मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १२ शुक्रबार ०६:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपालको खुला सीमा दुरुपयोग हुन सक्छ : अमेरिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १२ शुक्रबार ०६:२७:००

अमेरिकाले अन्तर्राष्ट्रिय आतंककारीहरूले नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्न सक्ने दाबी गरेको छ । नेपाली समयअनुसार बुधबार राति सार्वजनिक भएको आतंकवादसम्बन्धी गत वर्षको प्रतिवेदनमा अमेरिकाले खुला सीमा र मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकललाई कारण देखाउँदै नेपाली भूभाग दुरुपयोग हुन सक्ने टिप्पणी गरेको हो । नेपाल ट्रान्जिट प्वाइन्ट हुन सक्ने अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।

भारतले भन्यो- लिपुलेक इस्युमा प्रतिक्रिया दिँदैनौँ

भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीका सम्बन्धमा थप प्रतिक्रिया नदिने बताएको छ । उसले नेपालमा चीनको प्रभाव, नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकलगायतका विषयमा टिप्पणी नगर्ने पनि स्पष्ट गरेको छ । 

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नयाँ नक्साबारे कुनै जानकारी नदिने बताउँदै नेपाल र भारतबीच आपूर्ति व्यवस्था निरन्तर रहेको उल्लेख गरेका छन् । बिहीबार पत्रकारहरूले नेपालद्वारा जारी नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकको सम्भावना, नेपाली भूभाग चीनले अतिक्रमण गरेको चर्चाबारे प्रश्न गरेका थिए । 

‘भारतले आफ्नो धारणा १३ जुनमा सार्वजनिक गरिसकेको छ । यस सम्बन्धमा थप प्रतिक्रिया छैन,’ आधा दर्जन पत्रकारहरूको जवाफमा श्रीवास्तवले भने । भारतले नेपालद्वारा जारी नक्सा मान्य नहुने तथा नेपालले वार्ताका लागि सकारात्मक वातावरण बनाउनुपर्ने जिकिर गरेको थियो । पत्रकारहरूले नेपालमा भारतबाट विवाह गरेर जाने चेलीहरूलाई नागरिकता लिन सात वर्ष लाग्ने नेपाली कानुनी प्रावधानबारे उनीसँग प्रतिक्रिया मागेका थिए । श्रीवास्तवले यसबारे सीधा प्रतिक्रिया दिएनन् । ‘यस सम्बन्धमा हामीले रिपोर्ट हेरेका छौँ । हाम्रा जनताबीच गहिरो सम्बन्ध छ । नेपाल र भारतका जनताबीच पारिवारिक सम्बन्ध छ । यसले दुई देशको सभ्यता र संस्कृतिमा आधारित सम्बन्धलाई प्रतिबिम्वित गर्दछ,’ उनले भने ।

नेपाल र भारतबीच अत्यावश्यक सामग्री तथा व्यापारका लागि आपूर्ति व्यवस्थामा अवरोध नआएको उनको भनाइ थियो । लकडाउनको चुनौतीमाझ पछिल्लो महिनामा मात्रै नेपाल र भारतबीच ३० करोड अमेरिकी डलरबराबरको व्यापार भएको श्रीवास्तवले जानकारी दिए ।

चीनबाट नेपाली भूमि मिचिएको छैन : परराष्ट्र

सरकारले चीनबाट नेपाली भूमि अतिक्रमित नभएको स्पष्ट पारेको छ । बिहीबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सीमाबारे प्रतिवेदन तयार नगरेको र यो उसको क्षेत्राधिकारसमेत नभएको पनि जिकिर गरेको छ । सार्वजनिक सञ्चारमाध्यममा चीनबाट नेपाली भूमि अतिक्रमित भएको समाचार आइरहेका वेला परराष्ट्र मन्त्रालयले खण्डन गरेको हो । 

कृषि मन्त्रालयले रिपोर्ट नभएको पहिले नै स्पष्ट पारिसकेको र सार्वजनिक भएको भनिएको कथित रिपोर्ट खारेज गरिसकेको परराष्ट्रले जनाएको छ । नेपाल र चीनबीच ५ अक्टोबर १९६१ को सीमा सन्धिका आधारमा सीमांकन भएको परराष्ट्रको भनाइ छ । सीमा स्तम्भ नम्बर ३७ र ३८ नहराएको तथा यसबारे दुवै देशबीच विवाद नभएको सरकारले जनाएको छ ।