१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ असार १२ शुक्रबार ०४:०५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

राजु सदाको घर, तीन दिनमा अन्न ग्रहण गर्ने संस्कार पूरा गर्न एक माना चामलसमेत थिएन

सदाको मृत्युको छानबिन गर्न सरकारले गठन गर्‍यो समिति

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असार १२ शुक्रबार ०४:०५:००

झाडापखालाले आइसोलेसनमा छटपटाइरहेका १६ वर्षीय छोरा राजु सदाको ज्यान जोगाउन दुई सातादेखि दौडधुप गरिरहेका अशेश्वरले मजदुरी गर्न पाएका थिएनन् । ऋण निकालेर उपचारका लागि प्रयास गर्दा पनि छोराको ज्यान जोगाउन नसकेको पीडा खेपिरहेका उनी बिहीबार बिहान भने अर्को पीडामा थिए, अन्न ग्रहण कसरी गर्ने ? 

धनुषाको हंशपुर नगरपालिका– ७ पर्साहीका राजुको ९ असार बिहान ४ बजे प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा मृत्यु भएको थियो । नगरपालिकाले  शव घरमा ल्याएपछि अन्तिम संस्कार गरिएको थियो । त्यसयता भोकै बसिरहेका अशेश्वरले तेस्रो दिन बिहीबार अन्न ग्रहण गर्नुपर्ने थियो । ‘२५ हजार ऋण निकालेको थिएँ, १०–१२ दिनदेखि राजु बचाउन सकिन्छ भनेर यताउता गर्दागर्दै सकियो । काम गर्न नपाउँदा घरमा चामल किन्ने पैसा पनि भएन,’ अशेश्वरले भने । 

बिहीबार बिहान राजुको घरको दृश्य पनि भावविह्वल थियो । छोराको मृत्युले विक्षिप्त बनेकी निलमका आँखा ओभाएका थिएनन् । सात फिट लामो र पाँच फिट चौडा त्रिपालले बेरिएर बनाएको झुपडीमा पल्टिरहेकी थिइन् । असारे सिमसिम वर्षा छेक्न त्यही झुपडीभित्र तीन छोरीसहित अशेश्वर पनि ओत लिएर बसिरहेका थिए । घरपरिवारको दैनिक जोहोमा सघाउने छोरा गुमाएको पीडा अशेश्वरको अनुहारमा पनि प्रस्टै झल्किरहेको थियो । 

  • राजु सदाकी आमा अझै पनि विक्षिप्त अवस्थामा छिन्

अझ अन्न ग्रहण गर्ने वेला घरमा चामल नहुँदा र किन्न पैसा पनि नहुँदा उनलाई झन् पीडा भइरहेको थियो । ‘गाउँलेले चालम दिएपछि अन्न ग्रहण गर्न पाएँ,’ उनी बिस्तारै बोले । गाउँले शैलेन्द्र नायकले १० किलोग्राम चामल र दाल दिएपछि अन्न ग्रहण गर्न पाएको उनले बताए । उनी शैलेन्द्रकैमा काम गर्दै आएका थिए । दैनिक ज्यालादारी गरेर परिवारको गुजारा गर्दै आएका उनलाई दुई सातादेखि काम गर्न नपाएपछि सकस भएको हो । 

उनले छोराको उपचारका लागि २५ हजार ऋण निकाले थिए । त्यसमध्ये २१ हजार खर्च भएको थियो भने चार हजार बाँकी थियो । तर, त्यो पनि शव पुर्‍याउन आएको अस्पतालको एम्बुलेन्सले माग्यो । अस्पतालको एम्बुलेन्सले शव ल्याएको थियो, चार हजार मागेपछि दिएँ,’ उनले भने । अहिले कोरोना संक्रमित तथा शंकास्पदको शव घर पुर्‍याउने तथा व्यवस्थापन सरकारले नै गर्छ । त्यसका लागि हरेक अस्पताललाई बजेट पनि दिइएको छ । राजुको शव घरमा पुर्‍याएबापत भने अस्पतालको एम्बुलेन्सले चार हजार मागेको अशेश्वरले बताए । 

गाउँलेले चालम र दाल दिएपछि अन्न ग्रहण गरे पनि थुप्रै सकस उस्तै छन् । पत्नी निलम राजुकै नाम लिएर घरघरी रुँदै चिच्याउँछिन् । रुँदै बेहोस हुन्छिन्, फेरि राजुकै नाम लिन्छिन् । उसो त राजुले चेन्नई जाँदा आमालाई पैसा कमाएर ल्याउँछु भनेका थिए । ‘भारत जाँदा पनि मैले रोक्न खोजेकी थिएँ । राजुले आमा कति दिनसम्म यो झुपडीमा बस्ने । मलाई कमाउन जान देऊ, एक–दुई वर्षपछि नयाँ घर बनाउँला भनेको थियो,’ ६ महिनाअघि भारत जाने वेलाको कुराकानी सम्झिँदै निलमले भनिन्, ‘छोरालाई बडा अरमान (आशा) ले पालनपोषण गरेकी थिएँ, जब सुख दिने वेला भयो, राक्षसहरूले अनाहकमा ज्यान लिए ।’

अशेश्वर भने कसैले वास्ता नगर्दा छोराको ज्यान गएको बताउँछन् । क्वारेन्टाइनमा बिरामी हुँदा नै उपचारका लागि अस्पताल लगिदिन आग्रह गरेको उनले सुनाए । ‘वडाध्यक्ष, मेयर, उपमेयर सबैसँग अनुनयविनय गरेको थिएँ । कसैले सुनिदिएनन्,’ उनले भने । धेरैपछि अस्पताल लगे पनि राम्ररी उपचार नभएको उनको गुनासो छ । 

क्वारेन्टाइनमा छतमा सुताउँदा बिरामी

भारतबाट फर्किंदा राजु स्वस्थ रहेको उनीसँगै आएका रामशरण सदाले बताए । तर, क्वारेन्टाइनमा राखेको पाँच दिनपछि झाडापखाला लागेको उनले बताए । ‘क्वारेन्टाइनमा भए पनि कोठाभित्र सुत्न दिएनन्, छतमा सुताएका थिए,’ रामशरणले भने, ‘मुसहर भएकाले हामीलाई छतमै सुत्न लगाए ।’ उनका अनुसार मुसहर समुदायका १२ जना छतमै सुतेका थिए । घाम र पानी पर्दा नि त्यस्तैमा बस्नुपरेकाले बिरामी परेको उनको भनाइ छ । 

१५ दिनसम्म छतमै सुताएको स्थानीय सीतादेवी सदाले बताइन् । ‘१५ दिनसम्म छतमा सुताएपछि जो पनि बिरामी भइहाल्छ । २४ घन्टा छतमै सुत्दा र बस्दा बिरामी हुन स्वाभाविक हो,’ उनले भनिन् । क्वारेन्टाइनमा पनि विभेद गरेको उनको भनाइ छ । अस्पतालसँगै क्वारेन्टाइनबारे पनि छानबिन गर्नुपर्ने सीतादेवी बताउँछिन् । 

पोस्टमार्टमविना अन्त्येष्टि

अस्पतालकै आइसोलेसनमा मृत्यु भए पनि राजुको पोस्टमार्टम गरिएन । ९ असार बिहान ४ बजे मृत्यु भएको केहीबेरमै उनको शव घर पठाइएको थियो । ‘अस्पतालले आफ्नो गल्ती ढाकछोप गर्न हतार–हतारमा शव पठायो । पोस्टमार्टम पनि गरेन,’ स्थानीय सीतादेवीले भनिन् । स्थानीय भद्रभलाद्मी मिलेर तत्कालै अन्त्येष्टि गर्न लगाएको उनले बताइन् । 

शव पोस्टमार्टम नगरिएको प्रादेशिक अस्पताल जनकपुरका आइसोलेसन वार्ड इन्चार्ज डा. जामुन सिंहले स्विकारे । ‘परिवारजनले भनेपछि मात्रै पोस्टमार्टम हुन्छ । हामी आफैँले गर्ने होइन, उनीहरूले पोस्टमार्टम गर्नुस् भनेनन्,’ डा. सिंहले भने । 

छानबिन गर्न समिति गठन 

घटनाको छानबिन गर्न प्रदेश २ को सामाजिक विकास मन्त्रालयले बिहीबार तीन सदस्य छानबिन समिति गठन गरेको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा छानबिन समिति गठन गरिएको हो । 

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिचन्द्र साहको नेतृत्वमा गठन गरिएको छानबिन समितिमा सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखा प्रमुख नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान सदस्य रहेका छन् । समितिलाई घटनाको छानबिन गर्न सात दिनको म्याद दिइएको छ ।