मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ११ बिहीबार १८:३०:००
Read Time : > 1 मिनेट
समाचार

कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने विषयमा स्थानीय र प्रहरीबीच झडप 

Read Time : > 1 मिनेट
२०७७ असार ११ बिहीबार १८:३०:००

कोरोना संक्रमणका कारण बुधबार राति मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको विषयलाई लिएर पोखरामा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्याङ्जा सिरुबारी घर भएका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो ।

कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ८ असारदेखि आइसियूमा राखी उपचार हुँदै आएको थियो । सोही क्रममा उनको मृत्यु भएपछि पोखरा महानगरपालिका–३२ मजुवास्थित सातपत्रे घाटमा शव व्यवस्थापन गर्ने निर्णय प्रहरी प्रशासनले गरेको थियो । तर, स्थानीय भने आफ्नो वडामा संक्रमितको शव व्यवस्थापन गर्न नदिने भन्दै विरोधमा उत्रिएका थिए । सोही क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

यद्यपि, झडपकै बीचमा शव व्यवस्थापन भने गरिएको छ । शव लिएर गएको नेपाली सेना र प्रहरीको टोलीलाई स्थानीयले अवरोध पुऱ्याएका थिए । उनीहरूले टायर बालेर बाटो छेकेका थिए । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अवरोध हटाएर शव व्यवस्थापन गरिएको थियो ।

स्थानीयले कास्की र तनहुँको सीमा मजुवामा रहेको प्रहरी चेकपोस्टमा ढुंगा प्रहार गरेका गरेका थिए । शव गाड्नका लागि डोजरले खाल्टो खन्न लागेको थाहा पाएसँगै स्थानीयले विरोध गरेका थिए । उनीहरूले घाट क्षेत्रमा जाने बाटो अवरुद्ध गरेपछि प्रहरीले भिड नियन्त्रणमा लिन हवाई फायर गरेको थियो । 

तोडफोड र ढुंगामुढा गर्दै विरोधमा उत्रिएका स्थानीयले नेपाल प्रहरीको दुईवटा मोटरसाइकल, एउटा स्कुटर र सशस्त्र प्रहरीको एउटा भ्यानमा क्षति पुऱ्याएका थिए । तोडफोडमा उत्रिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेको जनाएको छ ।

यस्तै आठजनालाई नियन्त्रणमा पनि लिएको थियो । झडपमा केही प्रहरी र स्थानीय घाइते भएका छन् । भिड तितरबितर गर्न हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

यसअघि २५ जेठमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जा वालिङका ५८ वर्षीय पुरुषको शव पोखरा–११ स्थित सेती नदी किनारमा व्यवस्थापन गर्ने क्रममा पनि विरोध र झडप भएको थियो ।