मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १२ शुक्रबार ०४:१०:००
Read Time : > 7 मिनेट
मुख्य समाचार

पिसिआर रिपोर्ट नभएको भन्दै डायलाइसिस रोकियो, तर तीन दिनसम्म नमुना पनि संकलन भएन, मिर्गौला बिरामीको मृत्यु

मृत्युपछि रिपोर्ट आयो, कोरोना थिएन

Read Time : > 7 मिनेट
२०७७ असार १२ शुक्रबार ०४:१०:००

कोरोनाले भन्दा पनि सरकारको उपेक्षाले धेरैको ज्यान जान थालेको छ । झाडापखाला लागेका धनुषाका राजु सदाको मृत्यु भएको अर्को दिन बैतडीका मिर्गौला बिरामीको मृत्यु भएको छ । उनलाई कोरोना थिएन, तर कोरोनाको रिपोर्ट नभएकोले तीन दिनसम्म डायलाइसिस नभएकोले मृत्यु भएको हो ।

हातखुट्टा सुन्निने, खान मन नलाग्ने र बान्ता आउने समस्या भएपछि बैतडीको मेलौलीका ४७ वर्षीय रामी धानुकलाई ७ असारमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे । रगत परीक्षणपछि चिकित्सकले मिर्गौलामा जटिल समस्या देखिएकाले तत्काल डायलाइसिस गर्न सल्लाह दिए । तर, अस्पतालमै रहेको बिरङ हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस सेन्टरले कोरोना परीक्षणको पिसिआर रिपोर्ट नल्याएसम्म डायलाइसिस गर्न मानेन । धानुकका कुरुवा रहेका भतिजा धनवीरले नमुना संकलन गरिदिन पटकपटक आग्रह गरे । तर, उनको सुनुवाइ भएन । 

डायलाइसिस गर्नुपर्ने गम्भीर बिरामी बेडमा छटपटाइरहे । भर्ना भएको तेस्रो दिन मात्रै अर्थात् ९ असारमा अस्पतालले धानुकको स्वाब संकलन गर्‍यो । कोरोना परीक्षणको रिपोर्ट नभएका कारण उनले त्यतिन्जेल डाइलाइसिस सेवा पाएनन्, अन्ततः स्वाब संकलन गरिएकै राति रिपोर्ट कुर्दाकुर्दै धानुकको मृत्यु भयो । जब कि १० असारमा पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आयो । यसरी कोरोना संक्रमित नभएका बिरामीलाई कोरोनाको बहानामा मृत्युवरण गर्न बाध्य बनाइयो । 

विपन्नको पीडामाथि भएको सरकारी झमेलाले अनाहकमा ज्यान गएको पीडित परिवारको गुनासो छ । ‘समयमै डायलाइसिस गराउन पाएको भए ज्यान बच्थ्यो,’ मृतकका भतिजा धनवीर धानुकले भने, ‘पिसिआर रिपोर्ट नभएसम्म डायलाइसिस नगर्ने भनियो, पिसिआर रिपोर्ट कुर्दा ज्यान गयो ।’

डायलाइसिस सेन्टरका व्यवस्थापक दीपक भट्टले अन्य बिरामी जोखिममा नपरुन् भनेर कोरोना परीक्षण गर्न भनिएको बताए । ‘बिरामीका आफन्त डायलाइसिसका लागि आउनुभएको थियो, तर बिरामी भारतबाट फर्केकाहरूसँगको सम्पर्कमा रहेको बुझिएकाले कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनेका हौँ, जाँच गर्न भनेका हौँ,’ उनले भने । 

तर, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने डायलाइसिस सेन्टरले आरडिटी जाँच गरेर उपचार गर्न नमानेको बताए । 

त्यस्तै, परिवारका सदस्यले पनि मृतकको कुनै ट्राभल हिस्ट्री नभएको र भारतबाट फर्केकाहरूसँग पनि सम्पर्क नरहेको बताएका छन् । मृत्युपछि बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले बताए । स्वास्थ्य विभागसँगको सम्झौताअनुसार बिरङ हेल्थ केयरले सेती अस्पतालमा डाइलाइसिस सेन्टर सञ्चालन गर्दै आएको छ । 

कोरोना संक्रमणबाट सुदूरपश्चिममा ज्यान गुमाएकामध्ये यसअघि पनि चारजनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो । सुदूरपश्चिममा संक्रमण पुष्टि भएकामध्ये एक सयजनाभन्दा बढीको रिपोर्ट क्वारेन्टाइनबाट घर फर्केपछि मात्र आएको छ । 

पहिलो मृत्यु नै समयमा उपचार नपाएर भयो

नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको भएको थियो । उनले समयमा उपचार पाइनन्, मृत्युपछि मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । 

उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा १ जेठमा मृत्यु भएकी ती महिलामा संक्रमण रहेको दुई दिनपछि मात्रै पुष्टि भयो । उनले २४ वैशाखमा काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् । त्यसको एक दिनअघि उनी अस्पताल भर्ना भएकी थिइन् । तर, त्यहाँ उनको कोरोना परीक्षण गरिएन । २५ वैशाखमा डिस्चार्ज भएर उनी २८ वैशाखमा बाह्रबिसेस्थित घर फर्केकी थिइन् । तर, ज्वरो आउनुका साथै श्वास–प्रश्वासमा समस्या देखिन थालेपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भइन् । त्यहाँ पनि उनको कोरोना परीक्षण भएन । 

समस्या बढ्दै गएपछि उनलाई शिक्षण अस्पताल रिफर गरिएको थियो । तर, बीचबाटोमै सास फेर्न गाह्रो हुन थालेपछि एम्बुलेन्समा धुलिखेल अस्पताल लगिएको थियो । तर, अस्पताल पुग्दानपुग्दै उनको मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । 

बाँकेको क्वारेन्टाइनमा उपचार नपाएरै गयो २५ वर्षे युवाको ज्यान

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकले पनि गत ४ जेठमा उपचार नपाएर तड्पी–तड्पी ज्यान गुमाए । यो नेपालमा कोरोना संक्रमणबाट दोस्रो मृत्यु थियो । 

रोजगारीका लागि भारतको मुम्बईमा रहेको ती युवक अनेक दुःखकष्ट झेल्दै ३० वैशाखमा नेपाल फर्केर घरपायक पर्ने दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका थिए । उनमा कोरोनाको लक्षण पनि देखिएको थिएन । ४ जेठको बिहान २ः३० बजेदेखि उनलाई एकाएक उल्टी हुन थाल्यो । एकछिनमा बेहोस भएर ढले । उनीसँगै बसेका साथीले स्वास्थ्यकर्मीलाई खबर गर्न फोन गरे । तर, स्वास्थ्यकर्मीले रेस्पोन्स गरेनन् । अन्ततः उपचार नपाएर बिहान करिब ३ बजे उनले क्वारेन्टाइनमै तड्पिँदै देह त्याग गरे । उनको मृत्यु भएको तीन घन्टापछि मात्र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा आइपुगे । 

सरकारले हरेक क्वारेन्टाइनमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली रहनुपर्ने व्यवस्था गरेको छ । तर, नरैनापुरको क्वारेन्टाइनमा एकजना स्वास्थ्यकर्मी पनि थिएनन्, भएका भए सायद २५ वर्षे युवकले ज्यान गुमाउनुपर्दैन थियो होला । एक दिनअघि कोरोना परीक्षणका लागि मृतक युवाको स्वाब संकलन गरिएको थियो । तर, रिपोर्ट नआउँदै उनले ज्यान गुमाइसकेका थिए । मृत्युपछि मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भयो ।

लक्षण देखिँदा पनि गुल्मीका शिक्षकको कोरोना परीक्षण गरिएन, अस्पतालले अनेक प्रयोग मात्रै गरे

गुल्मीको मदाने गाउँपालिका ४१ वर्षीय शिक्षकको उपचारमा पनि अस्पतालहरूले चरम लापरबाही देखाए । कोरोनाको लक्षण देखिँदासमेत परीक्षण गर्नुको साटो उनको शरीरमा अनेक प्रयोग मात्रै गरियो । अन्ततः ८ जेठमा रुपन्देहीको मणिग्रामस्थित क्रिमसन हस्पिटल उनले देह त्याग गरे । 

स्थानीय विद्यालयमा प्रधानाध्यापक रहेका उनले २४ वैशाखमा ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि पुर्कोटदहको मदाने मालिका पोलिक्लिनिकबाट ३ खुराक ज्वरोको औषधि ल्याएर खाए । त्यसले ठीक नभएपछि फेरि जाँच गरेर पोलिक्लिनिकले टाइफाइडको औषधि दियो ।

त्यसले पनि राम्ररी बिसेक नभएपछि ३१ वैशाखमा उनलाई किड्नीमा समस्या हुन सक्छ भन्दै अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा रेफर गरियो । त्यहाँ सबै जाँच गरेपछि भनियो– किड्नी सुन्निएको छ, टाइफाइड भएको छ, रगतमा पनि समस्या छ । बुटवलको क्रिमसन हस्पिटल जानुपर्छ । ३१ वैशाखको साँझ ८ बजे पोलिक्लिनिककै एम्बुलेन्समा राखेर उनलाई बुटवल पठाइयो । 

भाइसहित गएका उनी राति ११ बजे नै क्रिमसन हस्पिटल पुगेका थिए । भोलिपल्ट बिहान ३ बजे मात्रै भर्ना गरियो । जाँच गरेर अस्पतालले टाइफाइड, जन्डिस र निमोनिया भएको बतायो । कोरोनाले निमोनिया हुन्छ, मिर्गौला र कलेजोमा पनि असर गर्छ । तर, त्यति धेरै लक्षण मिल्दा पनि अस्पतालले कोरोनाको शंका गरेर परीक्षण गरेन । बरु, परिवारका सदस्यसँग सल्लाह नै नगरी म्यानेन्जाइटिसको आशंकामा ढाडबाट पानी निकालेर परीक्षण गर्न पठायो । ढाडबाट पानी तानेपछि बेहोस भएका उनलाई आइसियूमा राखियो । त्यसबाट भेन्टिलेटरमा सारियो । 

अस्पतालले त्यतिन्जेलसम्म पनि कोरोना परीक्षण गराएको थिएन । परिवारका सदस्यले कर गरेपछि मात्रै २ जेठको दिउँसो उनको स्वाब संकलन गरियो । तर, ल्याबमा स्वाब मात्रै पठायो, बिरामीको विवरण पठाइएन । त्यसैले रिपोर्ट आउने कुरै भएन । भेन्टिलेटरमा भएका बिरामीको रिपोर्ट किन आएन भनेर अस्पतालले पनि सोधखोज गरेन । परिवारका सदस्यले खोजी गरेपछि मात्रै बिरामीको विवरण नपठाएको पत्ता लाग्यो । त्यसपछि मात्रै अस्पतालले विवरणसहित पठायो, ५ जेठमा रिपोर्ट आयो– कोरोना भाइरस पोजेटिभ । यतिन्जेलसम्म बिरामी गम्भीर अवस्थामा पुगिसकेका थिए । अन्ततः ८ जेठमा उपचारकै क्रममा उनको मृत्यु भयो । 

कर्णालीका पाँचजनाको मृत्युपछि मात्रै कोरोना पुष्टि 

कर्णाली प्रदेशमा ज्यान गुमाएका ६ मध्ये पाँचजनामा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका केहीले उपचारसमेत नपाएर ज्यान गुमाएका छन् । 

मृतक ६ मध्ये दुईजनाले आत्महत्या गरेका थिए भने एकको क्षयरोगको उपचारका क्रममा मृत्यु भएको थियो । तीनजनामा भने कुनै लक्षणविना नै मृत्यु भएको अस्पतालले जनाएको छ । दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकले समयमा उपचार नपाउँदै क्वारेन्टाइनमा ज्यान गुमाएका हुन् । दुल्लुस्थित विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा १७ जेठमा मृत्यु भएका उनको कोरोना संक्रमण भएको रिपोर्ट १८ जेठमा आएको थियो । उनी भारतको गुजरातबाट आएर क्वारेन्टाइनमा बसेका थिए । 

त्यस्तै, भारतबाट फर्केर १५ दिन क्वारेन्टाइनमा बसेका सुर्खेतको पञ्चपुरी नगरपालिका–१ खानीडाँडाका २० वर्षीय युवकको २२ जेठमा मृत्यु भएको थियो । आरडिटी नेगेटिभ देखिएपछि घर पठाएका उनको त्यही राति सास फेर्न समस्या भएपछि मृत्यु भएको थियो । त्यसपछि मात्रै स्वाब संकलन गरिएको थियो भने २३ जेठमा आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । 

डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको २० जेठमा होम क्वारेन्टाइनमै मृत्यु भएको हो । मृत्यु भएको चार दिनपछि २४ जेठमा मात्रै कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । दमका बिरामी उनी सुर्खेतमा उपचार गराएर घर फर्केका थिए । 

सुर्खेतकै सिम्ता गाउँपालिका–८ की २५ वर्षीया युवतीले क्वारेन्टाइनबाट घर फर्केपछि झुन्डिएर आत्महत्या गरिन् । १ असारमा आत्महत्या गरेकी उनको ३ असारमा पोस्टमार्टम गर्नुअघि गरिएको कोरोना परीक्षणमा पोजेटिभ देखियो । श्रीमान् र तीन वर्षीया छोरीसँगै १२ जेठमा भारतबाट आएकी उनी १४ दिन क्वारेन्टाइनमा बसेकी थिइन् । 

त्यस्तै, दैलेखको दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवकले पनि आत्महत्या गरेपछि मात्रै कोरोना संक्रमण पुष्टि भयो । ११ जेठमा भारतबाट आएका उनी आरडिटीमा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए । ९ असारमा घरमै झुन्डिएर आत्महत्या गरेका उनको पोस्टमार्टम गर्नुअघि कोरोना परीक्षण गरिएको थियो । ११ असारमा आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले बताए । 

दैलेखकै दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको ८ असारमा उपचारका क्रममै मृत्यु भएको छ । दुई महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका उनी १ असारमा कर्णाली प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । ४ असारमा कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई आइसियूमा राखेर उपचार भइरहेको थियो । 

पिसिआर रिपोर्टमा चरम लापरबाही, २१ हजार १२ नमुना रिपोर्टको पर्खाइमा 

प्रदेश १ मा तुलनात्मक रूपमा कम नमुना ‘होल्ड’ भएका छन् । तीव्र गतिमा नमुना परीक्षण भएकोले होइन, पानी परेको भन्दै नमुना संकलन नै रोकिएकोले ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयबेन्द्र यादवका अनुसार अब तीन ल्याबमा ६ सय नमुना मात्र परीक्षणको पर्खाइमा छन् । ‘केही दिनयता पानी परिरहेकाले नमुना संकलन हुन सकेको छैन । भएको पनि प्रयोगशालासम्म ल्याउन सकिएको छैन,’ उनले भने, ‘त्यसकारण प्रयोगशालामा चाहिँ करिब ६ सय मात्र छन् ।’ 

प्रदेश २ मा एक सातादेखि नमुना संकलन रोकिएको छ । तैपनि पाँच हजार पाँच सय १४ नमुनाको रिपोर्ट आएको छैन । बागमती प्रदेशमा एक हजार ३१ नमुना रिपोर्टको पर्खाइमा छन् । हेटौँडामा ६ सय एक, भरतपुरमा चार सय र धुलिखेलमा ३० नमुनाको रिपोर्ट आएको छैन । यसबाहेक राष्ट्रिय प्रयोगशालाको रिपोर्ट अलग छ । 

गण्डकी प्रदेशमा २ असारदेखिका नमुनाको रिपोर्ट आएको छैन । अहिले आठ सय १५ नमुना रिपोर्टको पर्खाइमा छन् ।

प्रदेश ५ मा ६ हजार आठ सय ९६ स्वाब परीक्षणको प्रक्रियामा छन् । कर्णाली प्रदेशमा ११ सय नमुना परीक्षण हुन बाँकी छन् । त्यस्तै, सुदूरपश्चिममा पाँच हजार ५६ नमुना रिपोर्टको पर्खाइमा छन् । 

जसले बाटोमै ज्यान गुमाए...

कोरोना संक्रमणको त्रासबीच ज्यान जोगाउन कैयौँ दिन पैदल हिँडेर घर फर्किंदै गरेका केही निमुखाले आफ्नो आँगनसमेत टेक्न पाएनन्, बाटोमै ज्यान गुमाए । 

भारतबाट घर फर्किंदै गरेका धनुषा सहिद नगरपालिका–९ का २५ वर्षीय वीरेन्द्र यादवको गत १४ जेठको बिहान नेपाल–भारत सिमाना जटहीमा मृत्यु भयो । कैयौँ दिन पैदल हिँडेका उनलाई दुई दिनअघिदेखि नै स्वास्थ्यमा समस्या भइरहेको थियो । जटही पुगेको राति पनि उनले अस्पताल लैजान आग्रह गरेका थिए, तर स्थानीय प्रशासनले स्वदेश प्रवेश गर्न दिएन । रातभर सीमानाकामै छटपटाएका उनले बिहान प्राण त्यागे । 

सुर्खेतको चिंगाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाले पनि घर नपुग्दै ज्यान गुमाए । भारतको गुजरातबाट फर्केका उनी १४ जेठमा नेपालगन्जबाट वीरेन्द्रनगरका लागि बसमा चढेका थिए । बसमै असजिलो महसुस गरेपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समा प्रादेशिक अस्पताल कालागाउँ लग्न खोजिएको थियो । तर, अस्पताल पुग्न नपाउँदै राति बाटोमै मृत्यु भयो । 

भारतको महाराष्ट्रबाट आएका सुदूरपश्चिम प्रदेशको गौरीगंगा नगरपालिका–२ कैलालीका एक युवकले पनि घर पुग्न नपाउँदै ज्यान गुमाएका छन् । १३ जेठमा गौरीफन्टा नाका पुगेका उनलाई एकाएक बेहोस भएपछि प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उपचारकै क्रममा १४ जेठको बिहान उनको मृत्यु भयो । 

मुम्बईबाट फर्किंदै गरेका पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय पुरुष पनि घर पुग्न पाएनन् । २१ जेठमा तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो । २३ जेठमा मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भयो । 

२० जेठको राति गाउँमा पुगेका उनलाई सीधै क्वारेन्टाइनमा लगिएको थियो । त्यही राति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरियो । उपचारका क्रममै उनले २१ जेठमा ज्यान गुमाए, घरको आँगन टेक्न पाएनन् । 

अछाममा मजदुरी गर्दै आएका बर्दियाको गुलरिया नगरपालिका–९ का युवाले पनि परिवार भेट्न नपाउँदै १४ जेठमा क्वारेन्टाइनमै ज्यान गुमाए । अछामबाट तीन दिन हिँडेर उनी १३ जेठमा गाउँ पुगेका थिए । गाउँकै बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राति राम्रैसँग सुतेका थिए । तर, १४ जेठको बिहान उनी ओछ्यानमै अचेत भेटिए । 

त्यस्तै, भारतबाट घर फर्किंदै गरेका अर्घाखाँचीका युवकको १० जेठमा कपिलवस्तुको कृष्णनगर सीमानाकानजिक बसभित्रै मृत्यु भयो । उनको शवलाई अर्घाखाँची लगेर अन्त्येष्टि गरियो । त्यसको ६ दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आयो ।

देशभर ११,१६२ संक्रमित, २६ को मृत्यु

पछिल्लो २४ घन्टामा चार सय ३४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको छ । 

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि २६ पुगेको छ । सोमबार पोखरा अस्पतालमा र बुधबार पाटन अस्पतालमा मृत्यु भएका दुईजनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पोखरामा मृत्यु भएका व्यक्ति स्याङ्जाका हुन् ।

उनमा मधुमेह र श्वासप्रश्वासको समस्या थियो । त्यस्तै, पाटनमा मृत्यु भएका व्यक्ति चितवनका हुन् । उनी ललितपुरको टीकाथली डेरामा बस्थे । पाँच महिनाअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

प्रवक्ता गौतमका अनुसार कुल संक्रमितमध्ये दुई हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् । रसुवाबाहेकका ७६ जिल्लामा संक्रमण देखिएको छ ।