मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ११ बिहीबार १३:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कोभिड–१९ महामारीमा पनि जलविद्युतको काम रोकिएको छैन : मन्त्री पुन 

Read Time : > 1 मिनेट
२०७७ असार ११ बिहीबार १३:५०:००

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोभिड–१९ महामारीका बीचमा समेत नेपालले ऊर्जा क्षेत्रका कामलाई निरन्तरता दिइरहेको बताएका छन् ।  विश्व बैंकद्वारा आयोजित ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री पुनले कोभिड–१९ का कारण चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत निर्माणाधीन आयोजनाको विद्युत् उत्पादनमा केही ढिलाइ भए पनि काम पूर्ण रूपमा नरोकिएको बताए ।  

 मन्त्री पुनले आगामी आर्थिक वर्षमा एक हजार पाँच सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने उल्लेख गरे । यस्तै सरकारले आगामी २०२८ सालसम्ममा नेपालको कुल विद्युत्जडित क्षमता १५ हजार मेगावाट पुऱ्याउने लक्ष्य निर्धारण गरिएको स्पष्ट  पारे । ‘कोभिड–१९ को विश्वव्यापी महामारीको असरबाट नेपाल पनि मुक्त छैन,’ उनले भने  ‘महामारीकै बीचमा पनि हामीले मुख्य आर्थिक गतिविधि र जलविद्युत् आयोजनाका काम सुचारु गरेका छौँ ।’ 

मन्त्री पुनले नेपालले ‘रन अफ दि रिभर’, जलाशययुक्त आयोजना वा सौर्य ऊर्जा प्रवर्द्धनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो गरेर  अगाडि बढ्न जरुरी रहेको बताए । 
 
उनले  जलविद्युतमा लगानीका लागि निजी क्षेत्रमैत्री कानुनी व्यवस्था गरिएको जानकारीसमेत दिए । जलविद्युतमा लगानी आकर्षित गर्नकै लागि १० वर्षसम्म आयकरमा पूर्ण छुट, अर्को १० वर्ष ५० प्रतिशत छुट तथा भ्याटमा सहुलियतको नीति अख्तियार गरिएको जानकारी दिए । 

आन्तरिक मात्र नभई बाह्य लगानीकर्ताका लागि समेत नेपालको जलविद्युत् क्षेत्रमा आकर्षित गर्न कानुनी व्यवस्थामै सरलीकरण गरिएको चर्चा गर्दै मन्त्री पुनले अन्तर्राष्ट्रिय लगानीकर्ताले एकल वा संयुक्त लगानीको मोडलमा विद्युत् आयोजना निर्माण गर्न सक्ने स्पष्ट पारे ।

‘हामीले जलविद्युतमा अन्तर्राष्ट्रिय लगानीलाई स्वागत गर्न सजिलो र व्यावहारिक नीति लिएका छौँ,’ उनले भने, ‘विदेशी कम्पनीले एकल वा संयुक्त रूपमा लगानी गर्न सक्नेछन् ।’ नेपालले आफ्ना नीतिहरूमार्फत दिगो र नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको भन्दै उनले ऊर्जा विकासका लागि जलविद्युत् नै उत्तम विकल्प भएको विचार व्यक्त गरे ।  कोइला वा डिजेलबाट विद्युत् उत्पादन गर्दा वातावरणीय प्रदूषण निम्तिने भएकाले स्वच्छ ऊर्जाका लागि जलविद्युत् एक मात्र विकल्प रहेको उनको  भनाइ थियो  ।