कृषि परामर्श सेवा फर्मले केही महिनाअघि गरेको आधार रेखा सर्वेक्षणमा पाख्रिबास नगर क्षेत्रको करिब ८० प्रतिशत भूभागमा कफी खेती गर्न सकिने प्रतिवेदन तयार गरेको थियो । 

फर्मका अध्यक्ष जीवन राईका अनुसार नेपालमा खेती हुने अरबिका जातको कफी खेती करिब ६ सय मिटर उचाइदेखि १६ सय मिटरसम्म गर्न सकिन्छ । 

पाख्रिबास नगरपालिका क्षेत्रमा मात्रै वार्षिक करिब १ करोड ५० लाख किलो प्रशोधित कफी उत्पादन गर्न सकिने कृषि अभियान्ता राईको भनाइ छ ।

यो खेती मिश्रित रूपमा गर्न सकिने उनले बताए । 

कफीलाई छहारीको रूपमा एभोकाडो, तेजपत्ता, सजीवनलगायतका खेती गर्न सकिने उनले बताए । 

त्यस्तै कफीभित्र बेसार, अदुवालगायत विभिन्न जडीबुटीको समेत खेती गर्न सकिन्छ । 

कृषकले कफीसँगै एभोकाडो, अदुवा, बेसारलगायतका खेतीबाट समेत अतिरिक्त आम्दानी लिन सक्नेछन् । 

एक रोपनी क्षेत्रफलमा एकपटकमा तीन सय किलो ग्रिनबिन अर्थात् प्रशोधित कफी उत्पादन गर्न सकिने अनुमान गरिएको छ । 

धनकुटा जिल्लामा अहिलेसम्म कफीको व्यावसायिक रूपमा खेती हुन सकेको छैन ।