१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार ११ बिहीबार १३:४७:००
Read Time : > 1 मिनेट
समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पियोबीच टेलिफोन वार्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार ११ बिहीबार १३:४७:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच बुधबार टेलिफोन वार्ता भएको छ । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना स्वीकार गर्ने/नगर्ने विषयमा सत्तारुढ नेकपाभित्र बहस भइरहेका वेला भएको टेलिफोन वार्ता अर्थपूर्ण मानिएको छ । 

बुधबारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकको एजेन्डामा एमसिसी पनि छ । परराष्ट्रमन्त्री ज्ञवाली स्थायी कमिटी सदस्य तथा एमसिसीबारे अध्ययन गर्न नेकपाले गठन गरेको कार्यदलका सदस्य पनि हुन् । उनले ५० करोड अमेरिकी डलरको एमसिसी परियोजना संसद्बाट पारित गराएर कार्यान्वयनमा जानुपर्ने अडान राख्दै आएका छन् । वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा भीम रावल र ज्ञवाली सदस्य रहेको कार्यदलले एमसिसीका प्रावधान संविधान तथा राष्ट्रिय हितअनुकूल नभएको भन्दै परिमार्जन नभएसम्म पारित नगर्न सुझाब दिएको थियो । त्यसमा ज्ञवालीको फरक मत छ ।

दुई मन्त्रीबीचको टेलिफोन वार्तामा एमसिसीलगायतका विकास परियोजनाबारे छलफल भएको संकेत परराष्ट्र मन्त्रालयले गरेको छ । तर, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा एमसिसी भने उल्लेख छैन । ‘दुई पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयत्नहरूको पूरक हुने गरी दुई देशबीच आर्थिक–सामाजिक विकास साझेदारीको महत्वबारे छलफल गरेका छन् । मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीसँग सम्बन्धित तथा अन्य परियोजनाहरूमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाले उपलब्ध गराएको सहयोगको प्रशंसा गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ । 

दुवै विदेशमन्त्रीले महामारीका क्रममा भएको क्षतिप्रति सहानुभूति र समवेदना प्रकट गर्दै दुई देशले एक–अर्काका नागरिकलाई पुर्‍याएको सहयोगको सराहना गरेका छन् । अमेरिकी विदेशमन्त्री पोम्पियोले नेपाललाई अमेरिकी सहयोग निरन्तर रहने बताएका थिए । ‘दुवै पक्षले कोभिड–१९ पछिको अवस्थामा आर्थिक साझेदारी र सहकार्य बढ्ने विश्वास लिएका छन्,’ विज्ञप्तिमा भनिएको छ । 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गान ओर्टागुसले बुधबार नै जारी गरेको विज्ञप्तिमा कोभिड–१९ को महामारीमा अमेरिकाले नेपाललाई ७३ लाख अमेरिकी डलरबराबरको सहयोग गरेकोलगायतका विषयमा दुई विदेशमन्त्रीबीच छलफल भएको उल्लेख छ । ‘समसामयिक विषयहरूका सन्दर्भमा दुवै नेताले सम्पर्कमा रहने वचनबद्धता जनाएका छन्,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकाले दुई दशकयता स्वास्थ्य कार्यक्रम सहायताअन्तर्गत नेपाललाई करिब ६० करोड अमेरिकी डलरबराबरको सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि ३ पुस ०७५ मा अमेरिका भ्रमणका क्रममा समकक्षी पोम्पियोसँग द्विपक्षीय वार्ता गरेका थिए । त्यसवेला पनि एमसिसीबारे चर्चा भएको थियो । अमेरिकी विदेश मन्त्रालयले त्यतिवेला एमसिसी, उत्तर कोरिया, इन्डो–प्यासिफिक रणनीतिलगायतका विषयमा छलफल भएको सार्वजनिक गरेको थियो । ज्ञवालीले त्यतिखेर नेपाललाई एमसिसीअन्तर्गतको अनुदान दिने निर्णय गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए ।