मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १२ शुक्रबार ११:२०:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग

प्रेरक प्रसंग : कालमाथिको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १२ शुक्रबार ११:२०:००

एकपटक महाराज युधिष्ठिर मन्त्रीसित छलफल गर्दै थिए । एक ब्राह्मण गुनासो लिएर राजसभामा पुगे । बदमास गुन्डाहरूले उनका गाई खोसेर लगेका थिए । युधिष्ठिरले ब्राह्मणलाई बाहिर प्रतीक्षा गर्न लगाए । मन्त्रीसितको वार्तालापपछि युधिष्ठिरसित भेटघाटका लागि छिमेकी देशका राजदूत पुगे । त्यसपछि पनि अन्य भेटघाटमा व्यस्त हुँदाहुँदै उनले ब्राह्मणलाई समय दिन सकेनन् ।

अन्त्यमा सबै काम सिध्याएर निस्किँदा उनी थाकिसकेका थिए । उनले ब्राह्मणलाई भने- आज म निकै थाकेको छु । तपाईं भोलि आउनुस् है ! म अवश्य सहयोग गर्नेछु । युधिष्ठिर आराम कक्षतिर लम्किए । ब्राह्मण निकै दुःखी भए । बाहिर निस्किँदै गर्दा उनको भेट राजकुमार भीमसित भयो । भीमले उनको समस्या सोधे । ब्राह्मणले भीमलाई सबै बताए । जब युघिष्ठिरले भोलि बोलाएको उनले थाहा पाए, तब तत्कालै सैनिकलाई विजयको नगरा बजाउने आदेश दिए । तत्काल आदेश कार्यान्वयन भयो, दरबारका चारै दिशामा नगरा घन्किए । 

नगराको आवाज सुनेर युधिष्ठिर बाहिर निस्किए । उनले भीमलाई भेटे । उनले विजय नगरा बज्नुको कारण सोधे । भीमले भने- महाराज हजुरले कालमाथि विजय हासिल गरिबक्सेको खुसियालीमा यी नगरा बजाइएका हुन् । ‘हँ, तिमी यो के भन्दै छौ ?’ युधिष्ठिरले छक्क पर्दै सोधे । हजुरले एक ब्राह्मणलाई भोलि बोलाउनुभएको रहेछ । त्यसको अर्थ, हजुरलाई आफू भोलिसम्म मर्दिनँ अर्थात् कालले छुन सक्दैन भन्ने पक्का रहेछ । त्यसैले, कालमाथिको विजयोत्सवमा यी नगरा बजेका हुन् महाराज ! भीमको कुरा सुनेपछि युधिष्ठिरलाई आफ्नो गल्ती महसुस भयो । उनले तत्काल ती ब्राह्मणको समस्या सुने र उचित सहायताको प्रबन्ध गरिदिए ।