मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ११ बिहीबार १६:११:००
Read Time : > 1 मिनेट
समाचार

डोजर र गाडी खरिदमा विवाद हुँदा गाउँसभा अनिश्चित

Read Time : > 1 मिनेट
२०७७ असार ११ बिहीबार १६:११:००

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधान भए पनि रोल्पाका दुई गाउँपालिकाले भने बजेट ल्याउन सकेनन् । बजेट व्यवस्थापनका विषयमा जनप्रतिनिधिबीच कुरा नमिल्दा बजेट वक्तव्य अनिश्चित बनेको हो । जिल्लाको लुंग्री गाउँपालिका र थवाङ गाउँपालिकाले बजेट सार्वजनिक गरेनन् । 

बजेट विनियोजनको काम नसकिएकाले बुधबार बजेट सार्वजनिक गर्न नसकिएको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताए । गत साल पनि समयमा बजेट ल्याउन नसकेको लुंग्री गाउँपालिकाले भने यो वर्ष पनि तयारी नपुगेको जनाएको छ । ‘बजेटको सिलिङ निर्धारणमा केही समय लाग्ने देखियो,’ गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले भने, ‘तयारी नपुगेकै कारण समयमै बजेट सार्वजनिक गर्न सकेनौँ ।’ 

डोजर र गाडीमा विवाद
लुंग्री गाउँपालिकामा नीति तथा कार्यक्रमको पूर्वतयारीका लागि भन्दै गत सोमबार बसेको बैठकसमेत निष्कर्षविहीन बनेको थियो । बुधबार बजेट सार्वजनिक गर्न दिनसम्म पनि विवाद मत्थर हुने सकेन । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले डोजर र गाडी किन्ने अडान नछाडेपछि विवाद बल्झिएको छ । 

संघीय सरकारबाट २४ करोड ९८ लाख बजेट आएको लुंग्री गाउँपालिकामा अध्यक्षले ४० र उपाध्यक्षले ४० लाख आफूअनुकूल खर्चिन चाहेको र वडालाई २५ लाखका दरले मात्र विनियोजन गर्ने प्रस्ताव गरेपछि वडाध्यक्षहरू असन्तुष्ट बनेका थिए । 

वडाध्यक्षहरूले ५० लाख वडामा हुनुपर्ने छलफल चलाएपछि कार्यपालिका बैठकबाट अध्यक्ष उठेर हिँडेको वडाध्यक्ष शिवप्रसाद केसीले बताए । ‘कुनै छलफलै नगरी उहाँले बजेटको सिलिङ कार्यपालिकामा फाल्दिनुभो,’ केसीले भने, ‘हामीले वडामा बजेट किन यति कम भयो भन्दा उहाँ उठेर हिँड्नुभयो ।’ गाउँपालिकाको नेतृत्वले यस्तो गैरजिम्मेवार हिसाबले आफूखुसी बजेट विनियोजन गर्दा वडाका काममा निकै बाधा पर्ने गरेको केसीले गुनासो गरे । अध्यक्ष खड्काले कोरोना कोषका लागि भन्दै  दुई करोड ७० लाखसमेत गाउँपालिकामै राखेका छन् ।

विवाद सुल्झाउनका लागि अध्यक्ष खड्काले कुनै वास्ता नगरेकाले आफूहरू पनि चुपचाप बसेको र गाउँसभा अनिश्चित बनेको वडाध्यक्ष शिवप्रसाद केसीले बताए । त्यस्तै गाउँपालिकाले एउटा डोजर र उपाध्यक्षका लागि गाडी खरिद गर्ने पनि प्रस्ताव गरिएको ४ नं. का वडाध्यक्ष शिवप्रसाद केसीले बताए । जसका लागि करिब एक करोडको प्रस्ताव गरिएको थियो । त्यसो त गाउँपालिकामा अहिले पनि तीनवटा गाडी सञ्चालनमा छन् ।

गाउँपालिकाले खरिद गरेको एउटा गाडीमा अध्यक्ष दुर्गाबहादुर खड्का चढ्छन् । अनुगमनका लागि भन्दै भाडामा ल्याइएका दुई गाडीमध्येमा एउटामा उपाध्यक्ष भीमकला बुढाथोकी र अर्कोमा एक इन्जिनियर चढ्छन् । स्थानीय तह बनेदेखि नै आर्थिक विवादमा फस्दै आएको लुंग्री गाउँपालिकाले दोस्रोपटक पनि विवादकै कारण बजेट ल्याउन असफल बनेको छ ।

कार्यालयको घडेरीमा स्थानीयको शंका
गाउँपालिकाले कार्यालय भवन निर्माणका लागि खरिद गरेको घडेरीमा पनि स्थानीयले शंका व्यक्त गरेका छन् । गाउँपालिकाले किलाचौरमा खरिद गरेको १० रोपनी जग्गामध्ये तीन रोपनी गाउँपालिकाको र सात रोपनी जग्गा अध्यक्ष दुर्गाबहादुर खड्काको नाममा रहेको बुझिएको छ । सात रोपनी जग्गाको लालपुर्जा नै नभएकाले जग्गा साटफेर गर्नका लागि तत्काललाई अध्यक्षको नाममा राखिएको वडाध्यक्ष शिवप्रसाद केसीले बताए । सबैको सहमतिमै खड्काको नाममा गरिएको र छिट्टै गाउँपालिकाको नाममा पास गरिने केसीले बताए ।