१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १२ शुक्रबार १२:१६:००
Read Time : > 1 मिनेट
अर्थ

विराटनगरमा पिपिपी मोडलमा औद्याेगिक प्रदर्शनीस्थल निर्माण हुने

Read Time : > 1 मिनेट
२०७७ असार १२ शुक्रबार १२:१६:००

प्रदेश १ को राजधानी विराटनगरमा  सरकार र निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रिय स्तरको औद्याेगिक प्रदर्शनीस्थल निर्माण हुने भएको छ । 

विराटनगर महानगरपालिका –३ मा ९५ वर्षका लागि उद्योग संगठन मोरङले भाडामा लिएको दुई बिघा दुई कट्ठा जमिनमा संघ, प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको संलग्नतामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने भएको हो । 
निजी क्षेत्रको तर्फबाट उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बराबर सहभागिता जनाउन  १० असार ०७७ मा सरकारी निकायसँग सरकारी–निजी साझेदारी (पिपिपी) मोडलमा  सहकार्य गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
सम्झौताअनुसार प्रदर्शनीस्थल निर्माणका लागि सरकार र निजी क्षेत्रको समान साझेदारी सहभागिता रहनेछ । निजी क्षेत्रबाट उद्योग  संगठन र मोरङ व्यापार संघले समान रूपले सहभागीता जनाउनेछन् ।  

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले लामो समयदेखि प्रदेश १ का उद्योगी–व्यापारीहरूले सुविधासम्पन्न प्रदर्शनी स्थलको अभाव भोग्दै आएको र अब निर्माण हुने पक्का भएकोले समस्या चाँडै अन्त हुने बताए ।   

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगिक व्यावसायिक क्षेत्रको विकासका लागि दुवै संस्थाबीच भएको समझदारी आगामी दिनमा कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । 

उनका अनुसार प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिसकेको छ । 

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष मुकेश उपाध्याय र मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवन सारडाले दुवै संस्थाहरुले साझेदारीका लागि सम्झौता गरिसकेकाले अब प्रदर्शनीस्थलको निर्माण तीव्र रूपमा हुनेमा विश्वास व्यक्त गरे । 

प्रदर्शनीस्थलको अभावमा प्रदेश १ का उद्ययोगी–व्यापारीहरूले वर्षौंदेखि सास्ती पाउँदै आएका छन् ।

उनीहरूले हरेक वर्ष आयोजना गर्ने औद्योगिक प्रदर्शनीहरू विद्यालय, सहिद मैदान वा उपलब्ध   खुला मैदानमा गर्दै आएका छन् । 

जसले असुरक्षासँगै खर्च र हैरानी पनि धेरै हुने गरेको छ । व्यवस्थित प्रदर्शनीस्थल नहुँदा खेलमैदान र विद्यालयमा प्रदर्शनी आयोजना गर्दा खेल सञ्चालन र पठनपाठनमा बाधा पुग्ने मात्र नभएर उद्याेगी–व्यापारीहरूलाई अस्थायी संरचना बनाउनुपर्दा अनावश्यक खर्चसमेत हुने गरेको छ । 

आधुनिक प्रदर्शनीस्थल निर्माण गर्न वराटनगरका उद्याेगी–व्यापारीहरूले वर्षौंदेखि आवाज उठाउँदै आएका छन् ।

 
प्रदर्शनीस्थल बनाउन उद्योग संगठन मोरङले २५ करोड रुपैयाँ लागत इस्टिमेट तयार गरेको थियो । 

२७ पुस ०७६ मा विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्नका लागि उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, संघीय सरकारका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश सरकारका आर्थिक मामिलामन्त्री  इन्द्रबहादुर आङ्बो र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले संयुक्त रूपमा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका  थिए ।  
उद्योगी व्यापारीहरूले प्रदर्शनीस्थल निर्माणमा सहयोग पुऱ्याउन  पटकपटक सरकार मात्र नभएर  नेपालस्थित भारतीय राजदूतलाई पनि आग्रह गर्दै आएका थिए । साथै उनीहरूले  विभिन्न दातृ निकायलाई पनि  लागत इस्टिमेटसहित आर्थिक स्रोतका लागि प्रोपोजल दिएका थिए ।       

उद्योग सगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार त्रिपक्षीय सम्झौतापत्रको हस्ताक्षरपछि  प्रदेश १ सरकारले बजेट विनियोजन गराउने भएकोले अब प्रदर्शनीस्थल निर्माणका लागि निजी क्षेत्रका संस्थाहरूबीच  सम्झौता भएको बताए ।