१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार ११ बिहीबार १३:०३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

भक्तपुरको बजेट एक अर्ब ८२ करोड, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

Read Time : > 2 मिनेट
२०७७ असार ११ बिहीबार १३:०३:००

भक्तपुर नगरपालिकाले आगामी आवका लागि एक अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको छ । 

सातौँ नगर सभामा उपप्रमुख रजनी जोशीले ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूलाई प्राथमिकतामा राखेर एक अर्ब ८२ करोड ४० लाखबराबरको बजेट सार्वजनिक गरिन् । 

जसमध्ये चालू खर्चतर्फ ३९ करोड ८९ लाख र पुँजीगततर्फ ७९ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

यो चालू आर्थिक वर्षको भन्दा ३० करोड ७० लाखले याे बजेट कमी हो । 

चालू आवका लागि नगरपालिकाले दुई अर्ब १३ करोड १० लाख रुपैयाँ विनियोजन गरेको थियो । 

नगरपालिकाले यस वर्ष पनि विगतमा झैँ शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

कोभिड– १९ रोगको महामारीको विषम परिस्थितिका कारण यो वर्ष ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूभन्दा एकैवर्षमा सम्पन्न हुने तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने प्रकृतिका योजनाहरूमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको उपप्रमुख जोशीले बताइन् । 

बजेटले जनप्रतिनिधिहरूले नगरपालिकाको खर्चमा विदेश भ्रमण गर्न नपाउने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिको बैठक भत्ता आधा–आधा घटाएको छ ।

नगरपालिकामा कार्यरत कर्मचारीलाई चालू आवसम्म दिइँदै आएको खाजा भत्ता र पोसाक भत्तासमेत कटौती गरिएको छ । 

कोरोना भाइरसका कारण परेको वर्तमान अवस्थालाई मध्यनजर गरी करको दर पुनरावलोकन गर्ने, सहुलियत र छुट दिने बजेटमा भनिएको छ । 

नगरपालिकाले शिक्षा तथा संस्कृति क्षेत्रमा ३८ करोड १२ लाख ३० हजार, खानेपानीका लागि एक करोड ५४ लाख, स्वास्थ्य क्षेत्रमा १४ करोड दुई लाख, सम्पदा संरक्षण तथा विकासमा ४२ करोड २३ लाख, फोहाेरमैला व्यवस्थापन तथा वातावरण सुधारका लागि ११ करोड ८५ लाख विनियोजन गरेको छ । 

त्यसैगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २४ करोड ७६ लाख, युवा तथा खेलकुदको क्षेत्रमा तीन करोड ३६ लाख, कृषि क्षेत्रमा ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

नगरपालिकाले प्रकोप व्यवस्थापनका लागि ५० लाख, सामाजिक सुरक्षा भत्तामा २३ करोड र समितिअन्तर्गत आठ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ । 

नगरपालिकाले पुँजीगततर्फ ७९ करोड ७३ लाख विनियोजन गरेकामध्ये जग्गा एकीकरण आयोजनाका लागि २५ करोड, क्रमागत विकास योजनाका लागि १५ करोड २५ लाख, ख्वपः अस्पताल लागि १० करोड २० लाख, सम्पदा पुनर्निर्माणका लागि पाँच करोड पाँच रुपैयाँ विनियोजन गरेको छ । 

शैक्षिण ऋण कार्यक्रमका लागि तीन करोड
नगरपालिकाले भक्तपुरको कला संस्कृति, इतिहासलगायतका विषयमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिपसँगै अध्ययन अनुसन्धानका लागि अनुदान र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपाल भाषा, संस्कृति पढ्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ । 

नगरपालिकाले गत वर्षदेखि वितरण गर्न थालेको शैक्षिक ऋणका लागि बजेट वृद्धि गरेर तीन करोड रुपैयाँ पुऱ्याएको छ । 

नगरपालिकाले कार्यविधि बनाएर नगर क्षेत्रबाट चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रलगायतका विषयहरूमा नेपालभर विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययनरत विद्यार्थीका लागि शैक्षिक ऋण दिन थालेको थियो । 

नगरपालिकाले विगत वर्षदेखि नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा र काठमा लाग्ने खर्च र झिँगटी छाना निर्माणमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत अनुदान दिने कार्यलाई निरन्तरता दिएको छ । 

बन्दाबन्दीले चालू वर्षको आम्दानी र खर्च प्रभावित
महामारीका कारण नगरपालिकाको आन्तरिक र बाह्य दुवै आम्दानी कमजोर भएपछि आगामी वर्षको बजेटसमेत प्रभावित भएको उपप्रमुख जोशीले बताइन् । 

नगरपालिकाले जेठ मसान्तसम्ममा बाह्य स्राेतबाट ८२ करोड ३४ लाख ४९ हजार आम्दानी गरेको छ । 

सो अवधिमा नगरपालिकाले आन्तरिक स्राेतबाट २६ करोड २८ लाख ५५ हजार रुपैयाँ मात्रै गरेको छ । नगरपालिकाले ४२ करोड अनुमान गरेको थियो । 

पर्यटन शुल्कबाट मात्रै ३० करोड आम्दानी हुने लक्ष्य लिएको नगरपालिकाले १७ करोड २४ लाख मात्रै आम्दानी गरेको छ । नगरपालिकाले जेठ मसान्तसम्म पुँजीगततर्फ ७० करोड ९३ लाख खर्च गरेको छ । 

सम्पदा पुनर्निर्माणतर्फ नाै करोड ९४ लाख ३२ हजार विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा १२ वटा आयोजनाहरू सम्पन्न भई एक करोड १८ लाख रुपैयाँ खर्च भएको छ । २० वटा योजना हाल सञ्चालनमा रहेका छन् । 

चालू आवको असार मसान्तसम्ममा सम्पदा पुनर्निर्माणमा तीन करोड ७४ लाख खर्च हुने संशोधित अनुमान गरेको छ । 

नगरस्तरीय विकास निर्माणका योजनाहरूमा दुई करोड ४९ लाख ४४ हजार खर्च भएको छ । 

वडास्तरीय योजनाको लागि दशवटै वडामा ५० लाखको दरले ५ करोड रुपैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्ममा सबै वडामा अधिकांश वडास्तरीय योजनाहरू सम्पन्न भई चार करोड ९२ लाख रुपैयाँ खर्च गरेका छन् ।